~शिव प्रकाश~
खोज्नै पर्दैन दाउरा
काफी छौ तिमी आफैं
बल्नु हो, मूढाको धर्म
सल्काऊ आगो
बनाऊ खरानी मलाई
फेरी पनि म उठ्ने छु ।
देख्ने छौ, तिमीले दुनियाँका त्यही निधारमा
आगोले पनि आजसम्म निल्न सकेको छैन, बिगुत !
मूढता ! मूढाको दृष्टि–चेतनामा
धरतीको एउटा डल्लो हुँ म
चाहिँदैनन् तिम्रो समाजका
रोगी सिमलका आँख्ले गिँडहरु
काफी छौ तिमी एक्लै
बनाऊ धूलोपीठो मलाई
फेरी पनि म उठ्ने छु ।
धूलोमात्र हुने छैन, त्यो धूलो
धरतीको उर्वर ‘धूलोमाटो’ हुनेछ, त्यो धूलो
फुल्ने छन् कयौं सिर्जना त्यही धूलोमा !
त्यो धूलो,
फेरी पनि कसिंगार हुनेछ तिम्रा आखाँमा
न मर्छ, न फेरी धूलो हुन्छ, त्यो धूलो
कति सक्छौ,
लगाऊ झाडू, उडाऊ धूलो
फेरी पनि म उठ्ने छु ।
त्यतिबेला, आफ्नै आँखा फुटाल्नु पर्नेछ
त्यो कसिंगार निकाल्न !
सुकाऊ पानी सम्झेर
बसाऊ सिनो उमाल्ने भाँडो
बटुल्नै पर्दैन वरिपरीका तितेपातीका कक्रिएका पात
पलाँसका ‘पोचा’ चिर्पट
पिरो धूवाँ ओकल्ने काँचा गन्धे गुइँठा
काफी छौं तिमी आफैं
जीवनभर झोस्ने काम ग¥यौं
झोस्, फेरी हुर्हुर्ती दन्काऊ आफैंलाई
तिम्रो तापले म वाफ बनेर हराउँला
फेरी पनि म उठ्ने छु ।
बर्षिने छु, घनघोर बर्षा बनेर
त्यसपछि सल्किने छैन समाजमा आगो
जति झोस, पानीमा आगो सल्किदैन
अब तिमी निभ्नेछौ, सदाका लागि !
फेरी पनि म उठ्ने छु
फेरी पनि म उठ्ने छु
फेरी पनि म उठ्ने छु ।
जलाउन खोजिएका
उडाउन खोजिएका
मेटाउन खोजिएका माया एञ्जोलोहरु जस्तै
फेरी पनि म उठ्ने छु ।