कविता : मन

~अविनाश श्रेष्ठ~

तिमीलाई दिन
मसित एउटा मन छ ।
गौथली झैँ अक्कास–अक्कास उडिहिँड्ने मन ।
कर्कलाको पातमाथिको पानीको थोपा झैँ
अस्थिर मन । मसित एउटा मन छ
तिमीलाई दिन ।
खप्पिस भैसकेको छु म त
सपनासित जिस्कन ।
एउटा बसिबियाँलो न हो सपना
आँखा थुने आइदिन्छ
उघारे गइदिन्छ । ठीक तिमी जस्तै ।
सपना, सपना न हो ।
तिमी जस्तै निष्ठूर हुन्छन् सपना पनि ।
तिमीलाई दिन अरु केही छैन ।
एउटा मन छ ।
रुझेको छाता जस्तो
लाञ्छनाको चुटाइले थाकेको मन ।
निभेको आगो जस्तो
स्मृतिहरुको खरानीले थिच्चिएको मन ।
केही छैन । बस्, मसित एउटा मन छ
तिमीलाई दिन ।

(स्रोत : कविता सङ्ग्रह “परेवा : सेता-काला” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.