~गोविन्ददेव आचार्य~
छन्द :- शार्दूलविक्रीडित
हे हावा ! तँ नचल् न उग्र गतिले ! हल्लिन्छ मेरो मन
तेरो उग्र बहावले युगलको फिक्का भयो गन्थन
हे हे जून तँ अल्पिदे ग्रहणमा, अर्कै कुनै भागमा
कोठाभित्र उदाउँछिन् जगतकी मेरी प्रिया चन्द्रमा ।।
हे हे भास्कर ! छोपिदे अब उषा, सप्ताहको रात दे
प्यासी “चन्द्र-चकोर”का हृदयमा उन्माद दे मात दे
चढ्दै शैल अनारको फल टिपी खाऔँ अघाऔँ सँगै
एकै सास र एक धड्कन बनी फर्केर आऔँ सँगै ।।
पन्छी हो ! अब बास्न छाड, गुँडमा चुच्चा लुकाई बस
जाओ दूर निभाउँदै जुनकिरी ती धिप्धिपे पानस
चर्को शब्द नबोल जन्तु वनमा ! तन्द्रा बिथोल्ने गरी
मेरी “चन्द्र” रिसाउँछिन् लवणमा आगो खन्याएसरि ।।
कस्तूरी पनि दूर जा अब कुदी अन्तै लुका नाइटो
मेरै “इन्दु” बगाउँछिन् अधरको बास्ना अनौठो मिठो
हे हे दीपक हल्लिँदै तँ निभिदे विश्रान्तिमा जा अब
मेरी “स्वप्न” लजाउँछिन् नजिकमा हल्लिन्छ छाया जब !
फक्री सुन्दर पुष्पले नजिकमा बास्ना चलाएपछि
के राख्ला अवशेष लुब्ध भमरो दौडेर आएपछि
प्यासी जन्तु समीपको उदक के पर्खेर साँच्ला कतै ?
के मण्डूक भुजङ्गको वश परे उम्केर बाँच्ला कतै ?
इन्द्रेणी ! तन ढाकिदे वसन झैँ रङ्गी-विरङ्गी बनी
तेरा ती बहुरङ्गबाट भरियून् यी जूनमा मोहनी
मेरी सुन्दर “उर्वशी” प्रण गरून् सेवा र आवाहन
पाऊँ बाँच्न अनन्त “अर्जुन” बनी बाँडी मिठो चुम्बन ।।
हे हे मौसम ! उघ्रिँदो समय दे सौहाग दे गन्ध दे
आशा दे बहुरङ्गको प्रकृति दे नाता र सम्बन्ध दे
माया, मेल-मिलाप दे उदय दे उल्लासका याम दे
मायाकै रसरागभित्र जगमा “गोविन्द” को नाम दे ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)