~तीर्थराज अधिकारी~
ऊ गर्भको आसनमा डगेन
कसेर अड्डी जगमा झरेन
भएर अप्रेसन बल्ल आयो
स्वभाव आफ्नो सुरुमै चिनायो ।
पिता थिए कृष्ण बडा मनस्वी
दिव्या थिइन् ती जननी यशस्वी
सन्तान सच्चा शिर के लत्रिइन्थ्यो ?
अन्यायमा मौन कहाँ रहन्थ्यो ?
ठान्थ्यो कहाँ जीवन भोक प्यास ?
हुन्थ्यो कहाँ भोग विलास दास ?
स्वतन्त्रता निम्ति कतै झुकेन
फुल्यो सधैँ ऊ दिल कक्रिएन ।
कोर्रा उठी आँत सकेन गाल्न
ढुङ्गो ढली माथ सकेन ढाल्न
नङ्ग्रा उचाल्ने पशु हार खाए
विचारका माझ उसै बिलाए ।
गन्तव्य आफ्नै पथको पुजारी
बस्थ्यो कहाँ बास र आस मारी ?
करोडका माझ खुलेर नेत्र
कोर्दै रमायो मनभावचित्र ।
छन् काव्यमा झल्झलका प्रकाश
केस्रा अनेकौँ मनको छ राश
विचारमा ज्वार उभार ल्याई
आँखा खुलायो पछिसम्मलाई ।
उद्दण्डका दण्ड सबै गलाई
असाध्यको रोग उसै पचाई
प्रभात ल्याईकन रङ्ग छायो
चूडा सबैका मनमा उदायो ।
गोरखा
हाल– सरस्वतीनगर,काठमाडौँ ।
(स्रोत : मधुपर्क २०७१ भदौ – वीपी विशेष)