नियात्रा : बेथान र साहित्य यात्रा

~दीपक कथित~

काभ्रे जिल्लाकै साहित्यिक इतिहासमा पहिलोपटक यही पुष ८ गतेबाट सुरु भएको तीन दिने ‘वेथानचोक पर्यटकीय साहित्यिक यात्रा –२०६८’ पुष १० गते आइतबार सम्पन्न भएको छ । काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको तथा प्राकृतिक, धार्मिक र ऐतिहासिकरुपले पर्यटकीयस्थल बेथानचोकको पर्यटकीय महत्व उजागर गर्ने उद्देश्यसहित यो यात्राको आयोजना गरिएको हो ।

साहित्य सञ्जाल नेपाल र तेस्रो आँखा नेपालको संयोजनमा भएको यो कार्यक्रमको आयोजना काभ्रे जिल्लामा कृयाशील ५० भन्दा बढी साहित्यिक र अन्य संघ, संस्थाले गरेको थियो । नेपालको ख्यातिप्राप्त साहित्यकार, पत्रकार, फोटोपत्रकार, पर्यटनसँग आबद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, धार्मिक व्यक्तित्व तथा संस्कृतिकर्मीलयागत १०० भन्दा बढी जनाको समूहको सहभागिता रहेको सो यात्राले बेथानचोक नारायणस्थानको मात्र नभई काभ्रे जिल्लको अन्य पर्यटकीय स्थलहरुलाई विश्वसामू चिनाउन मद्दत मिल्ने बताइको छ ।

लेखन र सिर्जनामा रम्ने साहित्यकार पत्रकारहरुले तीन दिने बेथानचोक पर्यटकीय साहित्यिक यात्रामा स्वागतै स्वागत पाएका थिए । उनीहरुलाई गाउँ गाउँमा सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो ।

काठमाण्डौको भृकृटीमण्डपबाट महाभारत क्षेत्रकै अग्लो बेथानचोक नारायणस्थानको यात्रामा हिडेका उनीहरुलाई काभ्रेका विभिन्न ११ स्थानमा स्वागत गरिएको थियो । स्थानीय कला, संस्कृति, नाँचगान, वाजागाजासहित स्वागत गरिएको थियो उक्त यात्रामा कविता, गीत, गजल, कथा, नियात्रा, निबन्ध, चित्रकारिता, विचार लेखन लगायतका क्षेत्रमा ख्याति कमाएका उनीहरुलाई साँगा, बनेपा, धुलिखेल, शंखु, कामीडाँडा, च्याल्टी, महांकालथान, महादेव मन्दिर, गेल्डुङ, पार्थली र पनौतीमा स्वागत गरिएको थियो ।

नेपाल प्रहरी स्कूल साँगामा पहिलो स्वागत र सत्कार पाएर गरिएको यो यात्राको सुरुवात पनौती साहित्य समाजले पनौतीमा स्वागत गरी त्यहाँ समापन गरिएको थियो । पहिलो दिन नै उनीहरुलाई जनमत प्रकाशनले बनेपामा स्वागत गरेको थियो भने धुलिखेल उद्योग वाणिज्य संघ र हजार सिंढी निर्माण समितिले धुलिखेलमा स्वागत गरेको थियो । प्रसिद्ध पर्यटकीयक्षेत्र नमोवुद्धको सुन्दरताको अवलोकनपछि उनीहरुलाई शंखुका समाजसेवी धु्रर्व ढुंगानाले सुन्तला वगैँचामा रम्ने व्यवस्था गरेर स्वागत गरेका थिए । सबैले आफूले चाहेजति सुन्तला आफैले टिपेर खाने व्यवस्था भएको यो कार्यक्रममा सबै सहभागीहरु झण्डै आधा घण्टा सुन्तलाको बगैचामा रमाएका थिए । त्यसपछि साँझ च्यासिंखर्कको कामीडाँडामा नाँचगानसहित ढ्याग्रेनाँज र डफ्फूसहित स्वागत गरेका थिए । गुन्द्रुक, मकै, सिस्नु र ढिडोमा स्वाद पाएर सहभागी दंग परेका थिए । उनीहरुलाई राजनीतिक रुपमा चर्चित र पर्यटकीय दृष्टिकोणले पनि रमणीय कामीडाँडा राति ११ बजेसम्म विभिन्न स्थानीय तामाङ् नाँच, भेषभुषा पर्दशनी, झाँकी र संस्कृतिसहित स्वागत गरेका थिए । सो स्वागत तथा साँस्कृतिक कार्यक्र।मा तीन सयभन्दा बढी स्थानीय सर्वसाधारणहरु सहभागी थिए । वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, मनोज न्यौपाने, दिल कार्की, शारदा शर्मा लगायतको साहित्यिक सिर्जनाले कार्यक्रमलाई तताएको थियो । ‘यस्तो रातिसम्म यति धेरै स्थानीयबासी जम्मा हुँदा दंग प¥यौ, उनीहरुलाई कला, संस्कृतिप्रति कति मोह रहेछ ।’–गजलकार पौडेलले भने ।

भोलिपल्ट कामीडाँडाबाट साहित्यकार प्रतीक ढकाल, राधेश्याम लेकाली, युवराज नयाँघरे, भीष्म उप्रेती, भीष्म उप्रती, रोशन शेरचनलगायतको ८० जनाभन्दा बढीको टोली बेथानचोक नारायणस्थानको पैदल यात्रामा निस्केका थिए भने पौडेल, श्रीओम श्रेष्ठ रोदन लगायतका साहित्यकारहरु भने कामीडाँडा हुँदै गेल्डुङसम्मको यात्रामा निस्केका थिए । उनीहरुलाई आत्मा विकास मावि च्याल्टी र ढुंखर्कको कृष्णगोपाल माविमा भव्य स्वागत गरिएको थियो । बेथानचोक डाँडामा पुगेर फर्कने तथा अन्य टोलीलाई ढुंखर्कका स्थानीय बासिन्दाले वाजागाजासहित स्वागत गरेका थिए । राति सांस्कृतिक कार्यक्रम, त्यहाँको लोक संस्कृति, भेषभूषा पर्दशन गरिएको थियो ।

तेस्रो दिन यात्रामा सहभागीलाई चलालगणेस्थानको सरस्वती मावि पार्थलीमा स्वागत गरिएको थियो । त्यसपछि ढुंखर्कको पार्वती उच्च माविमा पनि उनीहरुलाई भव्य स्वागत गरिएको थियो । स्थानीयबासीहरुले उनीहरुलाई फुलमालासहित स्वागत गरिएको थियो । त्यहाँ आयोजित बृहत् साहित्यिक कार्यक्रममा स्थानीय र यात्रामा सहभागीहरु गरी करिब ८० जनाजतिले आफ्नो श्रृजना सुनाएका थिए । कार्यक्रममा नायिकका श्वेता खड्काका बुबा लोकबहादुर खड्काको गीत तथा नृत्यले सबैको ध्यान तानेको थियो । स्थानीयबासीहरले पनि स्थानीय कला, संस्कृति, भजन, श्लोक प्रर्दशन गरेका थिए । ५ दिनअघि सो स्थानमा गई सो स्थानको लोकजीवन, संस्कृतिलाई प्रतिनिधित्व गर्ने गरी बनाइएको चित्रकला पनि त्यहाँ प्रदर्शन गरिएको थियो । सो कार्यक्रमपश्चात् फर्केको सो समूहलाई पनौती साहित्य समाजले पनौतिमा नेवारी परिकार योमरी ख्वाएर यात्राको समापन गरिएको थियो ।

साहित्यको माध्यमबाट पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थान लगायत काभ्रेको अन्य पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने साहित्यिक यात्रालाई अधिकांशले अविस्मरणीय रुपमा लिएका छन् । ‘गाउँ गाउँमा यस्तो स्वागत पाइयोकि साच्चीकै काभ्रेका यी गाउँका बासिन्दा साह्रै साहित्यप्रेमी रहेछन् भन्ने हामीले देख्यौ, यात्रामा अविस्मरणीय स्वागत पाइयो, सुन्दरता देख्न पाइयो र मनोरमतासँग रमियो ।’–साहित्यकार श्रीओम रोदन श्रेष्ठले भने । ‘वेथानचोकलगायत काभ्रेका विभिन्नस्थललाई पर्यटकीयस्थलको रुपमा विकास गराउन आवश्यक भौतिक पूर्वाधार बनाउनसमेत सम्बन्धित निकायलाई घचघच्याउन र सो स्थललाई साहित्यका विभिन्न विधामा अभिलेखिकण गर्न सकेमा यसको महत्व पुस्तौँपुस्तासम्म पनि जीवित रहन सक्छ भन्ने उद्देश्यले यो यात्रा थालिएको हो ।’–साहित्य सञ्जालका अध्यक्ष दीपक कथितले भने । यात्राका क्रममा रचना गरिएका साहित्यिक रचना, फोटा, चित्रकला एउटा संग्रहका रूपमा प्रकाशित गरिने र त्यहाँ सिर्जना गरिएको चित्रकला र उत्कृष्ठ फोटाहरू चाँडै नै काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनीमा राखिने कुरा सो कार्यक्रमका संयोजक जयराम तिमल्सिनाले बताए ।

 ललितपुर, नेपाल

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.