कथा : इमली

~पुष्कर रिजाल ‘पुष्प’~

ढोका अगाडि पिँढीमा बुढीआमा अघिदेखि लगातार खोकिरहेकी थिइन् । भर्याङमुनिको ओच्छ्यानमा इमली सुतेकी, काखमा सानो छोरो दुध तान्दै र रुँदै गरेको टिठलाग्दो दृश्य थियो । ऊ बेलाबेला अर्को दुध फेथ्र्याे ।

साउने पखाला थामिए पनि गाउँमा फेरि भदौको दोस्रो सातामै रुघाकाँसोले महामारीको रुप लियो । रुघा बिग्रेको दुई तीन दिनमा ज्वरोले समात्थ्यो । पाका बुढाबुढी रुघाको ज्वरो भनेर रुदेलो, तुलसी आदि उमालेको पानी वा बेसार–पानी पनि खान्थे । डाक्टरी उपचारमा कोही लागेनन् । बुढी आमा यही पानी खाएर अलिक बिसेक भएर हो कि आज पिँढीसम्म आउन सकिन् ।

दोपहर भइसके पनि यिनीहरूले खाना खाएका थिएनन् । बिहान पकाएको आटो तिउन चिसियो । कसैलाई खाने मनै थिएन । इमलीका ठुलाथरि दुई छोरी र छोरो ज्वरो अलि थामिएकाले स्कुल गएका थिए । भित्र सानो बच्चा फेरि नमिठो चित्कार छाडी रुन थाल्यो । ‘कति रुवाउँछेस् ए, तेरो छाउरोलाई । पाउन जान्छेस्, जाबो एउटा नानी फकाउन सक्दैनेस् ।’ झिँजो मानी बाहिर खोकिरहने बुढी एकाएक पड्किइन् । इमलीको कुनै प्रतिक्रिया आएन । ऊ सुतिरही । पाता बसेका गालानिर गहिरा खाल्टामा गडेका आँखा मौन थिए । आमा जतिसुकै दुब्ली र कमजोर भए पनि बच्चाले दुध चुस्न छाड्दैन, बरु रोइदिन्छ झगडा गरेर ।

बिहानै निस्केको गोरेको अझै पत्तो थिएन । स्कुले केटाकेटी साँझतिर फर्किए । झोला एउटा कुनामा थन्काएर उनीहरूको ध्यान अगेनामा डोसेको कसौँडीको आटोमा पुग्यो । आगो सल्काई तात्तातो बनाएर एकैछिनमा भाँडो रित्ताए । धुवाँले गर्दा सबैका आँखा रसाए । उनीहरू एकछिन खेलेर साँझ खाने कुराको बन्दोबस्त गर्दै थिए । झमक्क भएपछि बाचाहिँ भित्र छिर्यो । उसका खुट्टा सही सलामत थिएनन् ।  ऊ स्वास्नी र केटाकेटीमाथि खनिदै थियो ।

यो गोरेकोे साँझपखको नित्य कर्म नै बनेको थियो । घरै उचाल्ला जस्तोे बोलिले काखको बच्चा रुन थाल्यो । बच्चा रोएपछि उसको पुरै रिस अब स्वास्नीमाथि पोखियो । इमली अझै पल्टेकै थिई । ‘बडो नाटक गर्छे, सधै बिरामी, ..मरेको जुनी … उठ् ए राँड..।’ इमलीको अझै कुनै प्रतिक्रिया आएन । अब गोरे उसमाथि झम्टियो ।

इमलीलाई यतिबेला ज्वरो थिएन । चिसो थियो उसको शरीर । गोरे एकाएक रोकियो । ‘ए.. इमली’.. उसले अलि मसिनो गरी बोलायो । अब ऊ बडो असमन्जसमा परेजस्तो देखियो । ‘आमा..’ उसले आमालाई एकाएक गुहारेर बोलायो । बुढी आमा चलमलाइन् । ‘के अलछिन गर्छ यो सधै.. मर्न नसकेको..’ बुढीले गनगनाइन् । ‘उठ न एकछिन ..इमलीलाई के भो’ ऊ हतास स्वरमा चिच्चायो । रक्सीको नसा अब पुरै उत्रियो । केटाकेटी आत्तिएर आमालाई झक्झकाउन पुगे तर अँह, इमली उठिन । काखको बालक अझ चुस्दै थियो….उसकी आमा स्वर्ग पुगिसकेको के थाहा उसलाई । घर अब रुवाबासीले गुन्जियो । एकएक गर्दै छिमेकीहरू थपिए । उनीहरू आपसमा कुरा गर्दै थिए ।

 ‘इमली सोझी र निकै कामदार हो,’ एउटाले भन्यो । ‘यो घरमा मान्छेजस्ती यही थिई । बाँचुन्जेल पोइको कुटाइ, सासुको टोकसो र केटाकेटीको स्याहारले जीउ देख्न पाइने । हाड र छाला बेरिएको शरीरले माया, सुख के हो ? चिन्नै  पाएन,’ अर्को बोल्यो । ‘दुःख लुकाई बिचरी’ इमलीप्रतिका यी समवेदनाका स्वर नसुनोस् भने पनि कालेका कानसम्म हुनहुँनाउँदै पुगे । मुटुमा केही रोपिएझैँ ऊ छटपटाउन थाल्यो !

(स्रोत : समाचार दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.