~निर्मोही व्यास~
म प्यासी सदाको, तिमी हौ पँधेरो
जहाँ पाउ तिम्रा त्यहीँ स्वर्ग मेरो
तिमीलाइ पाए जुनी धन्य-धन्य
नपाए छ संसार नै शून्य-शून्य
सजाए छातीभरि विम्ब तिम्रो
र आँखाभरी स्वप्न साँची सुनौलो
बगी भावनामा, उडी कल्पनामा
अहोरात्र तिम्रै डुबी सम्झनामा
म सारङ्गि यो प्यारको रेट्न आएँ
म सत्ते ! तिमीलाइ नै भेट्न आएँ
म जाऊँ जता, देख्छु तिम्रै मुहार
गरूँ प्रीतिको सिन्धुमा वारपार
छ मेरो यही एउटै मात्र स्वप्न
म चाहन्न अर्को कुनै मन्त्र जप्न
ऊज्यालो छ धर्ती तिमी झुल्किनाले
छ यो सृष्टि प्यारो तिमी मुस्किनाने
जहाँ दिव्य सौन्दर्य तिम्रो पिएर
खुसी छर्दछन् फूलले गम्किएर
म तिम्रै छहारीमुनी लेट्न आएँ
म सत्ते ! तिमीलाई नै भेट्न आएँ
कुनै भन्दछन्- प्यारमा हार हुन्न
कुनै भन्दछन्- जीतको सार हुन्न
नपाऊँ म कैल्यै कुनै जीत-हार
तिमीमा डुबी नै रहूँ बारबार
चढाऊँ अरू अर्घ्य के अर्चनामा !
स्वयम् अर्पिएको छु आराधनामा
बनी निर्झरी छङ्छङाईरहेछु
महासिन्धुमा मिल्न धाईरहेछु
युगौँदेखिको तिर्सना मेट्न आएँ
म सत्ते ! तिमीलाई नै भेट्न आएँ ।
(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ २६)