शेखर अस्तित्वका केही मुक्तकहरू

~शेखर ‘अस्तित्व’~

धेरैलाई बाँडेको जवानी बोकेर !
कान्छा उड्यो फुर्र राहदानी बोकेर !
उता कान्छी गर्भपात केन्द्रमा रुँदै,
बसेकी छिन् मायाको निसानी बोकेर !

शूलजस्तो भएपनि फूलजस्तै मानेको छु !
मैले एउटा ढुँगालाई देउताझैं ठानेको छु !
ढुँगामा खोपेको नाउँ युगौंसम्म मेटिन्न रे !
त्यसैले त दुनियाँ छोड़ी तिम्रै मुटु छानेको छु !.

यो देहको कण-कणले तिमीलाई डाक्न पाऊँ !
आँखामा, मन-मुटुमा तिमीलाई राख्न पाऊँ !
तिमीलाई सम्झी-सम्झी जीवन यो बिताएर,
अर्को जुनीको लागि तिमीलाई भाक्न पाऊँ !

बाँच्नलाई सम्झनाको मल्हम भए पुग्छ !
मर्नलाई तिम्रो एउटा कसम भए पुग्छ !
धेरै कुरा चाहिंदैन तिम्रो “शेखर” लाई !
अलिकति रक्सी, कपि, कलम भए पुग्छ !

भाग्यसङ्ग रिसाएर आफैंलाई गाली दिन्थें !
दागजस्तो जिन्दगी यो आँसुले पखाली दिन्थें !
धन्नै तिमी आयौ अनि बस्न थाल्यौ नत्र मैले !
मुटुलाई छातीबाट झिकेरनै फाली दिन्थें !!

मैले कहाँ भन्या’छु र काली माया गाँसी देउ ?
यत्ति मात्रै चाहेको छु, एक पटक हाँसी देउ !
तिमी सारै राम्री रै’छौ, सत्य बोल्छु नरिसाउ !
ढाँटे भने ऐनालाई सोधे पछि फाँसी देउ !

धूलो भए हुन्थ्यो म त माटो भए हुन्थ्यो !
तिम्रा पैताला मुनि को बाटो भए हुन्थ्यो !
मनको कुरा गर्नै पा’को छैन तिमी सङ्ग !
यस्तो जिब्रो पाउनुभन्दा लाटो भए हुन्थ्यो !

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.