~तिर्थराज अधिकारी~
जुवाडेहरू-
मिलेर जुवा खेल्दाखेल्दै
सानै कुरामा सन्किन्छन्
अलिकति निहुँमै आपसमै
रन्किन्छन्
रिसको पारो तातेर
मन बुझाउन नसकी
कोही खालबाटै बाहिरिन्छन्
कोही मन थामेर पूर्ववत्
उही खालमा पासा
पल्टाइरहन्छन् !
जुवाडेहरूको-
कुनै अपरिचित पनि छिटै मित्र
बन्छ
मित्रतामा धाँजा फाट्न पनि बेर
लाग्दैन
मिलेका दौँतरीहरू
छिनभरमै पानी बाराबार गर्न
पुग्छन् !
जुवामा –
इमान/ जमानको कुरा हुँदैन
लाज/ सरमको कुरा हुँदैन
जुठो/चोखोको कुरा हुँदैन
न्याय/ धर्मका कुरा हुँदैन !
यस खेलमा-
तमासेहरूको उस्तै घुइँचो लाग्छ
जिताउरी पाउने आशामा
घुँडा धस्छन्
आँखा च्यात्छन्
बाजी जित्नेको पछाडि
पहरा नै बस्छन् !
राजनीति !
खेल यस्तै रहेछ
घात/प्रतिघात
छल/कपट
असत्य/ बेइमानीमा
जो अगाडि
छ
बाजी उसैले जित्ने रहेछ!
नियम-
नियम नै मिचिएको छ
विधान-
विधान नै थिचिएको छ
कस्तो डरलाग्दो खेल हजुर !
यो नशामा –
सोझाको त दुर्दशा नै हुँदो रहेछ !
जुवाडे –
जसका बालबच्चा भोकै
रोइराखून्
विनापर्वाह ऊ उन्मत्त
खालमा छाती पिटिरहेको हुन्छ
त्यस्तै-
जनता आँसुको घुट्को निलिरहून्
कुनै वास्ता छैन
तर जनता मन्त्रै जपेर
स्वार्थ-साधनामा देश बाजी थाप्दै
झेली खेल सधैँ
नेताहरू –
राजनीति -खेलिरहेका छन्
राजनीति-गरिरहेका छन् !!
(स्रोत : “जंगल” – कवितासंग्रह – २०७२ बाट साभार )