~नवीन विभास~
सहिदमार्ग छेवैमा उभिएको थियो, वरको रूख । त्यसको टुप्पोमा माओवादीले राखेको झन्डा खुइलिएर डिस्कलर देखिन्थ्यो । केही नयाँ घरबाहेक गाउँको अनुहार उस्तै थियो । अनुहारको भाव भने फेरिएथ्यो । हिजो ‘लाहुरे पर्खिरहेकी लाहुरेनी’ गाउँ आजचाहिँ ‘लाहुरेको माया मारिसकेकी लाहुरेनी’जस्तो देखिन्थ्यो ।
‘यै हो सहिद विद्रोहीको घर,’ एक मनले ठहर गरे पनि अर्को मनले ‘होइन’ भन्यो ।
‘होइन, यहाँनेर त कमरेड कसमको पो घर थियो, यो चाहिँ कसको रहेछ ? यति सारो चिटिक्क,’ लाखरखोलाकी वीरता कमरेडलाई खसखस लाग्यो । सोधौँ कि नसोधौँको बीचमा उनले आफैँलाई सोधिन्, ‘विद्रोहीको घरछेवैमा त कमरेड कसमको घर थियो ।’
कमरेड कसमले यति ठूलो घर बनाए होलान् भन्ने उनको कल्पनामै थिएन । हुन त माओवादीले राम्रो घर बनाउनै हुन्न भन्ने थिएन । तर, उनले कहाँबाट ल्याए पैसा यत्रो घर बनाउन ? पहिले त उनलाई विद्रोही र कसमको घरको अनुहार उस्तै लाग्थ्यो ।
‘कमरेड जुनी !’
आँगनमा उभिएर बोलाइन् ।
जवाफ आएन ।
‘कोही छैन कि क्या हो ?’
एकछिन चोस्किइन् ।
विद्रोहीकी छोरीको नाउँ सम्झना हो भन्ने सुनेकी थिइन् । त्यसैले ‘सम्झना’ भनेर बोलाइन् ।
कमरेड विद्रोही बेनीमा मारिँदा कमरेड जुनी दोजिया थिइन् । बच्चा जन्मेपछि उनलाई राजनीतिक विभागमा सरुवा गरिएको थियो । बाउछोरी देखभेट गर्न पाएनन् । छोरीले त फोटो हेरेर बाबा चिनिन् होला तर बाबाले ?
‘कस्ती भइन् होला उनी !’ कमरेड वीरता झोला बोकेर जतिजति कमरेड जुनीको घरनजिक पुगिन्, उतिउति उनका आँखामा बल्झियो कमरेड जुनीको अनुहार ।
कमरेड वीरता अचेल घरेलु महिला सुर्माली भइसकेकी थिइन् । घरकै काममा यताउता गर्दैमा दिन बितेका थिए, अरब जाने उमेरले पनि नेटो काटेकाले ।
आँैला भाँचिन्, झन्डै आठ वर्ष पुगेछ भेट नभएको कमरेड जुनीसित ।
फ्रक लगाएर तलमाथि गरिरहेकी एउटी चुलबुले बच्चीको अनुहार आँखामा बल्झियो । कमरेड भनेर आफूभन्दा माथिमाथि हात उठाएर बोलाइरहेकी फुच्ची उनका आँखामा आइन् । ठूली भइसकी होलिन् । उनको आकृति आँखामा उभियो ।
दुध्लाको बोटमा सारी (सारौँ)को चिर्बिराहट चर्केको थियो । कान थापिन् । भित्रको भुनभुन पनि सारीका कचहरीले सुनिएन । किन हो कुन्नि, बिरुको बोटनेर पुगेपछि एक्कासि सम्झना ओइरिए ।
गाईको भकारामा उभिएर फेरि बोलाइन् । जवाफ आएन ।
बाँधिएका एउटा गोरु र तीनवटा बाख्रा चलमलाए । ती दुब्ला थिए ।
कमरेड जुनी !
फेरि बोलाइन् । भित्रबाट कुनै प्रतिक्रिया आएन ।
केही समयपछि एउटी फुच्ची निस्किइन्, मैराबाट बार्दलीमा । बार्दलीको सरा भाँच्चिएको खाली ठाउँमा खाली खुट्टा अड्याइन् । र, उभिइन् । एउटा चप्पल हातमा थियो अर्को चप्पल अर्को खुट्टामा ।
बोलाएको सुनेकै रहिनछन् । आफ्नो काममा लागिन् । चप्पलमा सकी–नसकी छिनेको फित्ताको रूपमा डोरो हाल्न लागिन् ।
‘यिनै हुन् सम्झना !’ वीरताको
मनले भन्यो ।
“भित्र को छ हँ ?”
सारीको हल्लाले राम्ररी सुनिएन क्यार । केहीछिनपछि उनैले भनिन्, “आमै त
भित्रै छन् ।”
डोरी छिराउने कोसिस जारी राख्दै
थपिन्, “कष्ट छन् ।” उनका अनुसार कष्ट अर्थात् बिरामी ।
“तिमी हो सम्झना ?”
“अँ ।”
“म तिम्री मीतआमा ।”
भित्र पस्दा उनको टाउकोमा माकुराको जालो अल्झियो । अलि अग्ली रहिछन् क्यारे ! नत्र भित्रबाहिर गर्दा जालो नरहनुपर्ने । लिप्ने बेला घर्किसकेकाले घर मुसाको घरजस्तो देखिन्थ्यो । मैराको कुनातिर आधा अवला दाउरा थियो । केही पुराना चप्पल जसमा डोरीका फित्ता हालिएका थिए । खरको छानो ठाउँठाउँमा उडेको सानो घरबाट केही सरा खर थपकलामा अल्झिएका थिए । बाछिटाले हानेर विरूप गारो ठाउँठाउँमा चर्केको थियो ।
अँ, सम्झनासित भित्र पसिन् । अँध्यारो थियो । बत्ती बाल्नुपर्ने बेला भइसकेथ्यो ।
“सलाम संगिनी ! म वीरता !” अँध्यारोमै मुठी माथिमाथि उचालेर सलाम गरिन् ।
उनीहरूले सेनामा छँदा संगिनी लगाएका थिए । महिला–महिला मितिनी लाउनेलाई रोल्पातिर संगिनी लाउने भन्छन् ।
हात मिलाए । तरिका पूरानै थियो,
चपक्क सनासोले च्यापेजस्तो । एक महिनायता थला परेकी जुनी उठ्ने कोसिस गरिन् तर सकिनन् ।
“औषधी खानुभयो ?”
वीरताले सोधिन् । तर, केही
जवाफ दिइनन् ।
सम्झनाले सलाई खोजिन् । टुकी बालिन् । डिउरोमा राखिन् र टुकी हल्लाउँदै भनिन्, “तेल अल्कत मात्र छ ।”
तेल सकिएकाले टुकी जाँगर लगाएर बलेन । मधुरो देखियो ।
उपचारका लागि अस्पताल नगएर के गरेको भन्दै गुनासो गरिन् वीरताले ।
“खुट्टा भए प अस्पताल जाने र ! काल पर्खेर बस्या छ । अगत् पर्या ज्यान । कहिले सास जाला र सन्च होला भन्छु ब,’ वीरताको बदला छेवैमा बुहारीको सिहार गरिरहेकी आमाले भनिन् ।
“कोही कमरेड आउनु
भएन भेट्न ?”
“अहँ !”
“कोही पनि आउनुभएन त ?”
नपत्याएझैँ गरी फेरि सोधिन् ।
“आएको भए त
देखिहाल्नुहुन्थ्यो नि !”
वीरताले थाहा पाइन्, आमा थला परेपछि सम्झनाले स्कुलको पनि माया मारिछन् । “गाईभैँसीलाई यसै छाड्नुभएन के र !” उनले भनिन्, “सम्झनाको काम मलाई भित्रबाहिर गराउनमै ठिक्क छ । गाई बाच्छा पनि सुकुटी भए ।”
उठ्न खोजिन्, सकिनन् ।
“पहिले शरीर गले पनि मन दह्रो हुन्थो तर अहिले त मन नै छैनजस्तो ।”
सहिदका नाउँमा पैसा आएको सुनेको तर त्यो पैसा सहकारी कि कहाँ राखेको भनिन् ।
“कति भयो स्कुल नगएको ?”
“पोहोर परिक्छ्या दिने बेलादेखि गएकी छैन । उसका साथी २ कलासमा गए ।”
बत्तीको मधुरो उज्यालोमा स्कुले झोला बारनेर ठोकेको कीलामा झुन्डिएको थियो । भान्सा र सुत्ने ठाउँ एकैठाउँ भएकाले झोला धुइसाले अनचिनार थिए ।
“कमरेड कसम कहाँ हुनुहुन्छ ?”
वीरताले चिनेका यो क्षेत्रका ठूला नेता उनै थिए ।
“लिबाङ ।”
“यहाँ नयाँ घर बनाए अनि
लिबाङ गए । ”
“कुन घर ?”
“यै नइय् घर ।”
“अनि, जीतवीर ?”
“घोराही ।”
“सुरेश ?”
“पोखरा ।”
“सुदर्शन ?”
“काठमाडौँ ।”
“अरू कमरेडहरू ?”
“अरब ।”
“कोही नेता छैनन् त गाउँमा ?”
“छैनन् ।”
यति भन्दा दुध्लाको बोटमा बास
बस्ने बेलाका सारी झन् चर्को स्वरमा
कराउँदै थिए ।
दिनभरको कामकाजबारे समीक्षा गर्दै होलान् भन्ने सहजै अनुमान लाउन सकिन्थ्यो ।
झिकौँ कि नझिकौँका बीचमा चाउचाउको पोको सम्झनाको हात पारिन् । उनले ठानेकी थिइन्, सम्झना खुसी हुनेछिन् । सम्झना त चाउचाउ हातमा लिएर निरुत्तर हेरिन् । केही छुटेजसरी टोलाइन् । हेर्न थालिन्, घरि चप्पल त घरि चाउचाउ ।
“मेर्ता खुट्टामा काँरा बिझ्या छ,” यति भनेर दुखेकामा मुख कुच्याइन् । त्यसपछि बत्तीको उज्यालोमा पैताला देखाइन् र खिपले झिकिदिन आग्रह गरिन् ।
कमरेड वीरतासित खिप थिएन । बाहिर निस्किइन् र काँडा नै लिएर गइन् ।
“आँखा पनि कमजोर भए संगिनी…,” कमरेड जुनीले भनिन् ।
“काँडा झिक्ने काँडा भाँचिएर नै झन्डै …”, वीरताले भनिन्, “म त सक्तिनँ, भोलि उज्यालोमा फालम्ला ।”
सम्झनाले भनिन्, “चप्पलमा फित्ता हाल्दिनू न !”
उनलाई थाहा थियो कि चप्पल भए किन काँडा बिझ्थ्यो र !
जुनी त हुक्किहार भइसकेकी थिइन् । वीरताले चप्पलमा डोरो छिराउन थालिन् ।
“यो त भाँगोको रहेछ । पुवाको अलि मसिनो खालको छैन ?” वीरताले सोधिन् । सम्झनाले छैन भनेर टाउको हल्लाइन् ।
“काँडा झिक्ने खिप दुकानमा होला,” वीरताले मनमनै भनिन् । अर्को मनले भन्यो, “यो काँडा त झिकम्ला रे, मनमा बिझेको काँडा नि ?”
वीरताले डोरो हाल्न कोसिस
जारी राखिन् ।
“बाबा भए काँरा फाल्दिन्थे होला” वीरताले पनि नसकेपछि सम्झनाले भनिन् ।
त्यसको प्रतिक्रिया न जुनीले दिइन्, न वीरताले । बरू प्रसंग मोडिन्छ कि भनेर वीरताले वरपर हेरिन् ।
जस्तो थियो पहिले यो घर उस्तै थियो । सबै पुरानिँदै गएजस्तो लाग्यो । चुलोछेउमा राखिएका ससाना तामाका गाग्रा ठाउँठाउँमा कुच्चिएका थिए ।
केही समयपछि सम्झनाले मौनता तोडिन्, “सबले भन्छन्, मेरा बाबासहितले काँरा झिक्ने सुइए र सिप्टी लिएर आउँछन् ।”
जुनी र वीरता मुखामुख गरे । न आउँछन् भन्न सके, न आउँदैनन् ।
विद्रोही, जुनी र वीरता यी सब घर, गाउँ र देशकै अनुहार फेर्ने सपना उनेर ‘जनयुद्ध’मा लागेका थिए । तिनका आँखामा नयाँ घर, नयाँ गाउँ र नयाँ देशको सुन्दर अनुहार थियो । त्यही सपना र त्यही अनुहार सम्झेर त ‘भोलिको घाम सम्झँदै’ क्रान्तिको झरीमा भिजेका थिए ।
“के ती सपना सपना मात्र थिए ?” वीरताको मनमा प्रश्न उठ्यो तर भन्न सकिन जुनीलाई ।
बत्ती धिपधिप गर्न थाल्यो ।
सम्झनाले भनिन्, “जेई, बत्ती मर्न
लाइ गो ।”
त्यसपछि मट्टीतेल राखेको जर्किन
लिएर आइन् ।
“याँ पनि सक्किगिछ,” उनले यति भनिसक्दा बत्ती झ्याप्प निभ्यो ।
सम्झना छामछुम गर्न लागिन् ।
“जान्छस् त सम्झना नरवीरको घरमा पैँचो लिन ?”
“त्याँबट् ता अस्ति लिएको होइन र ?”
“…”
“…”
“उसो भए काँ जान्छस् त ?”
“दि तो !”
फित्ता छिनिएको बायाँ चप्पल खुट्टामा छिराउने असफल प्रयास जारी राखिन् सम्झनाले । सारीको कचहरी सकिएर होला, अँध्यारोमा झरेको बोली हुत्तिँदै बाहिरिँदा झन् टाठिँदै थियो ।
प्रकाशित: आश्विन २९, २०७२
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक)