~रजिन पनेरु~
उसको मन बहुलायो
तन बहुलायो
टेकेर वैशाखी चोकमा आयो
दाम्रिएर पेट, भोकमा आयो
आफन्त मरेको शोकमा आयो
असह्य पीडा
सडक पेटिबाट जुरुक्क उठेर …..
“ म युद्धको घाइते
खुट्टा छैन, हात छैन
स्वाँ—स्वाँ, धरमर—धरमर बोल्न थाल्यो
यथार्थ छादेर शब्दहरुमा घोल्न थाल्यो
चोइटिएर मन
टुक्रा—टुक्रा खोल्न थाल्यो
घरी भुक्ने कुत्ता न हो,
घरी लुक्ने बिल्ली न हो
ओ ! काठमाडौँ तँ साह्रो सिल्ली न हो ।
(१)
ए ! हजुर छोरो म¥यो
म घाइते भएँ
आमा बेहोशमै मरिन्
घर छैन बस्ने
डल्ली पोइल गई
सारङ्गी रेट्ने हात छैन
हथौडो समाउने आँट छैन
दाजु बेपत्ता भए
न सास दिन्छ न लाश दिन्छ
न गाँस दिन्छ न बास दिन्छ
ऊ पक्का बहुलायो — सधैँ त्रास लिन्छ
सडकमा चिच्याउने काम गर्छ
एकै छिन गाडी जाम गर्छ, भन्छ …
मेची दुख्यो …काली दुख्यो
ए ! हजुर मेरो बाली दुख्यो
सबै मन—मुटु चाली—चाली दुख्यो
म मार्छु पुक्लुक्कै पार्छु तँलाई काठमाडौँ
यहि वैशाखीले घोची—घोची
वालुवा चालेझैँ चाली—चाली
मार्छु—मार्छु
तँलाई पख् !
हा …. हा …. हा ….
म मरेँ, मेरा सबै मरे
मेरो देश ! म जिउँदो लाश
एक मुठ्ठी सास रहेसम्म
तिमीलाई मर्न दिन्न
कसैको गिद्धे नजर पर्न दिन्न
थ्याच्च बसेर ……
ओ ! बुद्धु
तँ बुद्ध नबेच्
मेची नबेच्
काली नबेच्
परम्परामाझैं सम्झौतामा देश नबेच्
सुन्दर हाम्रो परिवेश नबेच्
सगरमाथा नबेच्
वीरताको गाथा नबेच्
शहिदको खुन नबेच्
योद्धाको गुन नबेच्
मातृत्वको भार नबेच्
सारङ्गीको तार नबेच्
जो चाहन्नौँ त्यो नहोस्
तँ वासिङ्टन न हो, इराक न हो
चाइना न हो, दिल्ली न हो
ओ ! काठमाडौँ तँ यसरी सिल्ली न हो । । (२)
उसको पसिनाको मोल छैन
शरीर ढाक्ने खोल छैन
पट्पट् फुटेको ठुटे हात बोकेर
तुषारो झरेको रात बोकेर
दधिची हड्डी
सुदामाको पेट बोकेर
कराउँदै भन्छ — कनिका दे ..कनिका
एक मुठ्ठी सातु ….
रोजगार दे !
बाँच्न दे !
हथौडा दे, घन दे !
हरियाली बन दे !
एउटा टुक्रा जमिन दे !
अलिकति रिन दे !
म पाउरोटि टोक्छु
अलिकति पानी दे … ओ ! काठमाडौं
पानी दे ! पानी …….पानी ….
भैगो म तेरो ढाड भएँ,
तँ कसैको झिल्ली न हो
ओ ! काठमाडौँ म साह्रै थाकिसकेँ
तँ यसरी सिल्ली न हो । । । ३
(स्रोत : रचनाकारको ब्लगबाट सभार)