गीति कविता : काली गङ्गा

~कृष्ण वस्ती~Krishna Wasti_1

लाज मान्छ तिम्लाई देख्दा शयपत्री-थुङ्गा ।
राखिदिए नाम तिम्रो उसै काली गङ्गा ।।

हाँगालाई छलेपनि छाँगाबाट खस्छ्यौ ।
काली गङ्गा कहाँ पुगी बास तिमी बस्छ्यौ ?
लेकबाट बेंसी झर्ने तिम्रो केशराशि।
राखेको छु साँची मैले हिर्दयमा टाँसी ।।

ढुंगालाई छुन्छ्यौ तिमी बन्छ शालिग्राम ।
माटोमाथि जहाँ टेक्छ्यौ त्यहाँ तिम्रो नाम ।।
काली-गङ्गा साह्रै मीठो चोखो तिम्रो पानी ।
काली गङ्गा तिम्रो मलाई लाग्छ राम्रो बानी ।।

राती-राती पानी भर्न जून झर्ने गर्छ ।
साँझपख जून्कीरीले बाटो कुर्ने गर्छ ।।
डोलिएर मेरो मन तिमीतिरै जान्छ ।
अञ्जुलीमा उठाएर पिऊँपिऊँ लाग्छ ।।

छातीभरि सुहाउँदो वनफूलको माला ।
भीरपाखा पहरा नै तिम्रो पाठशाला ।।
आफ्नै गीत आफ्नै धुन आफैँ गुन्गुनाउँछ्यौ ।
काली गङ्गा आफ्नै रूप हेरी छुन्मुनाउँछ्यौ ।।

काली-गङ्गा बगाउने नेपालको माटो ।
काली गङ्गा डुलाउने हिमालको पाटो ।।
एकैपल्ट देख्नपाए पनि हुन्थ्यो शिर ।
धोइदिन्थें हिर्दयमा भएभरको पीर ।।

पानीमुनि काली-गङ्गा माछीसँग चल्दै ।
रानीवनमा काली गङ्गा बाच्छीसँग डुल्दै ।।
हिर्दयमा इशाराको तीर गड्यो कस्तो ?
देखेपनि नभेट्नुको पीर बढेजस्तो ।।

पीर बढेजस्तो बरै तीर गडेजस्तो ।
गड्तीरको शिरमाथि भीर चढेजस्तो ।।
जिन्दगीको पाइला यो प्यासमाथि प्यास ।
काली गङ्गा तिम्रै लागि चल्छ मेरो सास ।।

बगाउनै खोज्ने मलाई डगाउनै खोज्ने।
दोछायामा लुकीछिपी सताउनै खोज्ने ।।
(आफैंलाई धेरैपल्ट सोधेकोछु मैले ।)
काली गङ्गा दुबैलाई रोजेकोछु मैले ।।

(काली-गङ्गा=कालीगण्डकी
काली गङ्गा=काली भनेर बोलाइने गङ्गा नामकी ग्रामबाला ।यो गीति कवितामा दुबैलाई समीकरण गरिएको छ )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.