कविता : मृदुलासँग निषेधित प्रेम

~चन्द्र घिमिरे~

नबुझेको कहाँ हो र !
तिम्लाई जत्ति मन पराउँछु
उत्ति मेरो चर्चलाई
तिमी अप्राप्य छ्यौ ।

मैले नबजाउँदैमा
पियानोले कहाँ सन्चो मान्छ ?
अधबैंसे घुर्की लाएर
आफैं बजी बस्छ तिम्रै नाउँमा ।

मेरो वारेस भन्ने बदमास फूल
ठिटोझैं सुसेली बस्तो रैछ
तिमीतर्फ फाल्दै बेसारे गीत
जो अवैधानिक छ ।

तिम्रो फोनले कन्याउँदा
फोनफोनै तिमीसम्म पुग्ने चोरबाटो माग्छु
प्राविधिक कठिनाइले दिन्न र मात्रै !

तिम्ले १९९२ जुलाइमा दिएको पुस्तक
पुस्तकको ७३ औँ पेज
ओसिला भाछन् तिम्ले चुमिदिँदा
त्यो माया फेरि लम्केन मतिर
कैले पुग्छु गोरुगाढा चढेर तिम्रो मंगलग्रह ?

तीन दशक बूढा प्रेमपत्रहरू
बाकसमा आजीवन कारावासमा
बुझिनसक्नु छ…नथाकेका
आममाफी पनि माग्दैनन्
तिम्रो ज्यादतीले पटट्याएछ क्यार
… तिमी मेरो मुटुमा भीड लागेकी छ्यौ !

हाल – कोलकाता ।

(स्रोत : मधुपर्क २०७० मङ्सीर)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.