~विश्वराम खत्री~
जिन्दगीलाई लथालिङ्ग छोडेर कहाँ मजा हुन्छ
सबै त्यागी पैसा मात्र जोडेर कहाँ मजा हुन्छ
आफूलाई पर्दा सबै चाहिने, साथ चाहिने सहयोग चाहिने
अरूलाई पर्दा बाटो अन्तै मोडेर कहाँ मजा हुन्छ
मन रमाउने, खुसी हुने चीज नभएका होइनन्
त्यहीसँगको नाता चट्टै तोडेर कहाँ मजा हुन्छ
जे परे नि हाँस्नैपर्छ, ढिलोचाँडो मर्नैपर्छ
सधैँ दिलमा पीडा रगडेर कहाँ मजा हुन्छ
बाँचुन्जेल पाप मात्रै, दुनियाँको श्राप मात्रै
मरेपछि पीताम्बर ओढेर कहाँ मजा हुन्छ ।
(स्रोत : नेपालभूमी – २०७४ माघ २ गते मङ्गलबार प्रकाशित अङ्कबाट)