~दिनेश अधिकारी~
मर्दा पनि म जहाँ हुन्छु बाँकी,
जहाँ फुल्छ लाखौँ सपनाको छाती
नेपाल मेरो यही लाग्छ प्यारो
यो देशभन्दा केही छैन माथि
बोकेर हिँड्दा यो देशको झन्डा
गर्वले शिर अग्लिन्छ आफैँ
माटो यो छुँदा स्वाधीनताको
सुवास चल्छ मभित्र सधैँ
उचालिराख्न यो देशको शान
यौटा पछाडि अर्को छ पुस्ता
माटोमा मुटु रोपेर ज्युने
छातीमा खेल्छ सहिदको आस्था
अर्पण गर्छु म आफ्नो सीप
पसिनामाथि म गर्छु गर्व
हातको ठेला भक्ति हो मेरो
यो देश हो मेरो अनन्त पर्व
धर्म हो मेरो नेपालमात्रै,
नेपालीमात्रै हो मेरो जात
जहाँ पुगे नि नेपाली हुँ म,
म पूर्ण हुन्छु नेपालीमाझ