~रामप्रकाश पुरी~
१
हाँस्दैनन् किन हो हिमाल गरिमा त्यो घाम झुल्के पनि
बाँच्दैनन् किन हो कमाल रचना त्यो रक्त भुल्के पनि ?
फुल्दैनन् किन हो छटा कुसुम पाएर हाँसो खुशी
बोल्दैनन् किन हो कला सिर्जन ती पोखेर उर्जा मसी ??
२
सारा देशभरि अपाङ्ग अधुरो त्यो स्वप्न झुल्ने किन
पाखा खेतभरि छ भाङ धतुरो त्यो दग्ध फुल्ने किन ?
आशैआश गुथी छ तिक्त विपना त्यो घात चल्ने किन
आफ्नै बीच लडी छ युद्ध झगडा त्यो मात हुल्ने किन ??
३
रित्तो पेट लिई समाज सजिने के बन्छ नौलो यहाँ
धोका घात गरी निराश जनता के मुक्ति बन्ला यहाँ ?
अग्लो ताज झरी स्वतन्त्र जगमा के बस्न सक्ला घर
आफैभित्र मरी अबोध मनका के भाग्न सक्ला डर ??
४
हाम्रो मानवता छ रूग्ण विकला आस्था छ मुर्दासरी
हाम्रो देश धरा छ भग्न अखडा नाता छ ढुङ्गासरी ।
हाम्रो खेत गरा छ नग्न पहरा बाँझो छ बारी पनि
हाम्रो पेट कुरा छ विघ्न खतरा नाङ्गो छ सारी पनि ।।
५
बस्नै पर्छ यहाँ समस्त जनको आजाद संसार त्यो
खुल्नै पर्छ यहाँ उदात्त मनको आनन्द आभाष त्यो ।
हाँसोको सरिता बगी सलल त्यो उन्मुक्ति मौलिन्छ नि
माटोको कनिका उठी हलल त्यो समृद्धि फैलिन्छ नि ।।
–काठमाडौँ
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २६ – May 21, 2014 – वर्ष ३१, अङ्क २६ )
