कथा : छातीको आगो

~उमालाल आचार्य~

‘भित्र को हुनुहुन्छ, पानी खान दिनुस् न’ भनी बाहिरबाट कोही बटुवाले पटक–पटक बोलाइरहेपछि लोटामा पानी लिएर घरबेटी आमा बाहिर निस्किन् । पिठ्यूँमा झोला बोकेको बटुवाले पानी सकेर रित्तो लोटा फिर्ता दिंदै बोल्यो– ‘पहिला त बाटाभरि दोकान प्रशस्तै थिए नि आमा ।’

‘थिए बाबु बिलाए सबै । घर कहाँ हो नि बाबु ?’ आमाले सोधिन् ।

‘टाढै हो आमा, अझै हिँड्नुपर्छ एकदिन । होटल भइदिएको भए कति जाति हुन्थ्यो । खाना त के हिजोबाट एक कप चिया खाएको छैन । केटाकेटीलाई भनि ल्याएको दुईपोका विस्कुटले धानिएको छु अहिले सम्म ।’

‘कठै बरा ! पेटीतिर बस्नुस् बाबु चकटीमा । दुईटा रोटी छन् नून खुर्सानी पिस्छु मोइसित खानुहोला ।’ बटुवा झोला अड्याएर पेटीमा बस्यो, भित्रबाट आमाले थालमा रोटी, अचार र गिलासमा मोही ल्याइन् । एकहातले आधा रोटी र अर्को हातले आमाको फरिया समाउँदै एउटी सानी नानी पनि सँगै आइन् । रोटी खाँदै बटुवा बोल्यो– ‘भोकले लाज मान्दोरहेनछ आमा । पैसा भएर के गर्नु भोकलाग्दा टोक्न नमिल्ने ।’

‘ठीकै हो बाबु । यही रोटीले त धान्या छ तपाइँ हाम्रो परान् ।’

‘आमा ! म तपाइँको छोरै समानको मान्छे हुँ । मलाई तिमी भन्नुस्न बरु ।’

‘मैले नजन्माए पनि तिमी मेरो छोरोसरह नै छौ बाबु । तिमीलाई देख्दा छोराको झल्को आयो । सबैका छोराहरु ढिलो चाँडो फर्किन्छन् घर सम्झेर, मेरो छोरो त कहिल्यै नफर्किने गरी गयो बाबु ।’ आमा रोइन् ।

‘आमा ! रोएर मन नदुखाउनुस्, जे भो भैगो । के हुन्छ र रोएर ।’

मन बुझाउन सकिन्न बाबु आफै धर्किन्छ । नौ दश महिना गर्भमा बोकेर चार पाँच वर्षसम्म छाती चुसाएर हुर्काएको कोखिको घाउ पो त ।’
के गर्ने त अब, कालले बालो बुढो भन्दैन त ।’

‘सम्झदा मुुटु चर्कन्छ बाबु । कालले टिपेको भए बरु मन बुझाउँथे । मेरो छोरालाई त पापीहरुले लखेटी–लखेटी जंगलमा लगेर मारे ।’

‘ओ हो ! किन आमा ? कसले ग¥यो त्यस्तो ?’

‘जनताको जिउधनको रक्षा गर्न भर्ति भएकाहरुले मेरो छोराको हत्या गरे बाबु ।’

हरे राम राम ! जत्रै गल्ती भए पनि त मान्छेलाई चरामुसा झै मार्न त पाइँदैन नि । शख्त कारवाही गर्नुपर्छ त्यस्तालाई उजुरबाजुर गर्नुभएन अड्डा अदालतमा कतै ?’

‘यो अवस्थामा उजुरबाजुर पनि लाग्दैन रे । मेरो छोरालाई गोली हान्ने पापीको त झन बढुवा भयो रे ।’ आफ्नो काखमा बसेको सानी नानीको कपाल मुसारिन् आमाले ।

‘अब सामन्ती रजाइँ धेरै टिक्नेछैन आमा । उसको अन्त्य झन्–झन् नजिकिदैछ, अनि यी सानी नानी को हुन त आमा ?’

‘नातिनी हो, त्यही छोराकी छोरी ।’ आमाले आँसु पुछिन ।

‘ए ! अनि खोइ त यिनकी आमा ?’

‘मेरी बुहारीको घाइते मन स्थिर गराउन कसैको जोर चलेन बा । एकोहोरिएकी छ । आफू जिउसितकी छ हलुंगी भएपछि लोग्नेको हत्यारासँग बदला लिने किरिया खाएकी छ दिनको भोक र रातको निन्द्रा बिर्सिदिई त्यसले ।’

‘अनि बुवाले सम्झनु भएन त ? के भन्नुहुन्छ उहाँले ?’

‘मेरो सिन्दूर पुछिएको त अठार वर्ष भयो बाबु, त्यो छोरा सात वर्षको थियो । त्यही छोराको मुख हरेर सबै दुःख बिर्सेको थिएँ । पापीष्टहरुले त्यो गति बनाइ दिए । सुत्केरी व्यथा कस्तो हुन्छ आमा बन्नेले मात्र थाहा पाउँछ । कालसँग लड्नुपर्छ बाबु । त्यसबेला मैले मरिमरि धन्न बाँचेर जन्माएको त्यो छोरालाई हराम न बिराम त्यसै ….. ।’ आमाले हिक्का छोडिन् ।

‘आमा भो’ नरुनुस् । हजुरको पुरिन लागेको घाउ अनायासै कोट्याउन पुगेछु ।’ बटुवाले पनि आँखा पुछ्यो ।

‘कोखीको घाउ त कहिल्यै पुरिदोरैनछ बा । जति पुरानो भो झन्–झन् आलो ।’

‘आमा ! अलिकति मोही छ होला ?’

‘छ, म ल्याउँछु ।’ आमा भित्र गइन् ।

‘नानु ! तिम्रो नाम के हो ?’ बटुवाले सोध्यो ।

‘नानी !’ उसले लाज मान्दै भनी ।

‘ए ! कति राम्रो नाम । तिमीलाई धेरै माया कसको लाग्छ नानी ?’

‘बाबाको ।’ नानीको जवाफले बटुवा अलि सम्हालियो ।

‘आमा र हजुरआमाको लाग्दैन त ?’

‘लाग्छ । बाबाले त धेरै विस्कुट अनि चकलेट पनि ल्याइदिनुहुन्छ । मलाई लिएर बजार जाने भन्नु भा’ छ ।’

‘एउटा रोटी पनि खाऊ बाबु ।’ आमा आइन् ।

‘रोटी त मलाई पुग्ला आमा ।’

‘खाउन, खाने तिम्रो उमेर छ । अनि बाँच्नेले त हो बा खाने ।’

‘ठीक छ । मैले आज यो लेक काट्न भ्याउँला आमा ?’

बर्कत छ, भ्याइन्छ । तिमी कहाँबाट आयौ बाबु ? कहाँ छौ ? के गर्छौ ?’

म भारतीय सैनिक हुँ आमा । पहिलो छुट्टीमा घर आउँदैछु ।’

‘ए ! सुख छ त्यहाँ ? आनन्दी छौ लाहुरमा ?’

‘पटक्कै छैन आमा । आफ्नो कोही छैन, पसिना पोख अर्कैका लागि, रगत बगाऊ अर्कैका लागि, फगत मुटु थिचेर चूपचाप सहनुपरेको छ ।’

‘त्यहाँ त्यस्तो सास्ती छ र मन पनि मान्दैन भने किन छोड्यौ त आमाको काख ? देश भन्नु आमाकै काख त हो बाबु ।’

‘पढेर यो देशमा जागिर खान पाइएन । आफ्ना नातागोता ठाउँमा छैनन् । पहुँच कहीं कतै छैन । तपाइँ नै भन्नुस्न कति दिनसम्म आमाको काखमा बोझ भएर बसुँ त ? आखिर बाँच्नलाई रोटी चाहियो । रोटीकै जोहो गर्न मुग्लान पसेको आमा, रहरले हैन ।’े

‘ए त्यसो पो ? त्यसो त जागिर नहुनेहरुले पनि रोटी खाएकै छन् बा । पाखुरा बजाएर पसिना रोप्ने हो भने भोकै मर्नु पर्दैन । रुखोसुखो ढेंडो आँटो खाएर बाँचेकै त छन् बा जागिर नहुनेहरु पनि, कि छैन र ?’

‘त्यो त हो । आफूले दुःख कष्ट सहेरै भए पनि आमालाई सुखी बनाउन पाए हुन्थ्यो झैं लाग्छ । छोरो भएपछि आमाको दूधको भारा पनि तिर्नुप¥यो ।’

‘आमा ओछ्यान परेका बेला दवाइमुलो सेवा चाकरी गर्दा दूधको भारा तिरिएला कि मुग्लान् पस्दा ? लौ भन त ।’

‘भगवानका कृपाले अहिलेसम्म मेरी आमालाई त्यस्तो केही भएको छैन ।’

‘अन्नपानी उबाजेर हाम्रो प्राण जोगाउने धरती पनि आमाकै रुप हो बाबु । पढेकाले कुरा बुझ्छन् भन्थे, खोइ त तिमीले बुझेको ?’

‘त्यो त बुझेको छु आमा । जन्म दिने आमा र जन्मेको भूमि समान हुन्छन् । सबै देशवासीका लागि आफ्नो प्यारो देश आमाकै रुप हो । त्यसैले देशको सेवा गर्नु सबैको परम कर्तव्य हुन्छ ।’

‘अनि तिम्रो के कर्तव्य भयो त बाबु ? यता देश मुर्छा परेको छ उता तिमी मुग्लानको सपना देख्छौ । तिमीजस्ता बलियाबाँगा छोराहरु यो र त्यो बहानामा विदेशिन्छौ भने हामी अभागिनी र असहाय आमाहरु कसको भरोसा गर्ने ? तिमीहरुले देश छोड्दा बर्बाद भयो बाबु । कुकुरले झै राक्षसहरुले यो देश लुछिरहेका छन् । देश बचाउनुपर्छ बा ! देशभन्दा तिमीहरुले विदेशीएर कमाएको धन ठूलो होइन, विचार गर बाबु ।’

‘हो आमा । अब राक्षसहरुको नाइके कुना पसेर रुने दिन टाढा छैन । जागिसके नेपालीहरु बस्ती बस्तीबाट । आमा म एउटा कुरा सोधुँ तपाइँसँग ?’

‘सोधन बाबु म जानेजति त भनुँला नि ।’

‘तपाइँले यी सब कुराहरु कहाँबाट सिक्नुभयो आमा ?’

‘समयले सिकाउँदोरहेछ बाबु । तिमीजस्तै अरु छोराहरु पनि आउँछन् । दुःख सुख बाँड्छन्, घत लाग्ने बात गर्छन्, सम्झाउँछन् बुझाउँछन् । समय बलवान हुँदोरहेछ बाबु बनाउने भत्काउने र सिकाउने पनि समय नै होरहेछ ।’

‘ओ हो समय त गइसकेछ, आमा म अब जानुपर्छ नत्र लेक काट्न गाह्रो हुन्छ ।’ बटुवाले घडि हेर्दै भन्यो ।
हुन्छ जाऊ बाबु । यो दुःखी आमालाई पनि कहिल्यै सम्झदै गर्नु ।’

चाहेर पनि म जीवनभर हजुरलाई भुल्नेछैन आमा । अब त म घरिघरि आमाको सेवामा हाजिर हुनेछु । अहिले बाटो लाग्छु आशीर्वाद पाउँ आमा ।’ उसले हात जोड्यो ।

‘तिमीलाई मेरो आर्शीवाद छ बाबु । तिम्रो यात्रा शुभ रहोस्, सबै काम सफल रहुन्, तिमीबाट देशका शत्रु बैरीको नाश होस्, दुःखी गरीबको आशीष लागोस् ईश्वर सधै दाहिना होउन् ।’ बटुवा बाटो लाग्यो आमा र नानीले डिलबाट हेरिरहे ।
साझ आमाले बत्ती बालेपछि बुहारी घर पुगिन् । सासु–बुहारीले पिढीमा बसेर बात गरे । ‘नानी खोइ त बज्यै ?’ बुहारीले सोधिन् ।

‘निदाएकी छ, दिउँसो सुत्न पाइन अब उठाउनुपर्ला ।’ आमाले भनिन् ।

‘होस् सुतोस । खाना खाएको भए त उठाउन पर्दैन ।’

‘नानीले त खाई अब हामी खाउँ पछि चिसो हुन्छ ।’

‘हजुरलाई भोक लाग्यो होला बुढाबुढी मान्छे, खाएको भए हुन्थ्योनी बज्यै ।’

‘त्यसो नभन्न मेरी बुहारी । काल हाल्न सकिदोरहेनछ त ? बाँच्नका लागि खानै प¥यो तर तँ बिना मेरो घाँटीमा एकगास छिर्दैन ।’

‘बानी लगाउनुपर्छ बज्यै । मलाई पनि त्यस्तै हुन्थ्यो, हजुरको छोरालाई नदेख्दा खाने बेला गास रुच्थेन बरु भोकै बस्थें ।’

‘मेरी जाती बुहारी ! जे भो भैगो । गएका दिन फर्कदैनन् बा । तेरो लागि म छु, मेरा लागि तँ छेस् । तेरो जिउ झन कमजोर हुन्छ बा ।’

‘दुई दिनको जिन्दगीमा धेरै थोक सहनुपर्दोरहेछ बज्यै । अहिले आँसुमा भात मुछेर खानुपर्ने दिन व्यहोर्नुपरेको छ । ’

‘आफूले चाहेर हुँदैन बा । जिन्दगी लामो छ, किन दुई दिनमात्र भन्छेस् ?’

हो बज्यै । एउटा जन्मेको दिन र अर्को मरेको दिन । यही दुई दिन बीचमा त झुण्डिदोरहेछ जीवन ।’

भो त नि भो । अब खाना खाउँ सासू–बुहारीले ।’

‘मलाई त पटक्कै खाने मन छैन बज्यै । आज त व्यथाले चापेको छ । बरु झट्टै पेटको नानी जन्मेको भए मुक्ति मिल्थ्यो अनि बल्ल बाटो खुल्थ्यो ।

जिद्दी छोड बा । भगवानका लागि पनि यस्ता कुरा नबोल ।

भगवान ? भगवानसँग मेरो भरोसा छैन बज्यै । मेरो सिउँदो, पुछियो, हजुरको आस्थाको दियो निभ्यो, नानी टुहुरी भैई । दुष्ट भगवानले के ग¥यो हाम्रा लागि ?’

आमाले बच्चा जन्माएर मात्र पार पाइन्छ ? पालनपोषण गर्न परेन ? स्यारसुसार नगरे कसरी हुर्कन्छ बच्चा ? ऐया…. ऐया….. बज्यै। ऐया नी…… मेरो कुरा…….. सुन्नुस न ।’ बुहारीलाई व्यथा लाथ्यो ।

‘बुहारी नबोल बा । तलाइँ बह लाग्यो । आमाले बुहारीको पेट मुसार्न थालिन् ।

‘बज्यै मलाई यी कुरा गरेर नछेक्नुहोला । ऐया…… य यस्ता कुरामा अल्झिएँ भने धर्मराउने छु, ऐया…. ऐया….. बाटो बिराउने छु, त्यसैले बिन्ती मेरो बज्यै मलाई नरोक्नुहोला । ऐया……. ऐया…….. ।’

‘तैंले कसरी त्यसो भन्न सकेकी ? छोराले त छोडेरै गयो । तैंले पनि छोडेर गए मैले कता हेरेर मन बुझाउने ? यो बुढो ज्यानले लालाबाला कसरी हुर्काउने ? केही कुरा बुझ्न बा ।’

‘कुरा बुझेकी छु बज्यै । यहाँ बाबु–आमा नहुनेहरु, छोराछोरी नहुनेहरु, दुःखी दरिद्री लुला लंगडा सबै त छन् । यो त संसार हो, हिजो चलेको थियो आज चलेको छ, भोलि चलिरहेनछ । ऐयानी……. ऐया…….. यसमा हजुर हामी नभए पनि चल्छ ।’

‘त्यो सानी नानी र अब जन्मने गर्भे टुहुराको माया लाग्दैन तलाई ? तँ त साहै्र निर्मोही रैछस् बुहारी ।’

‘गाईले आप्mनो बाच्छो किन चाट्दो हो बज्यै, माया नलागेर होला ? म पनि त आमा हुँ, मेरो पनि त कलेजी रसाउँछ नि । धेरै सोचें बज्यै मैले । ऐया–ऐया यी अजानलाई छोडी पोइल गए पनि तिनका आँसु लाग्नेछन् । हुर्केर बुझ्ने भए भने कति धिक्कार्लान् ? ऐया … ऐया … हैन, विष खाएर ढल्न पनि भएन । ऐया छोराछोरीकै मायाजालमा अल्झिउँ भने मेरो छातीमा आगो छ । मेरो लोग्ने मार्ने त्यो राक्षस छातीमा तक्मा लाएर साँढे झैं घुमेको छ । त्यसलाई ठेगान नलगाई त यो आगो निभ्दैन बज्यै । ऐया नि … मैले कसम खाइसकेकी छु, बरु मर्न किन नपरोस् ।’

‘त्यसो भए आप्mना नानीहरु पनि साथै लैजा । काल आए म मरुँला नत्र जोगिनी हुँला ।’

‘ऐया … ऐया … नानीहरु लैजा भन्नु त हातगोडा बाँधेर लड्न पठाए जस्तै हो बज्यै । म हातगोडा फुक्का गरेर रणमैदानमा जान्छु, ऐया नि … ऐया … ।’

बच्चाको जीवन आमासँग गाँसिएको हुन्छ । त्यो दुधमुखे गर्भे बच्चालाई छाडी तँ कसरी जान्छेस् त ? उलेके बच्चा नपाउने ?

‘हजुरले भन्नुभएको होइन र, छैंटीको दिन हजुरकी आमा खस्नुभयो भनेर । ऐया … बाख्राको दूधले प्राण बचायो भनेर आफै कुरा गरिरहनुहुन्छ ।’

‘मेरी आमा त साँच्चै मरेकी थिइन् ।’

‘ऐया, हजुर त बाँच्नु भयो नि ।’

‘रहरले बाख्राको दूध खाएहुँला त ?’

‘करैले खाए पनि बाँच्नुभयो र आज मेरी सासू हुनुभयो । बज्यै ऐया मेरा कुरा बज्यै ।’

‘आहो तलाई फेरि बह लाग्यो बा । नआत्ती है म तेल लिएर आउँछु ।’

‘ऐया … ऐया … बज्यै ! हजुरको माया बढी भएर … ऐया … ऐया नि माया बढी भएर म मातेकी होइन मेरी बज्यै ।’

‘तँलाई गाह्रो भो’बा टाउको मेरो काखमा राख् । म तेल दलिदिन्छु ।’

‘ऐया … ऐया नि आमा । उस् ! यस्तो गाह्रो त आमा बन्ने सबैलाई हुन्छ । ऐया … श्रीमान्सँगको बिछोड योभन्दा बढ्ता गाह्रो छ मलाई । ऐया … उनी छट्पटाइन् ।

‘तँ नकरा बा ! एकछिन् ।’

‘म कराउँछु बज्यै ! त्यो पापीसँग बदला नलिई मर्दिनँ म ।! दाँत पिस्दै बोलिन् ।

‘यसो गर त, अब जन्मदैछ बच्चा ।’

‘ऐया … ऐया … आमा । मलाई नरोक्नुहोला बज्यै !’

‘तँ नआत्ती न बा । पख है त ।’

‘ऐया … म आत्तिन्न बज्यै । ओहो ! उस् तर मलाई नछेक्नुहोला ।’

‘पख न ती कुरा पछि गर्दै गरुँला ।’

‘मलाई त झट्टै बोलाइरहेछ बज्यै … हलुँगी भएर तुरुन्तै आउनु … ।’

‘खै कसले बोलाएको छ तलाई ?’

‘मेरो आस्था … आस्थाले । संकल्पले … म त रणमैदानमा …. ।’

‘खरो भो तँलाई, अब एकैछिन नबोल त ।’

‘ऐया …’ बुहारी चिच्याइन् । ‘चिँहा–चिँहा !’ नवजात जन्मियो, ‘धढाम्म्’ … दूर कतै बम् पड्कियो ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.