~सङ्कलन : शेरबहादुर गुरुङ~
संसारका प्राणीहरूलाई दुःखबाट मुक्त गराई सुख र शान्ति उपलब्ध गराउने अभिप्रायबाट प्रेरित भई रात दिन तल्लीन प्राणीहरूलाई तार्ने काममा लागि राखेका भगवान् लोकेश्वरीले पृथ्वीमा नजर लगाउनु हुँदा असङ्ख्य प्राणी दुःखमा परी छटपटाइ रहेका थिए । त्यो करुणामय भावबाट विभोर भएर दुई थोपा आँसु आँखाबाट छचल्किएछ । गहभरी छचल्किएका ती आँसुका थोपा भुईमा खस्न नदिई हातमा लिएर तिमीहरूले पृथ्वीमा अवतार लिएर संसारका सबै प्राणीहरूलाई दुःखबाट मुक्त गर्ने मेरो काम मलाई सहयोग गर भन्ने आशिर्वाद दिएछन् । ती दुई थोपा आँसुले स्वर्गको राजकुमारी भएर जन्म लिएछन् । जेठी राजकुमारीको नाम गङकङमा र कान्छी राजकुमारीको नाम गङकुङ नाम राखिदिएछन् । केही उमेर पुगेपछि दुवैजना राजकुमारीहरू बगैंचामा घुम्न गएछन् । अन्जानबाट एकजना राजकुमारीले बगैंचाको फूल टिपिछन् । स्वर्गको नियमअनुसार बगैंचाको फूल टिपी नियम विपरीत काम गरिछन् । राजकुमारीले स्वर्गको बगैंचाको फूल टिपेको दोषको फल भोग्न मत्र्यलोकमा जन्मनु र दुःख पाउनु भन्ने श्राप पाएछन् ।
श्राप पाएकी राजकुमारीले काठमाडौँ हालको बौद्धनाथको चैत्य र पशुपतिनाथको मन्दिर नजिकै आसपासमा जन्म लिइछन् । तिनको शरीर र मन ज्यादै कोमल भएको हुँदा ज्याजिमा भन्ने नाउँ राखिएछ । (अजिमा भनेको उनै ज्याजिमा हुन् कि ? ) ज्याजिमाले कुकुर व्यापारबाट एउटा छोरा, घोडा व्यापारीबाट एउटा छोरा, कुखुरा व्यापारीबाट एउटा छोरा र सुँगुर व्यापारीबाट एउटा छोरा गरी चार भाइ छोरा जन्माइछन् र यस चोलामा तिनले सारै दुःख पाइछन् । अघि लोकेश्वरको “मैले गरेको धर्मको पालन र प्रचार गरी मलाई सहयोग गर्नु” भन्ने आशीर्वादले ज्याजिमालाई, अघिल्लो जन्म स्वर्गको राजकुमारी भएका कुरा स्मरण भएछ । हाल भोग्न परिराखेको दुःख र कष्टलाई सहन नसकेर सार्है दुःखित हुँदै उनले कसरी मुक्ति होला भनी अति चिन्तित भई रातदिन बुद्ध भगवान्को नाम जप्दा एक रात सपनामा भगवान्ले भन्नु भएछ ‘तिमीले एउटा ठूलो मन्दिर नबनाएसम्म मुक्ति पाउँदिनौ । त्यसकारण मन्दिर बनाउने काममा लाग उक्त आदेश भगवान् बुद्धबाट भएछ । त्यस पश्चात् ज्याजिमाले आफ्नो खाने, लाउने खर्चबाट समेत बचत गरी अलि, अलि धन जम्मा गर्न थालिन । केही रकम जम्मा भएपछि राजासमक्ष गई बुद्धको चैत्य बनाउने अभिलाषा राखेर एउटा गाईको छाला बराबरको जग्गा पाउँ भनी ज्याजिमाले बिन्ती चढाइछिन् । राजाबाट ‘हुन्छ’ भन्ने स्वीकृत भएछ । ज्याजिमाले गाईको छालालाई भिजाएर नरम गरी सकेसम्म मसिनो गरी नचुँडाइकन एउटा लामो तान्द्रो बनाइछिन् र हालको बौद्धनाथको चैत्य भएको जग्गा घेरेछिन् । राजाको हुकुम बमोजिम कर्मचारीहरू जग्गा छुटाउन जाँदा गाईको छालाभन्दा बढी जग्गा ओगटेको देखि ‘यो हुँदैन’ भनी जग्गा छुटाउन इन्कार गरेछन् । कर्मचारीहरू र ज्याजिमा राजासमक्ष गई बिन्ती चढाउँदा राजा स्वयं त्यस ठाउँमा पुगी निरीक्षण गर्दा एउटै गाईको छालाको तान्द्रोबाट घेरेको जग्गा हो भनी ज्याजिमाले गरेको दाबी र राजाबाट भएको हुकुम सदर गरी पाउँ भनी ज्याजिमाले गरेको माग स्वीकृति भएछ र गाईको छालाको त्यान्द्रोले घेरे बराबरको जग्गा प्राप्त भएछ ।
ज्याजिमासँग चार भाइछोराबाहेक एउटा गोरु र एउटा गधा पनि रहेछ । यी सात प्राणी लागेर बौद्धनाथको चैत्य बनाउन थालेछन् । कैयौँ वर्षदेखि पानी नपरेको हुँदा त्यस ठाउँमा पानीको अभाव रहेछ । अड्ढको कपडामा रातको शीत थापी, शीतबाट भिजेको कपडा निचोरी, माटो मुछेर बौद्धनाथको चैत्य बनाउने काम प्रारम्भ गरेछन् । गोरुको सिड्ढले माटो खनी खुरले मुछी दिने र गधाले आवश्यक परेका मालसामान बोकिदिने गरी पाँचजना आमा छोराले बुद्ध भगवान्को चैत्य बनाउने काम सुरु गरेछन् ।
बौद्धनाथको चैत्य बनाउँदा बनाउँदै आमा ज्याजिमाको स्वर्गबास हुने समय भएछ । बुद्धलोकबाट राम्रो पुष्प विमान ज्याजिमालाई लिन आएछ । ज्याजिमा स्वर्गबाट आएको पुष्प विमान चढी जिउँदै बुद्धलोकमा पुगी बुद्ध भगवान्मा लीन भइछन् । छोराहरूले गोरु र गधालाई साथमा लिएर बौद्धनाथको चैत्यको बाँकी रहेको काम पूरा गरेछन् । बौद्धनाथको चैत्य पूरा भएपछि छोराहरूले राजा र सबै ठूला ठूला साहु, महाजन र भद्र भलाद्मीहरूलाई निमन्त्रणा गरी धूमधामसँग नवनिर्मित बौद्धनाथको चैत्यको प्राणप्रतिष्ठान गर्ने समारोह गरेछन् । त्यसै अवस्थामा यस प्रकारको चैत्य न त यस अघि कसैले बनाएका थिए न त भविष्यमा कसैले बनाउछन् । तिमीहरूले यस प्रकारको भव्य अलौकिक चैत्य बनाएको देखेर ज्यादै खुसी र प्रसन्न भए, त्यसकारण तिमीहरूको मनमा इच्छा लागेका वरदान माग भन्ने आकाशवाणी भएछ ।
त्यसप्रकारको आकाशवाणी सुनेपछि सबैजना प्रसन्न भएर जेठो दाज्युले यस ठाउँदेखि उत्तरको देशमा धर्म नभएर मानिस सबै दुःख र गरिब छन् त्यसै ठाउँको राजा भएर जन्मन पाउँ र धर्मको प्रचार गरी सबै जनताको उद्धार गर्न सकौँ भन्ने वर मागेछन् । माहिला भाइले मेरो दाज्युहरूले गरेको धर्म फैलाउन सहयोग गर्न सक्ने भएर जन्मन पाउँ भनी वरदान मागेछन् । साहिँला भाइले मेरा दाज्युहरूले गरेको धर्मको रक्षा गर्न सक्ने भएर जन्मन पाउँ भनी वर मागेछन् । कान्छा भाइले मेरा दाज्युहरूले गरेको धर्म रक्षा गर्न र फैलाउन सक्ने भएर जन्मन पाउँ भन्ने वर मागेछन् । त्यसै समयमा जेठो दाज्युको नाकमा एउटा झिंगा आएर बसेछ । यसो हातले धपाउने बेलामा झिंगा मरेछ । झिंगा मरेको देखेर जेठो दाज्यको मनमा ज्यादै करुणा उठेछ र मैले धर्म फैलाउने बेलामा मेरो सहयोगी भएर जन्मनू भन्ने आशीर्वाद दिएछन् ।
ज्याजिमाका चार भाइ छोराहरूले आ-आफूले चाहेको वर मागे । तर एकैसाथ बुद्ध भगवान्को चैत्य बनाउने काममा खटेको गोरु र गधाका लागि वरदान मागिदिनु मरलक्कै बिर्सेछन् । मानिसहरूको त्यसप्रकारको स्वार्थी व्यवहार देखेर गोरु र गधा ज्यादै रुष्ट भएछन् र गोरुले पनि मनमनै यी चारभाइले गरेका सम्पूर्ण धार्मिक कार्य नष्ट गर्नसक्ने भएर जन्मन पाउँ भनी वर मागेछ । गोरुको त्यसप्रकारको नास्तिक वर मागेको कुरा कागले बुझेछ र यो गुरुले मागेको धर्म नष्ट गर्ने वरदान पूरा हुन नदिनसक्ने भएर जन्म लिन पाउँ भनी वर मागेछ । अनि गधाले पनि यी चारभाइले गरेको धर्म नष्ट गर्ने काम गर्दा गोरुको सहयोगी भएर जन्मन पाउँ भन्ने वर मागेछ । गधाले यसप्रकारको वर मागेको कुरा मौरीले बुझेछ । मौरीले पनि गधाले मागेको वर पूरा हुन नदिने भएर जन्मन पाउँ भनी वर मागेछ ।
कालान्तरमा ज्याजिमाका जेठा छोराले (६१७ ई) मा तिब्बतको कोङ-पो प्रदेशको राजघरानामा जन्म लिएर स्रोङ-ग्चन्-ग्सम्-पो (स्रोङ-चेन-गम्पो) भन्ने नाममा प्रसिद्ध भए । माहिला भाईले पनि जेठो दाज्युसँगै जन्म लिएर खेमु (आचार्य) बौधिसत्व भएर दाज्यु सम्राट स्रोङ-चेन गम्पोलाई हरप्रकारले सहयोग पुर्याए । साहिँला भाइले तत्कालीन भारतको पश्चिमोत्तर प्रदेशको उडि्डयान भन्ने सम्पन्नशाली राज्यको धनकोष तालको कमलको फूलमा उत्पन्न भए जसको नाम पद्म सम्भव रहृयो । कान्छा भाइले (१२९० ई.) मा तिब्बतकै राजघरानामा जन्म लिएर लोप हुनलागेको बौद्ध धर्मको पुनउत्थान गरे तिनको नाम -बु-स्तोन) रिन-छैन-गुब रहृयो । गोरुले (९०१-२ ई.) मा तिब्बतकै राजघरानामा जन्म लिए र तिनको नाम ग्लङ-दर-म रहृयो । ग्लङ-दर-म राजा भएपछि तिब्बतमा बौद्ध धर्म विनाश गरे । गधाले पनि ग्लङ-दर-म कै पालामा जन्म लिए । तिनको नाम द्पस्-ग्धले भन्ने रहृयो । द्पस्-ग्धले बौद्ध धर्म नष्ट गर्न ग्लङ-दर-म लाई पूर्णरूपले सहयोग गरे । कागले पनि ग्लङ-दर-मकै पालामा ल्ह-लुङ-ग्मिर्दो-र्जे भन्ने नामबाट जन्म लिएर पापी राजा ग्लङ-दर-म लाई वाण हानी मारिदिएका थिए । मौरीले पद्म सम्भवको समयमा राजकुमारी भएर जन्म लिइन् र धर्मप्रसार गर्न पद्म सम्भवलाई साथ दिइन् । झिंगाले पनि सम्राट स्रोङ-चेन-गम्पोको समयमा जन्म लिएर बौद्ध धर्म प्रचार गर्न राजालाई सहयोग गरे ।