~असिम सागर~
चारैतिर लगाएर टेको
बडो मुस्किलले उभिएको छ घर
यति धेरै चर्किएका छन् कि घरका भित्ताहरु
जहाँबाट छिरेको चिसो बतासले
रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम
सिलिङमा चढेर जब माकुराले धुलो खसाल्छ
भुइँचालो-भुइँचालो भन्दै रुन्छन्, कराउँछन्
चम्किन लागेका चिचिला ताराहरु
त्यही घरको ऐनामा ओर्लिएर आधा हाँसिरहेछ जून
जुन घरलाई भत्किनबाट जोगाउन
काँध थाप्ने दायित्व तिम्रो पनि हो मेरो पनि हो
ठुल्दाइ, केवल मेरो भन्दैमा घर आफ्नो हुँदैन
कुनै पनि बेला भाँचिन सक्छ टेको
टेको भाँचियो भने घर ढल्ने खतरामा मात्र होइन
ढल्छन् आफू धुरी खाँबो भनेर टेको हटाउनपर्नेमा हामी टेको थप्दै जाँदैछौं
आफ्नो घरलाई यसरी आफ़ैं धरापमा पार्दैछौं।
म त्यो प्रतीक्षामा छु
बिनाटेको उभिन सक्ने आत्मनिर्भर घर कहिले बन्ला
भूकम्प प्रतिरोधक घर कहिले बन्ला
लाग्छ, टेको पनि यही दाउमा छ
कहिले यो घर ढल्छ र आँगन मेरो हुन्छ।
ठुल्दाइ,
बन्नकै लागि भत्कन लागेको हो घर
तपाईं झ्याल-ढोका तयार गर्नुहोस्
म इँटा, छड र रोडा बटुल्छु।
(“राष्ट्रिय कविता महोत्सव- २०७३”मा तृतीय पुरस्कार प्राप्त गरेको कविता)