कविता : तिमी

~मञ्जुश्री गिरी~

यातना र त्रासमा पनि
गतिशील अविरल निरन्तर
जीवनदेखि जीवनसम्म
जोस जाँगर र उत्साहमा
निरन्तर खटिरह्यौ
विश्वासका ज्वारभाटाहरू
कतिपटक देख्यौ विद्रोहमा
गौरवका इतिहास तिमी
कहिले साहित्यका हिमचुली बन्यौ
जहिले मुटुमा बोकेर हिँड्यौ देश
तिम्रा पाइतालाका ठेलाहरू
फुट्दै गए, तिमी जस्तै खारिए ती पनि
नवप्रभात बोकेर
गरिबका आँतहरू रसाउँदै
बाँझोमा फुल्ने छन्, फल्नेछन्
लटरम्म परिश्रमहरू लहलह भई

गरिबसँग विश्वेश्वर गाउँ–गाउँमा
पानी परेपछिको
उघ्रेको आकाश रहेछ तिम्रो मन
विजय बोकेर हिँडेको रहेछ यात्रा
तिम्रो तस्बिरमा
नतमस्तक भएर ढोगेँ तिम्रो जन्म दिनमा
प्रत्येक नागरिकको धड्कन रहेछ देश
जीवनका रङहरू
भोगाइका घाम छायाँहरूमा
जून जस्तै उज्याला तिमी
कारागारमा पनि निडर
साहसी र वीर पुरुष तिमी
जनताको हृदयका लाख बत्ती तिमी
नेपालीका आँखामा नौलाखे तारा तिमी !
तिम्रो जन्मदिनमा फेरि सम्झिएँ
र तिमीलाई
चढाएँ यी श्रद्धाका फूल !

– विराटनगर

(स्रोत : मधुपर्क २०७१ भदौ – वीपी विशेष)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.