~इलामेली टीकाराम दुलाल~
छन्द कविता : शिखरिणी
जलेको यो मेरो मन अनि कलेजी छ म सित
कतै जल्दै बल्दै अनल सरि लौ निभ्छु म कित
चलेको यो ढुक्ढुक् ढकढक यता बन्द कि भयो
कतै मेरो भन्देउ म अब कि मरेँ जीवन गयो ।१।
यसो छाम्दा तातो अलि अलि छ यो ढक्ढक गरि
चलेको यो आँखा धिपधिप यसो छन् घरि घरि
म बाचौ के बाचौ असफल भयो जीवन हरि
म बाच्नै गारो भो पलपल यहाँ लौ मरि मरि ।२।
असन्तोकी भन्छन् किन नि दुनिया लौन यसरी
बनौ खै सन्तोकी अब भन बरू बन्छु कसरी
हिडे बाटो कट्ने अलिअलि हिडौँ भन्छ सखिया
झनै लामो बाटो भनन कसरी काट्नु म प्रिया ।३।
यता पोल्दा पोल्दै सहन नसकी जल्छ बदन
म दाह्रा किट्दै लौ जिवित छु अझै के भनुँ भन
न यो आत्मादाहा गरूँ न म यसै छट्पटि रहुँ
मरे, पोल्यो भन्दै भन त म कती आखिर सहुँ ।४।
न पालौ मैले यो न पर तिर फालौ अति भयो
डमी मात्रै मान्छे भइकन यता सास चिँ रयो
गरौ आफै मेरो सजिवपन यो बन्द म पनि
भनेरै सोचेँ भन्छ तर दुनिया कायर भनि ।५।
इलामेली टीकाराम दुलाल
नक्साल
मिति २०७५।०१।१४ रोज ७
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )