कविता : फेरि दुख्यो देश

~तुलसीराम पोखरेल ‘निर्दोषी’~

शकुनीहरू जाल बुन्दै छन्
घर जलाएर खरानी बेच्दै छन्
तानातान हानाहान
‘अग्रगमनकारी, क्रान्तिकारी
यथास्थितिवादी, प्रतिगमनकारी’
यसरी हाले मुलुकलाई भड्खालामा
अनि फेरि देश दु:खेको छ ।
नौ अर्ब बग्यो बागमतीको फोहोरमा
जनताका रगत–पसिनाको थोपा–थोपा
हे जनता π जाग अब अति भयो
पङ्गु नेता बहिष्कार गर
किनकि, फेरि देश दु:खेको छ ।
चार वर्ष दिगमिग लाग्ने नाटक गरे
होटल–होटलमा डिनर–लञ्च गरे
रिसोर्ट–रिसोर्टमा आराम फर्माए
गँजडीका गफ लाएर सपना बाँडे
जनतालाई दिनु धोका दिए
थाङ्नामै सुताए
त्यसैले त संविधान आउँदाआउँदै पनि आएन
बैसठ्ठी–त्रिसट्ठीको आन्दोलन
सहिदको सपना र जनताको आँसु
बागमतीकै फोहोर तुल्याइयो
यसरी फेरि देश दु:खेको छ ।
सम्प्रदायिक, जातीय नारा
त्यसैले ढल्यो संविधानसभा ।
संविधानसभाको नाउँमा
छ सय एकले
प्रचार गरे सस्ता नारा
भागवण्डा नमिलेपछि
खाइपाइ आएको बिर्ता मासिने भएपछि
घाट पुर्‍याए संविधानसभालाई,
अनि फेरि देश दु:खेको छ ।
दु:खेको देशको उपचार गर्न
बगलीमा छुरा बोक्ने
नेतारूपी ‘चिकित्सक’बाट सम्भव छैन अब
मानवको रूपमा दानवी ‘क्रान्तिनायक’का बदला
‘गान्धी’हरू खोज्न जागौँ

– पाल्पा, रामपुर-३, हाल : सामाखुसी

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.