गीत : अँगेनीको ओदान हो

~दिनेश अधिकारी~Dinesh Adhikari

अँगेनीको ओदान हो विधवाको छाती
दिनभरि पोलिराख्छ, बल्न थाल्छ राति
नियतिको नाम दिँदै बाटो छेकीछेकी
हिँड्न खोज्छ मान्छे मेरो कलेजीमा टेकी

हाँसेकै छ सुनगाभा मैले छोए पनि
आँसु झर्छ आँखाबाट मैले रोए पनि
फेरि किन नबुझेको स्वाङ गर्छ मान्छे ?
नसोधेरै बनेको छ पराईको भान्छे
यो आँधीलाई कसो गरी राखुँला म बाँधी ?
मैले बोक्न हुँदैन रे साइतको ठेकी !

मैले लाए सिन्दूरको रङ उड्छ भने
पोतेलाई बिझाउँछ, चुरा फुट्छ भने
चाहिँदैन केही पनि सिङ्गारको साज
हैन भने किन राख्छौ यस्तो भेदभाव ?
फुल्न सक्छ मेरो कोख, पुग्न सक्छु माथि
भन्न छोड कुँजी छ यो— हातखुट्टा बाँधी

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.