~मोहन बन्जाडे~
अरुलाई भोकभोकै राखी
भोकका कथा सुनाएर, वा
भोकका गीत गाउन लाएर
एक हूल मानिसलाई
भोक विरुद्ध उचाल्दै
तिमी
आफ्नो सकल भोगको निम्ति
आसन सुरक्षित गर्दैछौ
सेवाको बहानामा
चक्रव्यूहमा पारेर अरुलाई
आफ्नो शासन सुरक्षित गर्दैछौ |
कसैलाई लोभको चंगुलमा पारेर
कसैमाथि घृणाको पासो थापेर
कतै कुण्ठाको जाल फालेर
अँध्यारो सुरुङ्गमा धकेलेर अरुलाई
तिमी एकएक गरी
तिनैका काँध काँधमा चढ्दै
अघि बढ्न व्यस्त छौ
अरुको भोकमार्ग हुँदै
आफ्नो भोगचुलीमा पुग्न
सधै सधै अभ्यस्त छौ
र, अरुका भोकधुनमा
आफ्नो भोगलय हालेको
गीत सुन्नमा मस्त छौ|
जब अरुहरुका
काँध पाट्टिन्छन्
तिघ्रा काम्छन्
र निरन्तरको असह्य पीडाले
सर्वाङ्ग दुख्न थाल्छ
अचानक
समग्र पीडाको समयोगले
मन मष्तिस्कमा झड्का हान्नेछ
तिमी अचानक
काँधबाट खस्ने छौ
मनबाट खस्ने छौ
भन तिमी त्यो दिन
भोगको कुन आसनमा बस्ने छौ?