~त्रिलोचन आचार्य~
म चाहन्छु सधैँ बन्न चोखो थुँगा गुराँसको
म चाहन्छु सधैं खुल्न किल्लाभित्र स्वदेशको
म चाहन्छु सधैं फल्न, श्रम दाना बनी यहाँ
र चाहन्छु सधैं बाँच्न– ‘म नेपाली भनी’ यहाँ।
बन्दै धौलागिरी उठ्ने– पाल्दैछु चाहना म ता
फाल्न चाहन्छु आफैंले आमाका वेदना–व्यथा
सुनकोसी बनी आफैं म खोज्छु कल्कलाउन
मेची–काली, म दौडेरै चाहन्छु पहरा दिन।
यिनै मैदान–पाखामा पसिना पोख्छु–पोख्छु म
आमाकै काखमा नाना सपना देख्छु–देख्छु म
पहाडको पिई पानी तराई फाँट जोत्छु म
नथापी हात यी, सग्लो नेपाली आँट रोप्छु म।
योद्धा अमर भक्तिको नाता तोड्न म मान्दिनँ
भोकै गर्जन्छु यो आफ्नो बाटो छोड्न म मान्दिनँ
भो नून तेलको लागि, दास बन्न म मान्दिनँ
बलभद्र म हूँ, ज्यूँदो लास बन्न म मान्दिँन।
अभावका सबै ढाल्छु म अल्गा पहरा–दरा
चाहन्न म कसै बन्न, कसैको विचरा–बरा
म मेरै हातले गर्छु माटो–पाटो हरा–भरा
अन्नपूर्ण बनी हाँसुन् भन्दैछु म बसुन्धरा।
बढ्छ उद्यानको शोभा धेरै थुँगा फुलेर नै
बालेथ्यौं क्रान्तिको राँको भाइ–भाइ मिलेर नै
मिलाई हातमा हात अब कान्ति सजाउँला
लेकबेंसी तराईमा दीगो शान्ति सजाउँला।
गरिबी दुख्छ हो भित्र छातीमा यो जता–तता
त्यो भन्दा बढी दुख्दैछन् सुस्ता र लिपूका कथा
तैपनि मित्रता रोज्दै सीता अन्माउँने म हूँ
रोजी आकाश आस्थाको–बुद्ध जन्माउँने म हूँ।
(“राष्ट्रिय कविता महोत्सव- २०७३”मा तृतीय पुरस्कार प्राप्त गरेको कविता)