~विष्णु विभु घिमिरे~
१. पीरहरू
सुन्दर भए
कति आनन्द हुन्थ्यो
ती सबै
बजारमा बिक्री हुन्थे
त्यति बेला
आँखामा
एउटा उज्यालो चमक हुन्थ्यो
ओठमा
सधैँ वसन्त फक्रन्थ्यो
त्यतिखेर
न मेरो बाध्यताको दासता रुन्थ्यो
त्यति बेला
जीवनको बाँसुरी नै अर्कै बज्थ्यो।
तर पीरहरू सुन्दर हुनासाथ
मसँग
के पीरहरू बस्थे ?
आफ्ना
पीरहरू अरूकै हुन्थे
मसँग
के पीरहरू बाँच्थे ?
ती पीरहरूको पसल खोलेर
सायद अरू नै धनी बन्थे।
२. सपनाहरू
साँचोभए
कति आनन्द हुन्थ्यो
अहिले
जति सुन्दर सपनाहरू छन् ।
ती सबै बजारमा बिक्री हुन्थे
त्यति बेला
मलाई न मेरो समयले जोत्थ्यो
मलाई न मेरो बाध्यताले नोकर बनाउँथ्यो
त्यतिखेर
न मेरो हाकिम ईश्वर हुन्थ्यो
न मेरो अफिस मन्दिर बन्थ्यो
त्यति बेला
बिपनामा सबभन्दा आनन्द मनाउनेहरू
मेरा सुन्दर सपनाहरूका अगाडि
कति विनम्र
हातहरू जोड्दै उभिन्थे होला ।
तर
सपनाहरू
साँचो हुनासाथ
मुठीबाट चुहिन्थे
मसँग
के सपनाहरू हाँस्थे ?
ती सपनाहरू एक–एक किनेर
सायद अरू नै
सम्मानित बाँच्थे।
३. कल्पना
यथार्थ भए
कति आनन्द हुन्थ्यो
अहिले
जति कल्पनाका तरङ्गहरू छन्
ती सबै
बजारमा बिक्री हुन्थे
त्यतिखेर
आफ्ना नानीहरूको
म पनि
एउटा आदर्श बाबु बन्थेँ
आफ्नी श्रीमतीको
हरदम आँखाकै नानी बन्थेँ
साँच्ची
म पनि एउटा
बाबु–आमाका आँखामा
होनहार सन्तानमा गनिन्थेँ
त्यसबेला
यथार्थका
भावविहीन बगरे मुटुहरू
यथार्थका
कृत्रिम औपचारिक मनहरू
मेरा कल्पनाहरू खुसी पार्न
कति भजन गाउँथे होला
कति प्रार्थना जप्थे होला ।
तर कल्पना
यथार्थ हुनासाथ
मसँग
कल्पना नै के बाँच्थ्यो ।
मसँग
के कुनै कल्पनाले कावा खान्थ्यो ?
अहिले
जति सुन्दर कल्पनाहरू छन्
ती अरूकै हुन्थे
ती कल्पनाहरूको
दोकान खोलेर
सायद अरू नै मालिक बन्थे ।