~कृष्णचन्द्रसिंह प्रधान~
कहिलेकाहीं त जिन्दगी बुढेसकालको समयजस्तै गहु्रङ्गो लाग्छ । मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो, अनिद्राका रित्ता आँखाजस्तो, न देखेर रमाउन सक्छु र बिम्झेर ।
समाप्तिपछि अर्थहीन लाग्ने परिभाषाले हामी नापिन्छौँ र तौलिन्छौँ । समय बाँचेर हामी बाँचिदिएका हौँ, हामीमा बाँचेर समय बाँच्दो रहेनछ । इतिहास भइसक्छौँ, हामी त । समय जहिले हेर जवान, कहिल्यै बूढो हुँदैन । सिमानाजस्तो उल्लङ्घन गर्न सक्तैनौँ । एउटा विचारजस्तो पनि, अध्यात्मवादीहरूको उन्मुक्तिजस्तो पनि । भौतिक सम्पदासित जोडेर अथ्र्याउँछौँ र जिन्दगीको खोजीमा लाग्छौँ ।
हामी कति शून्य ओगटेर सांसारिक हुनखोज्दा रहेछौँ । खै, कहाँ छ हाम्रो अन्तरिक्ष ? बाँच्नलाई घाम, पानी, हावा चाहिन्छ । पृथ्वी, आकाश, देश, समाज, अन्न, सरकार, दण्ड, कानुन, जेल, सेना सबैको गुरुत्वाकर्षणभित्र निर्भर गर्नुपर्ने परिमितता हाम्रो छ । आवश्यकताको पनि रिक्ततामा हामी बाँचेका छौँ । हावा चाहिन्छ भन्दैमा सास फेर्नकै लागि कहाँ बाँचेका हौँ र ?
हो, जिन्दगी यहीं कतै छ, यसकै निम्ति मानिसहरू जोखिम उठाउँछन्- जो देशभित्र बसेर लडिरहेका छन्, तिनीहरू पनि, जो देश छाडेर विदेशिएका छन्, उनीहरू पनि । इच्छाहरू मनमा साँचेर जीउज्यान अर्पी ल्याएको परिवर्तनले नयाँ इतिहास रच्न कति विकल छौँ । आँखाभरि सप्तरङ्गी सपना बुनेर भोलिको उज्यालोले घर-दैलो पोत्न कति आतुर छौँ, दिन भनेनौँ, रात भनेनौँ । कतार, कुवेतमा मजदुरी गर्नेहरू मरुभूमिको प्रचण्ड ताप पनि शीतल लागिदिन्छ हिउँजस्तो । लात्ती-मुक्का खाएर इज्जत जोगाउन नसक्ता पनि खुसी छौँ, करियाहरूजस्तो । केमात्रै गरेनौँ ? बलात्कृत भएर सस्तो मोलमा जिन्दगी बेचेनौँ कि ? गैरकानुनी धन्दामा लागेर अपराध गरेनौँ ? भ्रष्टाचार गरेर आफैंलाई दाउमा थापेनौँ कि ? जङ्गलमा अजिङ्गर समात्नुदेखि मरुभूमिमा ऊँट जोतेर गधासित मितेरी लगाएनौँ ? भोलिको दिनको नश्ल सुधार्न हामीले सबथोक गर्यौँ । त्यहाँ पनि हाम्रो जिन्दगी रहेछ !
यो पीडा इतिहासले कहिल्यै भोग्नुपरेन । राज्य भने रेमिटयान्सको जगमा भविष्य निर्माण गर्न जुटेको छ, हामी ज्यान दिन तैयार ! यसलाई बदल्नैपर्छ । हो, बदल्नुपर्छ ।
सुनामीझैं जुलुस भएर सडकमा ओल्र्यौं, सङ्कटकालको अवज्ञा गर्दै ज्यान दियौँ, टायर बाल्यौँ । जङ्गल पस्यौँ र बन्दुक उचाल्यौँ । गाउँ पस्यौँ र हुनेखानेहरूको उठिबास गर्यौँ । प्रजातन्त्रमा पनि खोज्यौँ यसलाई, गणतन्त्र ल्याएर पनि खोज्यौँ । राजा मानेर खोज्यौँ, राजा हटाएर खोज्यौँ, तर जिन्दगी कतै फेला पर्दैन । असुरक्षित छौँ हामी । देशभरि लोडसेडिङ छ, अमावस्याको रात लाग्ने रातको चर्को अँध्यारोमा आफैंलाई मात्र देख्दारहेछौँ । पुष्पकमल दाहाललाई लाग्छ, हाम्रो जिन्दगी त गिरिजाप्रसाद कोइरालासँग छ । गिरिजा भन्छन्, राजाबाट खोसेर मैले प्रचण्डको जिम्मा लाइसकेँ । अँध्यारो अनुहारका हामी माधव नेपालतिर र्फकन्छौँ । सायद हाम्रो जिन्दगी यिनीहरूसँगै छ, भन्ठानेर होला । उनीहरू भने खोसेको जिन्दगी आपसमा बाँडचुँड गरेर लोकतन्त्र हो कि गणतन्त्रको पहरा गर्दैछन् । अनि कहिले मिल्छन्, कहिले फुट्छन्, फेरि जुट्छन् । निराश हामी जिन्दगी खोज्दै विदेशिन्छौँ, घाम खोज्दै हिँडेका जाडो यामका बूढाबूढीहरूजस्तो अमेरिका, बेलायत, क्यानाडा, खाडी मुलुक, अब त संसारभरि ।
खोजेको जिन्दगी पाए कि पाएनन्, थाहा छैन, सपना पूरा भो कि भएन, जान्दिन । खुसी छन् कि छैनन्, यो पनि भन्न सक्तिन । तर थाहा छ, खोजेको जिन्दगी आफ्नो देशमा छैन । सहर, गाउँ-बेँसी, पहाड र कोशी-कणर्ालीमा छैन । परिवर्तन र नयाँ नेपालमा छैन । मधेसको माटोमा पनि छैन, उपत्यकाको मन्दिरमा पनि छैन । बरु यहाँ भगवान भेटिएलान्, तर जिन्दगी फेला पर्दैन ।
हामी मात्रै सपना देख्छौँ । देख्ने गरेको सपनामा पनि जिन्दगी छैन । विना जिन्दगीको सपना बोकी बसेको देश, मानौं रित्तो जीवनका हामी मान्छे जिन्दगीको खोजीमा केवल यात्रारत छौँ । मलेसियाको कारखानामा जिन्दगीको उब्जनी हुँदोरहेछ, देखेर लोभिन्छौँ र पसिना बगाउन पुग्छौँ । कतारको तरकारीबारीमा जिन्दगी फुल्दोरहेछ, त्यहाँ माटो गोड्न थाल्छौँ । भेँडीगोठ र ऊँट-गधाको गोठालो भई बालुवामा गुजार्ने रातभित्र पनि जिन्दगी रहेछ । कति अचम्म ! अमेरिकाको सबवेमा स्यान्डविच बनाएर जिन्दगीको परिदर्शन गर्छौं र धन्य हुन्छौँ । रेस्टुरेन्ट र गाउने गीतमा, स्टोर, कफीसप र ग्यास स्टेसनमा कहाँ छैन जिन्दगी ? सडक, पार्क र पसल जताततै जिन्दगी नै जिन्दगी । जिन्दगीको बजार लाग्ने सहर, बेचिन्छ र किनिन्छ । फोहोर मिल्काउने रछानमा पनि जिन्दगी छ, मुर्दा गाड्ने चिहानमा पनि जिन्दगी, दुकानदारी र सैनिक क्याम्प, फुटपाथ पसल, स्वास्थ्यसेवा, शिक्षणकार्य कहाँ छैन जिन्दगी ? स्वच्छ हावा खोज्दै शिवपुरी र फर्पिङ हिँडेजस्तो छ, जिन्दगीको खोजीमा हाम्रो अमेरिका, बेलायतको बसाइँ सराइ । रोजगारी खोज्दै खाडी मुलुक गएजस्तो पनि । यसरी बाँचेर जीवनबाट वञ्चित हुने हामी मानिसहरू । यो पीडा रुसोले बुझेछन् । उनले भने- “हामीसँग गरिएको एउटा उपहास हो, जिन्दगी ।”
कति ठूलो षडयन्त्र भएको रहेछ हामीसित, कि जीवन नै उपहासमा परिणत हुन्छ, मानिसहरू अर्थहीन । भविष्य झन् डरलाग्दो, स्पेंगलरले देखेको भन्दा पनि !
अनि प्रश्नहरू मनै छुनेगरी तरङ्गति हुन्छन् । के अमेरिका जानेहरूले खोजेजस्तो जिन्दगी भेट्टाएछन् ? उत्खननमा लागेको जिन्दगी फेला पर्यो ? परिभाषा नै बदलिसकेको सन्दर्भमा जिन्दगी कहाँ त्यति सस्तो र सरल छ ? जोडेर हिसाब लगाउँछौँ, डलर वा पौन्ड, युरोसँग दाँज्छौँ र मूल्याङ्कन गरिरहेका छौँ । भौतिक सम्पदा ठानेर अथ्र्याउँछौँ र मूल्य तोक्छौँ । मानौं जिन्दगी आधुनिक सुविधासम्पन्न कुनै बङ्गलाघर हो, अथवा मर्सिडिज बेञ्जकार वा दुई-चार पुस्तालाई पुग्ने बैंक ब्यालेन्स हो । यही जोर्न बेलायत, अमेरिका जान्छौँ, अनि दुई-चार भारी जिन्दगी बोकेर र्फकने आशाले भित्रभित्रै प्रफुल्लित हुन्छौँ । कोही त नागरिक भई दोस्रो दर्जाको अमेरिकन वा अंग्रेज भइदिन्छौँ ।
कुनै दिन संसार एउटा राष्ट्रमा परिणत हुनेछ, अनि हामी हुनेछौँ, विश्व-मानव । मुक्ति खोज्नेहरूको प्रस्थान हो कि आप्रवासीहरूको यो भीड र हाम्रो देशान्तरित यात्रा ? बेलायतका आप्रवासी नेपालीहरूलाई देख्छु, घडीको सुईझैं सुनिश्चित विन्दुको परिक्रमामा लागेर संसारै जित्ने ताकमा छन् । महादेवको फन्को मारेर विश्व परिक्रमा गर्ने गणेशलाई सम्झन्छु ।
व्यस्तताको जीवन आफैंमा एउटा उपलब्धि हो । १८ घन्टासम्म रित्याएर आफूलाई सुम्पन्छौँ । अनि आफूले देखेको दिव्य सपनामा एकछिन भुल्छौँ, दिनभरिको थकाइ र पीडा बिर्सन्छौँ । जीवनको यो सामान्य दैनिकी हो, एउटा प्रक्रिया । विकल्पमा बेठेगान अनियमितता छन्, रातको याम, बेग्लाबेग्लै डयुटी, बेला-कुबेलाको आऊ-जाऊ । यही दिनचर्या रहेको जिन्दगीको म कुरा गर्दैछु । यही सपना बोक्नेहरूको म बेलीबिस्तार गर्दैछु । कहिले बिहान हुन्छ, थाहा छैन, कहिले रात पर्छ, होश छैन । पारिवारिकताको सुखानुभूति गर्ने समय छैन । व्यस्तताको विम्बभित्र असीम चाहनाको भौतिक संसार छ, यो सँगै गाँसिएको मनोरम कल्पना, महत्त्वाकाङ्क्षाहरू, सुन्दर भविष्य छन् । बाँच्नलाई चाहिने न्यूनतम सर्त हावाजस्तो, तर सास फेर्नैका लागि बाँचेका होइनौँ । जीवन र सास फेर्नुलाई एउटै ठानेछौँ । बाँच्नुको अर्थ नमर्नु होइन भनेर पनि बुझेनछौँ । त्यसैले पौन्ड र डलरले जोखेर मूल्याङ्कन गर्ने परिभाषामा हामी समेटिएछौँ । कति अवमूल्यन भएछ, जिन्दगीको ? ओह !
हरेक नागरिकले बाँच्न पाउनुपर्ने जिन्दगीबाट वञ्चित भई आप्रवासी हुनुलाई राज्य सम्हाल्नेहरूको विफलताले सिर्जना गरेको दुर्घटना भन्छु । अनि विदेश पलायन यसमाथि गरिएको व्यङ्गय हो ।
कहिले साक्षात्कार गर्ने हो जिन्दगीसित, खै ? एउटा बाध्यता विरुद्ध अर्को बाध्यता टिपेर मुक्ति खोज्ने हामी त्यहींको जीवनमा रूपान्तरित भइदिन्छौँ । अनि जिन्दगीको अर्थ खोज्छौँ र मनभरि गाउँघर, आँखाभरि पाखा-पखेरो, छातीमा हिमशृङ्खला उभ्याउँछौँ र देश दुखेको पीडाले रुन्छौँ । लाग्छ, विचलन भरिएको यसै मार्गका यात्रु भई जिन्दगी खोज्दैछौँ । देशले नापेर हामी नापिएनौँ । अरू मुलुकको उचाइले पनि दाँजिदैनौँ । मात्रै बसाइँ सरिरहेछौँ, जिन्दगी खोज्दै मुलुक-मुलुक । यो अनिश्चितताको यात्रा, यो बाध्यताको बहिर्गमन, यो अध्ययनार्थ विदेश पलायनलाई म जिन्दगी खोज्दै हिँड्नेहरूको अभियान भन्छु । त्यहाँभित्र अभिलाषाका अनेक टापुहरू छन्, गन्तव्यहरू छन् ।
मलाई त जिन्दगी आफैंमा स्वादिलो लाग्छ । उपयोग गर्न जानेनौँ भने जे पनि बेस्वादिलो लाग्दोरहेछ, त्यसैले स्वाद लिएर निलौँ । दुःखको पनि आफ्नो स्वाद छ । मैले देश बदल्दैमा मेरो देश बदलिने होइन । यसैले म अर्थहीन जिन्दगीलाई परिभाषित गर्न नयाँ अर्थ खोज्दैछु,
तिमीहरू पनि त्यसकै खोजीमा छौ । अहिले त न तिमीले त्यो जिन्दगी पायौ, न मैले । लाग्छ, हाम्रो अनुत्तरित प्रश्न नै उत्तर भएर यसले हामीलाई जिन्दगीको नजिक पुर्याउनेछ ।
(स्रोत : कान्तिपुर)