~भेषराज रिजाल~
महिना दिन अघि
सानो भनाभनमा
उसले मन दुखायो
उसले पैसा माग्दा
मैले उपदेश दिएँ
मायाबिनाको उपदेश
गाली हो भन्दै
उसले आवेशमा अंश माग्यो
सम्झाउँदा झन्
बालअधिकारको कुरा गर्यो
मैले मुक्याएँ
त्यही रात उसले घर छोडेछ
म झसङ्ग भएँ !
जताततै खोजेर थाकेपछि
थकित तन सुम्सुम्याउँदै
दुखित मन थुम्थुम्याउँदै
टिभी, रेडियो र पत्रपत्रिकामा
बालक हराएका र पाइएका
सूचनाहरू हेर्दै
हण्डर खाएर एकदुई दिनमै
फर्केला भन्दै
प्रतीक्षाका पलहरू गन्नथालेँ
कसैले सडकमा भेटे रे !
कसैले टेम्पोमा झुण्डिएको देखे रे !
मैले भने कतै नभेटेर खोज्दा
केवल हरेक रात
मेरै अँगालोमा
भक्कानिँदै रोएको देखेँ
जसरी पोहोर साल
उसकी आमा खस्दा
अत्तालिएथ्यो÷भक्कानिएथ्यो
हिउँदका छोटा दिन
सम्साँझै रात परेको छ
धिपधिपे टुकीलाई उपहास गर्दै
अन्धकार मेरै छेउसम्म नजिकिएको छ
उसलाई नै सम्झँदै
म अहिले पिँढीको डिलमा बसेको छु
खोल्दानखोल्दै रेडियोले
उसैको नाम लियो
आतङ्कारी मारिएको भन्दै
खपिनसक्नु भएर मैले
काखको रेडियो मिल्काइदिएँ
आँगनमा मिल्किएको रेडियो
मेरै छोरोजस्तो लाग्छ
उछिट्टिएका पार्टपुर्जाहरू
उसकै अङ्गप्रत्यङ्गझैँ लाग्छन्
पिँढीको बलेनी रोएर
आँगनमा भेल बगेझैँ लाग्छ
म कहाँ खोजूँ हजुर ?
मेरो छोरो हराएको छ ।
रचना समय र स्थान : २०५९ कार्तिक १५, बेनी, म्याग्दी
प्रकाशित : देश सधैँ रूने छैन, कविता सङ्ग्रह, २०५९
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )