~अमर गिरी~
दुःखी पत्नीहरू छन्
दुःखी पत्नीहरूका
दुःखका गतिहरू छन्
छातीभित्र पहाडजत्रा दुःखहरू लुकाएर
मर्न नसकेर बाँचेका जस्ता लाग्ने
असक्त बृद्धहरू छन्
हिमालभन्दा गह्रौँ र अग्ला
उनीहरूका कष्टहरू छन् ।
घरमा सके जति आमालाई सघाएर
घाँस काटेर गाईभैँसीलाई
सोहरेर भकारो
कहिले भित्तामा टाङ्गिएको बाबुको तस्वीर हेर्दै
कहिले सपनामा देखेका बाबुलाई सम्झदै
कहिले आउलान् भनेर आैँला गन्ने
र निन्याउरो मुख लगाएर
पाठशाला जाने केटाकेटीहरू छन्
सन्दुसमा लुकाई राखेको प्रिएको तस्िबरलाई
कसैले नदेखोस् भनेर
लुकाई लुकाई हेर्ने
कहिले खुसीले हाँस्ने
कहिले विरहले रुने
अर्ध विक्षिप्तजस्ता युवतीहरू छन् ।
पढ्न चाहेर पनि पढेरै नसकिने
उनीहरूका क्लेषहरू छन् ।
कोही मर्यो भने
घाटसम्म लैजाने
कोही छैनभन्दा हुन्छ
असक्त भयो भने कोही
बोकेर अस्पतालसम्म पुर्याउने पनि
कोही छैनभन्दा हुन्छ
चट्याङले सुकेको रुखमा बसेर
ढुक्कुर विरहको कविता पढ्छ ।
बाँझो खेतमा उभिएर
हरेक रात फ्याउरो अपसकुन गाउँछ
बल्लतल्ल निदाएका घरहरू
भयानक सपनाहरू देखेर
व्युँझन्छन् मध्ये रातमा ।
अब घरमा त्यति कुरा हुन्न काठमाडौँको
विराटनगर, भैरहवा, नेपालगन्ज, पोखराको
बल्लोपल्लो गाउँ जिल्ला अञ्चलको
केटाकेटीका स्मृतिमा
अब सबैभन्दा ताजा छन्
कतार, मलेसिया, साउदी अरब, कोरिया अब
आमाहरू सुनाउँछन् आफ्ना सन्तानलाई
दोहा र दुबइका कथाहरू
सियोल र क्वालालम्पुरका गीतहरू
दराजमा थन्किएर पुराना किताब जस्तै
थन्किएका छन् ।
प्रिय लोरी र दन्त्यकथाहरू ।
तको मौसम जस्तो
उराठ लाग्दो गाउँको कथा हो यो
घरभित्र छु म
बाहिर जोड जोडले चलिरहेछ हावा
हावामा उडिरहेछन् पातहरू
उड्ला जस्तो गरिरहेछ घरको छानो
भुइँ छोलान् जस्तो गरिरहेछन् बाँसहरू
उडिरहेछ हावामा
गाउँको सिरानमा फर्फराइरहेको
लोकतन्त्रको झण्डा उडिरहेछ धूलो
धूलोमा मधुरो हुँदै गइरहेछ गाउँको चित्र
जसरी मधुरो हुँदै गइरहेछ
वर्षौँ पहिले
भित्तामा टाङ्गिएको राष्ट्रवादको चित्र ।
कठै ।कसरी सुक्तै सुक्तै गइरहेछ गाउँ
बिस्तारै बिस्तारै
कसरी परिवर्तित भइरहेछ आफैँ
अरबको मरुभूमिमा ।
(स्रोत : मधुपर्क २०७० मङ्सीर)