~जीवराज बुढाथोकी~
चल्छ यहाँ सधैं, जताततै पञ्जाछक्का !
भन्छन् सबै, मेरो गोरुको बाह्रै टक्का !!
एक नेता अर्को नेताको कुरा, सुन्दो हो,
दुनियाँ सधैं सुखी हुँदो हो, देश बन्दो हो,
तर यहाँ एकले लाउँछ अर्कोलाई धक्का,
अनि भन्छ उ, मेरो गोरुको बाह्रै टक्का !!
पाउनेखाने कामकुरामा, हुने सबै एक,
देश बनाउँने मामलामा, बाहाना अनेक,
बुँदैबुँदाका सहमतिमा, हस्ताक्षर पक्का,
कार्यान्वयनमा, मेरो गोरुको बाह्रै टक्का !!
उठाउँछन् सबै बेलाबेला, प्रभुका कुरा,
प्रभुकै आशिर्वाद थाप्ने, सबै ती बबुरा,
प्रभु कोही नकार्दैन, गरेपनि लक्काझक्का,
प्रभुदृष्टीमै पनि, मेरो गोरुको बाह्रै टक्का !!
भन्छन् कोही चुनाव जाने, कोही नजाने,
निर्वाचन नै लोकतन्त्र, जनमत श्रेष्ठ ठाने,
बनोस् सहमति, नहोस् हड्ताल बन्दचक्का,
नभनोस् कोही अब, मेरो गोरुको बाह्रै टक्का !!
तर चल्छ यहाँ, जताततै पञ्जाछक्का !
भन्छन् सबै सधैं, मेरो गोरुको बाह्रै टक्का !!
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं