पुस्तक समीक्षा : नारीहरूले पढ्नै पर्ने पुस्तक

~अशोक थापा~

नेपाली पुस्तक बजारमा रङ्‌रङ्‌का किताबहरू प्रकाशन हुने होड नै चलेको छ अचेल । ती विविध रङ्भित्र विषयवस्तु र विधाक्षेत्रको आआफ्नै बान्की हुने गर्छन् । कहिले साहित्य त कहिले गैरसाहित, अनि कहिले आख्यान त कहिले गैर आख्यान । यस्तै यस्तै रङ्गीन बैगैँचा हो नेपाली पुस्तक बजार । तर पनि गतिलो पठनीय पुस्तक भेट्दै भेटिएन भन्ने पाठकको गुनासो पनि पुस्तकको हाम्रो समाजमा गुन्जिरहने एउटा सदावहार आवाज हो । हालै नारी अनुभूतिलाई जीवन्त रूपमा सम्प्रेषण गर्ने गरी एउटा पुस्तक प्रकाशित छ । पुस्तकको शीर्षकको छ स्वअस्तित्वको खोजी र सम्पादक हुन् अर्चना थापा । सोही पुस्तकको पाठकीय समीक्षा गरिँदै छ यहाँ ।
जम्मा अठतिस जना नारी लेखकहरूको पृथक् पृथक् अनुभूतिलाई स्वतन्त्र लेखका रूपमा यस पुस्तकमा विन्यस्त गरिएको छ । यस पुस्तकको मूल उद्देश्य हाम्रो समाजमा नारी भएकै कारण गुमाउनु परेको स्वत्व, अस्मितामा लागेको दाग, गर्नु परेको सङ्घर्ष अनि भोग्नु परेको अपमानको उजागर गर्दै अस्तित्व रक्षाका लागि गर्नु पर्ने मूल मन्त्रको सम्प्रेषण गर्नु हो।हाम्रो सामाजिक संरचना र संस्कारका आडमा नारीले भोग्नु परेको वास्तविक कथालाई जस्ताको तस्तै रूपमा उठाउने प्रयास यस पुस्तकमा गरिएको छ।

यस सँगालोमा अर्चना थापाको – एक साँझ …, अम्रिता लम्सालको – आफू उत्ताउली भएपछि यस्तै हुन्छ, अल्का चुडालको – म त छोरी पो रहेछु, इन्दुतुलाधरको – के हो मेरो सफलताको मापदण्ड?, उमा सुवेदीको – बिरिङ् खोलामा एक दिन,  कल्पना बान्तवाको – मन छुने नछुनेहरू,   कुमारी लामाको -एउटा धमिलो सम्झना…, गीता त्रिपाठीको – जडवत समयका नाममा, गीता पन्थको – जीवन समय झैं,ज्योति जङ्गलको – डायरी पाना नं ३५२, तारा चाम्लिङ्को – काठमाडौं अध्याय, तृष्णा कुवँरको – नारी कि पुरुष, निशा के.सीको – बार्दलीको त्यो क्षण, प्रतीभा पुनको – त्यो बिहानी पक्कै आउने छ, बबिता बस्नेतको – त्यो एउटा सम्झना, भवानी क्षेत्रीको – म दोस्रो विवाह गर्छु, मञ्‍जु थापाको – आफ्नै प्रतिबिम्ब, मञ्जु बिमलीको – ह्याप्पी बर्थ डे मञ्‍जु, मनिषा गौचनको – झुट बोल्दै आफ्नै छोरीसँग, मन्दिरा कोइरालाको – हुना हनामो दैव नटारे, ममता शर्मा नेपालको – मेरो अनुभूति, माया ठकुरीको – आमाहरू,  मेनुका थापाको – मेरा आँखामा मेरी आमा, मोमिला जोशीको – ईश्वरको अदालतबाट निर्वासित आउट साइडर, रजनी ढकाल- म, असार र अनुभूति, बजयन्ती मिश्रको – मैले सुनाउनै पर्ने, शकुन्तला जोशीको – इज्जत: सियोको टुप्पो र पानी पोखा, शर्मिला खड्का दहालको – मेरा आफ्नै कथाका पात्रहरू, शर्मिला रानाभाट बास्कोटाको – उनी र म गमगढीमा, शारदा शर्माको – शरीर र संवेदना, सिला सेनको – कङ्क्रिटको जङ्गलमा रुमलिँदा, सिता भट्टराई सिताजीको – म हिँडेको बाटो,सिमा आभासको – पोते किन नलगाएकी? सुधा त्रिपाठीको – सङ्घर्षका पलपल, सुस्मिता नेपालको – जीवनका उज्याला प्रकाशहरू बटुल्ने कोसिस, हरिमाया भेटवालको – स्मृति भित्र, उषा शेरचनको – कठपुतली म र सुलोचना मानन्धरको – खाना पखाउँदा पकाउँदै शीर्षकका लेखहरू समावेश छन्।

लैङ्गिक विभेदको अन्त्यका लागि यस पुस्तकले दह्रो सन्देश दिने कुरामा कुनै शङ्का छैन।यस सङ्कलनमा कुनै न कुनै रूपमा महिलाले नारी भएकै कारण भोग्नु परेको यौनजन्य र सामाजिक शोषणजन्य हिंसाका विषयमा प्रकाश पारिएको छ।सामन्य महिनावारी हुँदाका समस्यादेखि, अपहरण भएर बलात्कृत हुनु परेको घटनालाई पनि यस पुस्तकमा समावेश गरिएको छ।बालिका भएकै कारण सुरक्षा फौजबाट यौनजन्य शोषणमा पर्नु पर्ने कुराको उल्लेख पनि यस पुस्तकमा गरिएको छ।पुरुष भएकै कारण बहुपत्नी बटुलेर नारीलाई अपमानित गरेको सन्दर्भ पनि यस पुस्तकको मार्मिक पक्ष हो। आजको पुस्ताले पाश्‍चात्य शैलीमा जन्म दिन मनाउने चलन र आजको अभिभावकको वाध्यताजस्ता घटनालाई निकै मार्मिक रूपमा यस पुस्तकमा उल्लेख गरिएको छ।आफू उत्ताउली हुँदा शीर्षकको लेखमा सुरक्षा फौजबाट बालक कालमा भोग्नु परेको यौन शोषणको निकै कहाली लाग्दो घटनालाई उल्लेख गरिएको छ।म त छोरी पो रहेछु जस्ता शीर्षकले छोराको महथत्त्व समाजमा अधिक भएका कारण नारी मानसिकतामा पुगेको आहतका विषयमा प्रकाश पारिएको छ।बिरिङ् खोलामा एक दिनजस्ता शीर्षकका लेखले महिला सङ्घर्ष अनि कुल्ली काम गरेर भए पनि आफ्नो आकाङ्क्षा पूरा गर्नु पर्ने सन्दर्भलाई उल्लेख गरेको छ। अहिले सफल हुँदाको रोमाञ्चक सन्दर्भ र रेडियो सुन्नका लागि गर्नु परेको पेचिलो सङ्घर्षलाई यस लेखमा उल्लेख गरिएको छ।हरेक लेखका आआफ्नै मूल्य र महत्व भने उत्तिकै छन्। धमिलो सम्झनाजस्ता शीर्षकमा आमाले सन्तान जन्माउँदा आफूले अनुभूत गरेको यथार्थलाई प्रस्तुत गरिएको छ।झुट बोल्दै आफ्नै छोरीसँग जस्ता शीर्षकले नाबालिका छोरीको माया मारेर परस्त्रीसँग लहसिँदो पुरुषको यथार्थ घटना प्रस्तुत गरिएको छ।कतिपय लेखहरू ग्रामीण परिवेश र वुहार्तनका बाबजुद पनि आज उच्च ओहोदामा पुगेका नारीहरूको सक्सेस स्टोरीका रूपमा यस पुस्तकका लेखहरू आएका छन्।नारीहरू पनि लेख्न सक्छन्।नारीहरू पनि आफूलाई लागेको कुरा हाकाहाकी बोल्न सक्छन् भन्ने भाव यस पुस्तकले अभिव्यक्त गर्छ।

जति घटनाहरू यस पुस्तकमा समावेश गरिएका छन् ती नेपाली नारीहरूको प्रतिनिधि विचारको स्याम्पिङ् मात्र हो।जति पनि तीता यथार्थहरू यहाँ प्रस्तुत गरिएका छन् ती एक छेउ पनि होइनन्।हाम्रै समाजमा नातिद्वारा हजुर आमा बलात्कृत भएको घटना काठमाडौँमै सेलाउन पाएको छैन, छोरी भएर खोलामा फालिएला पर्वतका दुई स्कुलै नानीहरूको चित्कारको गुञ्‍चन साम्य भएको छैन, छोरीको टाउकोमा ढुङ्गाले हिर्काएर मारेको हेटौंडाको घटना कायमै छ।पुजारी बाबुद्वारा छोरीको बलात्कार गरेको घटना पनि काठमाडौँ नजिकैको हो।बलात्कार गरी भिडियो नेटमा अपलोड गर्ने तीन जनालाई अगिल्लो महिनामात्र प्रहरीले समातेको घटना ताजै छ।गीता ढकाल जस्ता नारी नारी भएकै कारण एस्. एस्. पी जस्तो उच्च ओहोदाको पुरुषबाट जल्नु पर्ने घटना कहिल्यै यथार्थ रूपमा सार्वजनिक होलान्? वैदेशिक रोजगारमा गएका नरीहरूको पीडा यति विकराल छन् जुन हाम्रो कल्पना भन्दा  पनि बाहिर छ।त्यसको खोजी अनि प्रलेखन कस्ले गर्न सक्ला? बुहारी बलात्कार गर्ने ससुराहरूको कथा लेखिनै बाँकी छ।बौद्ध भिक्षु (आनी) बालात्कृत भएको घटना पनि हाम्रो समाजमा नभएको होइन। यसका साथै घरेलु हिंसा, कुटपिट,बहुविवाह,  मानसिक यातना, ज्यान मार्ने धम्की, सामाजिक हिंसा, बोक्सिको आरोप, छिमेकीबाट मानसिक यातना, हत्या, बिचविखन, यौनिक हिंसा जस्ता यावत् सूचकका आधारमा एकएक फिचर बन्ने विषयवस्तु हाम्रै अगाडि कति छन् कति।यस प्रकृतिका किताबमा यावत् महिला हिंसाको वास्तविक चित्र आउन सकेको खण्डमा मात्र त्यसलाई ऐतिहासिक काम भन्न सकिन्छ।जे जति अर्चना जीले गरिन् त्यसलाई कुशल अभ्यासका रूपमा लिएर आगामी दिनमा अझ सशक्त विषयवस्तुका पुस्तकको अपेक्षा नगर्ने र?

पुस्तक: स्वअस्तित्वको खोजी
सम्पादक: अर्चना थापा
प्रकाशन वर्ष: २०६८
प्रकाशक: अक्षर क्रियसन्स, नेपाल
मूल्य: रू.३५०
ISBN: 978-9937-8558-0-8

-अशोक थापा, उप-प्रा  
नेपाली केन्द्रीय विभाग, कीर्तिपुर

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.