~पुरु लम्साल~
आफैंले बनाएको घरले थिचेर
बाले संसार छोड्नुभएपछि
मैले घर छोडेँ।
घरमै छुट्यो
आमाको काख
प्रियाको आलिङ्गन
छोरीको मुस्कान
भकारीको धान
कुन्युको मकै
गहुँ, आलु, फापर र गुन्द्रुक
छोडियो साथ भन्ज्याङ र चौतारीहरुसँग
साथी र दौंतरीहरुसँग
बाबु हुनुको कर्तव्य
लोग्ने हुनुको दायित्व
र, सन्तान हुनुको धर्म निभाउन
बन्धकी राखेर बाको जिउनी
लालमोहर लगाएर राहदानीका पानाहरुमा
मैले छोडेको हुँ माटो।
भत्किएको भित्ता जस्तै वर्तमान
र, मुटु भक्कानिने अतीत बोकेर
सुन्दर भविष्य खोज्दै
बादलका थुम्काथुम्की माथि
चिलगाडीसँगै उडाएर सपनाहरु
आइपुगेको छु
तातो हावाको च्याम्बरमा
बाको चिता जलेझैं जलिरहेछन्
मेरा सपनाहरु
बालुवाको सहरमा
न आमाको आँसुले शीतल पार्न सक्यो जलेको मन
न श्रीमतीको प्रेमले मलम लगाउन सक्यो दुखेको छातीमा
न छोरीको मुस्कानले भुलाउन सक्यो पीडाको पहाड
घरिघरि आइरहेछ भुइँचालो
हल्लाइरहेछ सपनाको घर
र, भत्काउन खोजिरहेछ विश्वासको पर्खाल
अब
सपना फुलाएर फर्किनुछ आफ्नै माटोमा
गर्नुछ लडिबुडी पाखाहरुसँग
जहाँ श्रम रोपेर उमार्नुछ खुसी
सिप रोपेर फुलाउनुछ सपना
आफैं बलेर देखाउनुछ
बल्न छोडेका जूनकिरीहरुलाई
फर्किँदा सँगै लैजानुछ
आमाको लागि ओखती
प्रियाको लागि रातो फरिया
छोरीको सुखद भविष्य
र, जतनले सँगालेका सुन्दर सपनाहरु।
(“राष्ट्रिय कविता महोत्सव- २०७३”मा द्वितीय पुरस्कार प्राप्त गरेको कविता)