~जीवन शर्मा~
उस्तै छ हामीलाई पिरलो, उस्तै छ हाम्रो अवस्था
उस्तै छ शासन जनतालाई, उस्तै छ फेरि व्यवस्था
फेरिए घुम्ने कुर्चीमा शासन गर्ने मान्छेहरू
फेरियो रङ्ग शोषकको फेरिए लुट्ने मान्छेहरू
उस्तै छ रूप देशको उस्तै छन् दुःखी जनता
उस्तै छ दमन हामीलाई उस्तै छ फेरि व्यवस्था
उस्तै छ हामीलाई पिरलो……………..
फेरिए हामीलाई झुक्याउन शोषणका नौला रूपहरू
गरिबका झुप्राछाप्रामा झुल्केनन् घामका किरणहरू
उस्तै छन् काला कानुनहरू उस्तै छ देशको अवस्था
उस्तै छन् भोका नाङ्गाहरू उस्तै छ फेरि व्यवस्था
उस्तै छ हामीलाई पिरलो……………..
गर्जनै पर्छ वशन्त झन् ठूलो हुँकार बोकेर
उठ्नु नै पर्छ जनता मुक्तिको विगुल फुकेर
सामन्ती जालमा परेर फेरिन्न हाम्रो अवस्था
वर्गीय युद्ध जितेर आउनेछ नौलो व्यवस्था
उस्तै छ हामीलाई पिरलो……………..
रचना \ सङ्गीत : जीवन शर्मा
(स्रोत : “रक्तिमका गीतहरू” – भाग ६ बाट सभार)
