~निर्मोही व्यास~
मेरी कल्पू ! चिरसहचरी ! जिन्दगीकी जुहार !
प्यारी ! चारैतिर झलझली देख्छु तिम्रै मुहार
यौटा यौटा पल छिन गरी गैसक्यो एक मास
पर्खी पर्खी म त भइसकेँ प्रेयसी ! झन् उदास
आयो वर्षा ऋतु सरस यो प्रीतिको ली तरङ्ग
जोडाजोडीहरू मनमनै खूब छन् दङ्ग–दङ्ग
यस्तो बेला तर कति हरे ! चाल हाम्रो बिढङ्ग
प्यारी ! बस्छ्यौ पर,मन यहाँ हुन्छ मेरो भरङ्ग
गर्जी गर्जी छिनछिन उसै मेघ झन् बर्सिदिन्छ
एक्लो मेरो मन यस घडी खूब नै छट्पटिन्छ
रोई बस्ता धुरुधुरु सधैँ प्रेयसी ! सम्झनामा
मेरो यस्तो कृश तनु भयो, के गरूँ खै बयान !
ब्रह्माण्डैमा अनुपम कुरा रैछ दाम्पत्य–प्रेम !
यौटा यौटा क्षण मिलनका छन् स्वयम् धन्यधन्य
उस्तै एकै छिन पनि कतै छुट्टिँदा क्या उदास !
पानीपानी नयन सहजै, टाढिने भोक–प्यास
भालेपोथी पनि ढुकुरका देख्छु जिस्कीरहेका
चुच्चो जोरी प्रणयसुखमा मग्न भै मस्किएका
ब्रह्माण्डैमा अनुपम कुरा रैछ दाम्पत्य–प्रेम !
यौटा यौटा क्षण मिलनका छन् स्वयम् धन्यधन्य
यौटै धोको मधु–मिलनको आसमा अल्झिएर
बाँचेको छु प्रणय–रसको दिव्य ऊर्जा पिएर
उत्कण्ठा ली दिलभरि ‘तिमी आउँदी हौ’ भनेर
बाटो हेरी दिनभरि सखी ! बस्छु गौँडो कुरेर
कैले तीखो वचन गरिने भैदिँदा चूक–भूल
त्यै तीतोमै पनि तर अहा ! फक्रिने प्रीति–पूmल
सङ्लो, गाढा पिरति हुनुको हो यही नै निसानी
यै पिर्तीको मधुरस पिई झाङ्गिने जिन्दगानी
यौटै मान्छे फगत जुटिँदा जिन्दगी बन्छ पूर्ण
यौटै मान्छे फगत चुँडिँदा जिन्दगी चूर्णचूर्ण
गाला जोडी जति जति खप्यो मुस्किँदै घामपानी
साँच्चै मीठो उति उति हुने दम्पतीको कहानी
मैँझैँ यौटा तरुण विरही यक्षले मेघलाई
गर्दा सम्प्रेषण सहचरीछेउ दूतै बनाई
बाटो लामो, गिरि–वन–नदी धेर, आषाढ मास
नौलो बस्ती तर पनि ‘पुग्यो’ भन्दछन् कालिदास
विश्वासी औ सरल मनको दूत त्यस्तो नपाई
बस्छु प्यारी ! म त मुटु मिची चिन्तनामा हराई
औँला भाँची प्रतिदिन कठै ! कुर्छु नौलो बिहान
बित्ला कैले विरह–रजनी ? झुल्कलान् जूनघाम !
कल्पना माइतमा रहँदा लेखिएको चिठी
(रचनाकाल र स्थान : २०३५ साउने सङ्क्रान्ति, कलैया)
(‘सगर’ पूर्णाङ्क ७, २०५४ कार्तिक—पौष)
(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९)