कविता : अन्तर्बोध

~कृष्ण वस्ती~Krishna Wasti_1

बग्ने गला-गुञ्जनबाट भाका ।
स्वयं कलाझैं सुकुमार पाखा ।।
आकाशचुम्दै चुलिंने पहाड ।
टाढा नहुन् हिर्दयलोकबाट ।।

ढाकेर नीलो नभले कपाल ।
हाँसेर बोलाउँछझैं हिमाल ।।
सोपानझैं पर्बतका तरेली ।
हेरूँ उठाई म सधैँ परेली ।।

छटा डुलाई गहुँका गह्रामा ।
जटा फिंजाई गिरि-कन्दरामा ।।
नदी जहाँ फेर्दछ मन्द सास ।
त्यहाँ छ मेरो कुटिया निवास ।।

सानन्द देख्ने सपना निशाले ।
बिहान बाँड्ने विपना उषाले ।।
जहाँ छ प्यारो परिवेश-शान ।
त्यहाँ छ मेरो मनको दलान ।।

न पुण्यका खातिरको तमासा ।
न पापले आर्जनको पिपासा ।।
जो मिल्छ मीठो पसिना पुछेर ।
अडिन्छ यो चेत त्यहीं पुगेर ।।

चिराग बालेर निशा म पोल्दै ।
परागजस्तो अनुराग बोल्दै ।।
म मृत्तिकामा परिपाक दिन्छु।
र देशलाई मधुमास दिन्छु ।।

यी लेक-बेंसी वन-बास मेरा ।
पानी-पँधेरा पहरा-पखेरा ।।
बाँड्दै सबैमा सहभाव डुल्ने ।
म फूल साझापनभित्र फुल्ने ।।

कतै अँध्यारा र कतै उज्याला ।
निसर्गका यी मधुपान-प्याला ।।
जहाँ थपिन्छन् श्रमका सुगन्ध ।
त्यहाँ छ मेरो रचना निबन्ध ।।

केही शब्दार्थ:-
छटा-कान्ति,नभ-आकाश,सोपान-सिंढी,गिरि-पहाड,कन्दरा-गुफा,निसर्ग-प्रकृति,पिपासा-तिर्खा,निशा-रात,अनुराग-प्रेम,मृत्तिका-माटो,मधुमास-वसन्त

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.