कथा : मेरी मुना

~मनोहर काफ्ले~

अम्बिकापुर बाट तीनसुकिया को लागि बिहान ६ बजे नै बस छुट्थ्यो ।चिसो बिहानी, बसको हर्न सुन्ना साथ् म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरी अर्को बस ३ घण्टा पछी अर्थात ९ बजे मात्र थियो र दोस्रो बसमा मलाइ गन्तव्यमा पुग्न ढिलो हुने थियो । ब्रह्मपुत्र नदीमा पुल भएकोले घर बाट सिधै तिनिसुकिया आउजाउ गर्न सजिलो भएको थियो ।

लामो यात्रा भएकोले यात्राको आनन्द  र खल्लोपना छेवैमा बस्ने सहयात्रि र उसको आनी बानि मा  भर पर्थ्यो । मेरो कामना थियो ‘ एक सुन्दर स्त्री संगैको सिटमा भए यात्राको मज्जै बेग्लै हुन्थ्यो’। ‘बाटो भरि मिठा मिठा साहित्यिक कुराहरु गर्ने ति सहयात्री भै दिए झनै सुगन्ध थपिने थियो’। ‘ खुलेर कुरा गर्ने, सहयात्रीको चासोको बिषय मा कुरा गर्ने, साथै आवस्यक मात्रामा कुरा गर्ने भए त झन् कति राम्रो हुने थिएँ ।

पहिले पनि यस्ता लामो दुरीमा भेटिने र संगैको सिटमा बस्ने सहयात्री बाट आसा गरेझै कहिलै पनि भएको थिएन । अविवाहित र लक्का जवान हुदा पनि यस्तै काल्पनिक सुन्दर सहयात्रीको कामना गर्दा गर्दै पनि भागमा पर्दथ्यो कि त मोटी र फोहोरी हजुरआमा भन्न सुहाउने आइमाई , जो संग संगै यात्रा गर्दा सिटमा च्याप्पियेर बस्नु पर्थ्यो ,उकुस मुकुस भएर टर्चर सहि बस्नु पर्थ्यो या त बाहिर निस्किन ठुलै संघर्ष गर्नु पर्थ्यो । धरै पल्ट त फोहोरी मान्छे हरुनै परेका थिए जो कि त धुम्रपान , मद्यपान का  अम्मलि थिए या बाटो भरि पान चबाउदै झ्याल बाट बाहिर मुन्टो निकाली थुक्ने गर्थे । कहिले काही यात्रा यति बोझिलो हुन्थ्यो कि कोहि तलबाट गन्हाउने हावा ओकली रहेका हुन्थे भने अरु कोहि माथिबाट खाएको पानि र अन्न ।

यस्तै कुरा हरु सोच्दै र असल सहयात्रीको कामना गर्दै बस भए ठाउमा पुग्छु , टिकट लिन्छु ।टिकट अनुसार आफ्नु सिट झ्याल पट्टि बसको मध्यभाग तिर हुन्छ , त्यहि गएर बस्छु । छेउको सिट अझै सम्म पनि खालि नै थियो । अरु अगाडी र पछाडिका सिट हरु भने प्रायजसो ओगटी सकेका थिए । गाडी हिड्ने मात्र अब ५ मिनट बाकि रहेको गुरुजी बाट थाहा भयो ।खलासी भाइ पनि बस जाने बेला भयो , छुट्नु होला है भन्दै कराई रहेको थियो । यसै बीच खलासीभाइ देउरीगाउ, बिलकिनार, राज आली भन्दै अरु अरु बाटोमा पर्ने ठाउका नामहरु नछोडी फलाकि रहेको थियो । म भन्दा अगाडिको सिटमा भने एक जोडी कहिले कानमा साहुती गर्दै कान टोकाटोक गर्दै थिए भने कहिले लाजै नमानी ओठ मा ओठ जोड्याउन पुग्थे । पछाडिका यात्रुहरुका आखाँ भने सबैजसोको तिनीहरुको क्रियाकलापमा नै केन्द्रित थियो ।

रातभर तास खेल्ने मानिसहरुको गुनगुन र चिच्याहट ले झिपिक्क सुत्न पाइएको थिएन । चाडबाड मा हल्ला नगर भन्न पनि मुनासिब लागेन , त्यसैले ३ प्याग जति लोकल रक्सि तानेर निन्द्रा फकाउन भरपुर प्रयास पनि नगरेको हैन तर पनि निन्द्रादेबिको आगमनको प्रतिक्ष्या मै बिहानको कुखुरा बासेको थियो । बल्लतल्ल यसो आखाँ लागेको मात्र के थियो , आमा ले ओछ्यान मै चिया ल्याउदै भन्नु भएको थियो “ छ बज्न लाग्यो उठ , दिब्रुगढ़ जाने भनेको हैन? गाडी ले पहिलो हर्न बजाई सक्यो” । हत्त पत्त गरेर मुख धोई चिया खादै ब्याग बोकेर निस्किएको थिएँ ।

मेरो छेवेइको सिट अहिले सम्म खालिनै थियो र बस पनि गुड्न सुरु गरेको थिएन । म भने रात भरिको अनिधो मै झ्याल बाट बाहिर हेरी रहेको थिए , कात्तिक महिनाको हल्का चिसो हावा झ्यालको खुलेको सिसा बाट आइ अलिक फ्रेश गराउदै थियो । निकै समयपछि मात्र बस गुड्न सुरु गर्यो , ढोका तिर हेरेको थिएं , एक जना महिला हस्यांग फस्यांग गर्दै बसमा चढीन र मेरो सिट छेउको खालि स्थानमा आएर बसिन । त्यसरी हतारिएर बस्दा उनको शरीरको धेरै जसो भागले मलाइ स्पर्श गरेको थियो । उनको सास छिटो छिटो चलिरहेको थियो तर अनुहार भने देख्न पाएको थिइन् , न त उनले नै मेरो । त्याहा के महसुस भयो भने , त्यो सुबास , त्यो महक मेरो परिचित थियो । मलाइ खुलदुली भयो , उनि को हुन् , मलाइ किन उनको सामिप्यता परिचित र मिठो लागेको छ ?

अझै पनि उनि आफ्नो साडी मिलाउदै सजिलो तरिकाले बस्न प्रयासरत थिइन् , आफ्नु भित्रि बस्त्र मिलाउदै थिइन् ,मुखमा कपाल च्याप्ने क्लिप दातले टोकी केशराशी समेट्दै थिइन् , हतारमा अनुहारमा लगाएको पाउडर हातले रगड्दै थिइन् र ओठमा लत्पतिएको लिपस्टिक मोबाइलको स्क्रिनमा हेर्दै पुछ्दै र मिलाउदै थिइन् । उनले लगाएको त्यो पाउडरको बास्ना संग कता कता  म परिचित थिएँ ,त्यो केशराशी मेरो परिचित थियो , त्यो म पट्टि फर्किएको कान साथै कनसिरी र गाला मेरा परिचित थिए । उनि को हुन् भन्ने मैले अनुमान लगाउने प्रयत्न गरेता पनि मानसपटलमा कोहि पनि त्यस्तो व्यक्ति आइ रहेको थिएन । सिधै अनुहार हेर्ने पनि आट गरिन न त सोध्न नै , तर उनको शरीर बाट आइरहेको सुबास भने पक्कै मेरो परिचित हुनु पर्छ ।

यातिन्जेल सम्म बस पनि गुडीसकेको थियो । यात्रा मैले सोचेको या कामना गरे भन्दा धेरै रोमान्चक हुने निश्चित थियो यदि ति महिला मैले सोचेको व्यक्ति थिइन् भने । मैले नजानिँदो तरिकाले उनलाई नियालें , हातहरु हेरें ,म पट्टि फर्किएको चिउडोमा भएको कोठी तथा त्यहा पलाएका रौहरु हेरे , घुन्ग्रिएको केश , मोटा मोटा र छोटा पुटुक्क परेका औलाहरु, सानो तिखो नाक त्यसमा धेरै सानो टल्किएको फुली , मिलेको घाटी जाहा भित्रि बस्त्रको कालो फिता कलेजी रंगको ब्लाउज बाट अलिकति बाहिर पट्टि  चिहाइ रहेको थियो , त्यसले कसिलो गरि थिचिएको नरम र गोरो छाला पनि मेरो परिचित थियो । उनको निस्फिक्री र अरुको मतलब नगरी बस्ने प्रबित्ति , हाव भाव र फेर्ने सास नै मेरो सायद कुनै समयको ढुकढुकी हुनुपर्छ , नत्र किन उनि यति आत्मीय र परिचित लागि रहेकी थिइन् ।

यतिन्जेलसम्म मा बसले आठ्माइल , कुंडील हुदै इस्लाम्पुर तिर लागि रहेको थियो । इस्लाम्पुर बाट पनि केहि यात्रुहरु बसमा चढेका थिए सायद बरगढ़ा , चापाखोवा या सान्तिपुर तिर का यात्रु चुनपुरा जाने बसबाट आएर इस्लाम्पुर मा बस परिबर्तन गरेका हुदा हुन् । बस पून सडकमा भएका खाल्डा खुल्डिलाई छल्दै  बेग गतिमा दौडिरहेको थियो, जसले गर्दा कहिले उनि आफ्नो शरीरको सम्पूर्ण भार म मा बिसाउथीन त कहिले म । हल्का जाडो मौसममा  उनको न्यानो सामीप्यले मिठो अनुभव भै रहेको थियो । म झ्यालबाट बाहिर हेरिरहेको थिएँ ,कहिले काही उनि तिर पनि फर्किन्थें ,तर अझसम्म पनि उनि सिटमा अडेश नलागी मोबाइल घोची रहेकी थिइन् । सायद उनले मलाइ देखि सकेकी थिइन् , चिनी सकेकी थिइन् र संगैको सिटमा परेकोमा पश्चाताप गरिरहेकी थिइन् । म संग गफ गर्नु नपरोस भनेर नदेखेको , नचिनेको नाटक पो गरिरहेकी थिइन् कि !

तर मलाइ भने उनको सामीप्यले कल्पना गरे भन्दा कैयोउ गुणा आनन्दको अनुभूति दिइ  रहेको थियो । उनले पहिले देखिनै प्रयोग गरि रहने स्याम्पोको  महक, केशमा लगाएको मेहंदिको सुबास साथै प्रयोग गर्ने गरेको तेलको बास्ना ले मुना नै भएको पुस्टि हुन्थ्यो त्यसैले म अझै धेरै रोमान्चित भै रहेको थिए । उनको देब्रे हातको माझी ओउलामा कलम ले बनाएको खाल्डोले भनि रहेको थियो , उनि अहिले सम्म कलम चलाई रहेकी थिइन् । अनुमान गरें , या त उनि शिक्षिका थिइन् या पत्रकार नत्र साहित्यिक विधामा कलम चलाउने साहित्यकार ।

मैले उनलाई चिनी सकेको थिएँ , उनि आफ्नै मुना थिइन् , म संग गहिरो प्रेम गर्ने मुना , एक अर्का संग संगै मर्ने र संगै बाच्ने कसम खाएकी प्रिय मुना । म पट्टि देखिएका उनका आखिभौ अहिले पनि त्यस्तै नै थिए , त्यो चिउड़ो देखि बायातिर भएको कालो कोठीमा पलाएको रौ आज पनि २२ बर्ष अघि जस्तै थियो । मैले हेर्ने प्रयास गर्दा पनि देख्न नसकिरहेको आखामा पनि सायद पहिले जस्तै मिलाएर लगाएको गाजल हुदो हो जो अकसर हल्का लत्पतिएको हुन्थ्यो , दुइ आखिभौ बिचमा लगाएको सानो गोलो टिका पनि रातै रंगको हुदो हो साथै अनुहारमा भएका अनावस्यक हल्का रौहरु ब्लिचिंग गरेर नदेखिने बनाएकी हुदी हुन् । उनका घाटीमा भने पहिले जस्तै सानो सुनको सुक्री टल्की रहेको थियो र त्यसमा उनका केहि केशहरु बेरिएका थिए ।

उनलाई कर्के आखाले घरि घरि नियाल्दै झ्याल बाहिर हेर्दै थिएँ, बयेरका रुखहरु जताततै लटरम्म पहेला राता र हरिया फलहरुले निहुरियेका थिए ।  बस शदिया हुदै ब्रह्मपुत्र नदीमा रहेको देशकै लामो पुलमा आइ पुगेको रहेछ । परैबाट ठुलो बोर्ड मा लेखिएको थियो भुपेन हाजरिका ब्रिज , लम्बाई ९ /१५ किलोमीटर । कतै खोलाको हरियो पानी बेगसंग बगिरहेको थियो त कतै खोलाको बालुवै बालुवाले  भरिएको बगर । टाडा टाडा भने गाइ भैसीका गोठहरु देखिन्थे र ठाउ ठाउमा गाइ भैसिहरु चरिरहेका , भैसी खोलाको किनारामा आहाल खेलिरहेका , माझीहरु गित गाउदै जाल हानिरहेका , कोहि दाउरा संकलन गरिरहेका र चराहरु हुलका हुल उडी रहेका थिए । डाइबर दाइ ले भने भर्खरैमात्र निस्किएको मिठो लोकल भाकाको गित बजाई रहेका थिए,

 “ धला खदियार दलंग होल ,भुपेन दार खेतु होल ,

  खदियानुकी रिंग एटार बाटे होल, टुलुन्गार नाउ हरु बिलिन होइ गोल ,

  मा आमी खदियालोइ जामेई, मा आमी खत फुल खामेई”

उनलाई फेरी मुन्टो नघुमाई केवल कर्के आखाले मात्र हेर्ने प्रयास गरें , उनले आफ्नो ब्यागमा  केहि खोजि रहेको पाएँ ,केहि निकालेको अनुमान गरें । प्लास्टिकको खोलबाट केहि निकालेर खाएकी थिइन् , केहि क्षण पछिनै आएको गन्ध बाट थाहा भयो त्यहि पहिले जस्तै चबाई रहने , फुलाई रहने , र फुटाइ रहने चुंगगम मुखमा हालेकी रहिछन । चबाउदा हल्लिएको गालाको हड्डी कन्सिरी हुदै टाउकाको केहि माथिसम्म अनुमान लगाउन सकिन्थ्यो । अझै पनि उनि झ्याल पट्टि हेर्दै नहेरी मेरो आडैमा टासिएर मन्दमंद  चुइंगम को बास्ना छर्दै मोबाइल खेलाउदै बसी रहेकी थिइन् । मैले चाहेको थिये, उनि सिटमा मुन्टो अड्याएर अडेस लागेर बसुन अनि केहि लामो सास फेर्दै निदाउन , मेरो काधमा उनको टाउको ढल्किएर अडेस लाग्न आओस अनि उनलाई सहारा दिन पाउ जसले गर्दा उनको निन्द्रा नखल्बलियोस् । गाडीको झ्यालबाट आएको हावाले केशरी रंगको कपाल लाइ मेरो अनुहार भरि छरिदियोस र उनको स्वास र कपालको महक लाइ पान गर्दै यात्रा अवधि स्मरणयोग्य बनाउने सौभाग्य मिलोस । यतिन्जेल सम्ममा करिब १० किलोमिटर लामो पुल पार गरेर गाडी सैखोवा हुदै धौला आइ पुग्न लागेको थियो ।

“तिमि मुना घिमिरे हैनोउ?” मैले मनमनै प्रस्न हरु त्ययार गर्न लागेको थिएँ र सम्भावित उत्तरहरू पनि आफै कल्पना गर्दै रच्न लागेको थिएँ ।

“हजुर” उनले कुनै आश्चर्य बिना सजिलै उत्तर दिएकी थिइन् ।

“सन्चै छोउ नि ? काहा सम्म हिड़ेउ?”

“कसैलाई मेरो सन्चो बिसन्चोको किन खाचो , बिसन्चो छु भने पनि कसलाई के फरक पर्छ र?”

“अपरिचित सङ्ग त संच बिसन्च सोध्न मिल्छ भने , तिमि त मेरो ————–“

“के भन्न खोज्नु भएको माहासय,” उनले अलिक कड्किएर रुमालले मुख छोपेर मेरो अनुहारतिर हेरेकी थिइन् , मलाइ उनको यस्तो प्रतिक्रिया ले अप्ठ्यारोमा पारेको थियो , “ हजुर को हो ,म हजुरलाई चिन्दिन” उनले वाक्य पुरा गरेकी थिइन् ।

मैले अरु धेरै प्रस्नहरु गरेर उनलाई चिढ्याउन चाहिंन । अरु प्रश्नहरुले सायद उनलाई क्रुद्ध बनाउन बेर थिएँन , बसका मानिसहरुले हामीपट्टि आकर्षित भएर हेरेको म चाहदिन थिएँ , चाहन्नथे अरुको समालोचनाको पात्र बन्न , न त चाहन्थे सहानुभूतिको । बास्तवमा अहिले सम्म न मैले उनलाई केहि सोधेको नै  थिएँ,न त उनले नै केहि बोलेकी थिइन् ।

यतिन्जेल सम्म बसले धौला बसपार्क छिरी सकेको थियो ।खलासी भाइले मुखमा पान चबाउदै अस्पस्ट भाषामा भनि रहेको थियो “खाना खान बस २५ मिनट रोकिन्छ , ट्वाइलेट हरु गर्नु परे यहि झर्नु  होला , फेरी बाटोमा बस रोकिने छैन”। उनि सारी सम्हाल्दै बस बाट ओर्लिन लागिन , म पनि उनको पछी पछी गाडी बाट ओर्ले ।

पछाडिबाट हेर्दा उनि २२ बर्ष पहिलेजस्तै देखिएकी थिइन् , केवल हिप अलिक उचालिएको थियो । उही मन्द चाल सुरक्षित साथ् पाइला टेकीरहेकी थिइन् ताकी उनको तिखा चप्पलका हिलले कसैको अनिस्ट नगरोस । उनि सरासर महिला बाथरुममा लाइन बसिन, म पनि पुरुष बाथरुममा । सायदै हाम्रो पालो सङ्ग संगै आएको हुनु पर्छ , निस्किदा पनि सङ्ग संगै भयोऊ । म अलिक अघि परें , सायद अब मलाइ पछाडिबाट नियाल्ने पालो उनको थियो होला । म एउटा होटलको  टेबल अगाडी गएर बसें, उनि पनि मेरै छेउमा आएर बस्न कर लाग्यो किन भने त्यो होटल मा अरु टेबल मानिसहरुले भरिभराउ थियो । फेरी पनि उनि मेरो देब्रेतिरको कुर्सिमानै थिइन् , अघि बसमा बसे जस्तै , न उनको पुरा अनुहार अहिले सम्म देख्न पाएको थिएँ न त बोल्न नै ।

उनकोलागि पनि केहि मगाउन म हिच्किचाइरहेको थिएँ , संकोच मा थिएँ ,कतै मैले अर्डर दिएको कुरा सिधै अस्विकार गर्लिन । आफ्नो लागि एउटा सिङ्गडा र चिया मगाएँ । मलाई थाहा थियो उनि लस्सी मन पराउछिन, उनले त्यसै गरिन , वेटरलाई एक गिलास चिसो लस्सी ल्याउन भनिन । वेटरले उनको लागि चिसो लस्सी र मेरो लागि सिङ्गडा र चिया तुरुन्तै संगसंगै ल्यायो । वेटरको नजरमा सायद हामी बिबाहित दम्पत्ति थियोउ । उनले प्लास्टिकको पाइपले बिस्तारै कुनै आवाज नगरी गालामा डिम्पल पार्दै चिसो लस्सी तान्न थालिन भने मैले पनि सिङ्गडा खादै ठुलै आवाज निकालेर सुरुप सुरुप पार्दै तातो चिया । एक आपसमा बोल्ने प्रयत्न न त उनले गरिन न मैले नै गरें ।

उनले लस्सी खादै गर्दा चियाएर हातहरु हेर्दै गएँ , उही नरम हात , गोरो छाला , चौडा अलिकति उठेको गोरो सुहाउने निधार , सायद आखामा पनि उही पहिलेको चमक थियो । म पट्टि फर्किएको दाहिने आखामा अलिकति गाजल लत्पतिएको थियो । उनको लवाइ खवाई र हेराइमा जो कोहिले अनुमान लगाउन सक्थ्यो कि उनि सुखी र संभ्रान्त परिवारबाट बिलंग गर्छिन । उनीलाई सुखी देख्दा मलाइ पनि गर्ब महसुस भएको थियो , उनि म संग भएकी भए त्यत्ति खुसि दिन पक्कै सक्दिन थिएँ किन भने म अझै सम्म पनि संघर्ष नै गरि रहेको थिएँ । उनि राम्रो परिवारकी बुहारी भएको कल्पना गरें सायद उनका श्रीमान सरकारी कर्मचारी या सफल ब्यापारी होलान । कता कता मनभित्र जलन पनि भयो र आफैलाई हिनताबोध पनि ।

मैले चिया सक्काएर काउन्टरमा आएँ ,अलिक परै बाट वेटरले टेबल नम्बर ७ को जम्मा ३ आइटम  ७० रुपिया भनेर जानकारी दियो । मैले  उनले पिएको लस्सिको पनि पैसा तिर्न पाउदा अति खुसि भए , वेटरको कुरो उनले पनि सुनेकी थिइन् होलि , मैले उनको सहित पैसा तिर्दै गरेको देख्दा प्रतिबाद पनि गर्दै थिइन् होलि , तर मैले पछी फर्किएर हेर्दै नहेरी गाडीमा आफ्नु सिटमा आइ बसें र सन्तोस को सास फेरे साथै उनि आउने बाटो व्यग्रताका साथ् हेर्न थालें ।

उनको प्रतिक्षामा डर पनि मिस्रित थियो , डर यसकारण कि गाडीमा चड्ने बित्तिकै सबैले सुन्ने र देख्ने गरि चिच्याउदै म माथि आइ लाग्ने हुन् र भन्ने हुन्

“हु आर यु टु पे माइ बिल?”

“हाउ डेयर यु टु पे ,एम आइ अ बेगर ?”

“ह्वाट इज योर इन्टेन्सन टु कम नियर बाइ , आइ हेट यु डेम बुलसीट”

यो भन्दा अरु धेरै सोच्न मन लागेन , झ्याल तिर हेरी रहें । उनि आएको अनुमान गरें , छेवैमा अघिझै अलिकति टासिएर बसेको अनुभब गरें , ठुल्ठुला आखा पारेर म तिर हेरी रहेको अडकल काटें , फर्केर हेर्दै नहेर्ने अठोट गरें । त्यतिन्जेल सम्म गाडी चिया बगानको बाटो हुदै डुमडुमा तिर दौडी सकेको थियो , बेगले ।

अहिले सम्म मैले उनको मुखबाट न त कुनै बोलि सुनेको थिएँ न त मुस्कान नै देखेको थिएँ । उनलाई प्रतक्ष अगाडिबाट हेर्न पनि जुरेको थिएन, मात्र उनको शरीरको दाहिने पट्टिको भाग हेर्ने सौभाग्य पाएको थिएँ । उनि काहा जादै छिन , उनीसंग अर्को को आएको छ र बसको कुन सिटमा बसेको छ त्यो पनि मैले भन्न सक्दिन थिएँ । मैले केवल अनुमान मात्र लगाउन सक्थे कि उ कतैबाट मलाइ हेरी रहेको छ र मेरो क्रियाकलाप लाइ नियाली रहेको छ र अरु यस्तै यस्तै केके सोची रहेको छ , किन भने उ मलाइ चिन्दछ र २२ बर्ष अघि मुना संग मेरो सम्बन्ध रहेको बारेमा उसलाई थाहा छ ।

म सिनेमाको पर्दामा देखाए जस्तो २२ बर्ष अघि फ्लाश ब्याक हुन् मन लाग्छ्, त्यतिखेरको गल्तीलाई एक एक गरि केलाएर सुधार्न मन लाग्छ जुन गल्तीले गर्दा मेरी मुना सङ्ग बिछोड हुन् गएको थियो । बिछोड हुनुमा प्राय जसो गल्ति मेरै थियो र थियो मुनाको पनि अलि अलि दोष । तर समयले त्यो मुनाको थोरै दोषलाई सबै बिर्शाई सकेको थियो र सबै दोष मेरो नै रहेको मैले स्विकारी सकेको थिएँ । त्यस समयमा मुना साच्ची मुना नै थिइन् , कलिली , निर्दोष , निस्कपट , सरल, स्वच्छ, स्निग्ध अनि पवित्र ।उनको आखामा त्यो जादु थियो जसले मलाइ सपेरोले सर्पलाई लठ्याए झैँ लठ्याएको थियो । एक छिन आखाँ चिम्लिएर बिगतमा डुब्न मन लाग्यो , आखाँ चिम्लियें ,स्मृतिमा मुना आइन अनि आयो मुनको त्यो मिठो बोलि “आमाले आज बेलुका हजुरलाई खान खान बोलाउनु भएको छ”। म खुसि खुसि गएको थिएँ साथी दिर्घ लाइ लिएर । म संग मुनाकोमा जान पाउदा साथी  मख्ख थियो मुनाको घरको मिठो मेजमानिको स्वाद लिन । बेलुका मुना , उनको बैनी र भाइले स्वागत गरेका थिए , मुनाको आखामा खुसिको समुन्द्रनै छचल्किएको थियो । बेलुका जानी नजानी ठट्टइ  ठट्टामा नाम बाट लगन जुराइएको थियो , दुबै जनाको नाम ‘म’ बाट सुरु भएकोले उत्कृस्ट जोडीमा गनिएका थियोउ । त्यत्ति लजाउने मुनाले त्यो दिन भने मेरो साथीको आखा छली मेरो कान छेउ आइ ‘आइ लब यु’ भन्दै कान टोक्न सम्म भ्याएकी थिइन् र लजाउदै भागेकी थिइन् । मलाइ मिठो अनुभूति भएको थियो , उनको स्वाश को स्पर्श , सुगन्ध ,मधुर कानमा ठोकिएको तरंगित ‘आइ लब यु’ को ध्वनि र उनको लजालु व्यवहार । त्यो दिन उनले अलिक बढी नै गरेकी थिइन् , फेरी रमाइलो गर्ने मौका नाजुर्दो रहेछ । खाना खानु अघि हात धुनलाई  दिएको मेरो लोहोटामा पानी नै थिएन , पछी उनको अनुहार हेर्दा थाहा भयो , त्यो सब उनैले जानी जानी गरेकी थिइन् । खाना पनि भयो भन्दा भन्दै धेरैनै थपी दिएकी थिइन् । खाना पछी हात धुन बाहिर निस्कदा उनको सम्पूर्ण शरीरले मलाइ ढोकामै छेकेकी थिइन् , चप्पल लुकाई दिएकी थिइन् , बस्ने पिर्का मा पानी पोखी दिएकी थिइन् र मेरो त्यस पछी को गतिबिधि नियाल्दै मन्द मन्द मुस्काई रहेकी थिइन् । राति सुते पछी पनि मेरो ढोकामा धेरै चोटी ढकढक गर्दै निन्द्रा खल्बल्यायेकी थिइन् । उनले यो सब मजा मजामै गरेकी थिइन् र मलाइ पनि रिस को साटो हासो नै उठेको थियो र उनि प्रति अझै प्रेम जागेर आएको थियो । एकाबिहानै गुड मार्निंग ले स्वागत गरेकी थिइन् , झ्यालको पर्दा खोलि दिएर कोठा उज्यालो बनाएकी थिइन् , सायद हामी छिटै उठेर हात मुख धोई चिया खादै उनीसंग धेरै समय गफ गर्दै बिताउ , हासी मजाक गरोउ र उनले मलाइ सताउँन अझै समय पाउन । हात मुख धोएर कोठामा छिर्न लाग्दा छिर्के लगाएर मलाइ लडाउन खोज्ने देखि लिएर हेर्दा मिठो र मगमग बास्नादार चिया मा मलाइ छुटै गिलासमा चिनी नहाली चिया दिदाको क्षण म कसोरी भुल्न सक्छु र , साथीकै अगाडी चियाको गिलासमा लिपस्टिक को दाग लगाएको र चिया जुठो पारेको , उनको घरबाट बिदाबारी भएर हिड्न लाग्दा झ्याल बाट आखाँ मारेको र ढुंगाको टुक्राले हिर्काएको पल अझै स्मृतिमा ताजै छ ।

गाडी डुमडुमा पुगी सकेको थियो , ड्राइभर र खलासी भाइ पाच मिनट मात्र चिया पिउन भन्दै बाहिर निस्किए । मैले चाहेको थिएँ , मुना पनि गाडी बाहिर निस्किउन र उनलाई पछाडिबाट नियाल्न पाऊ र फर्किएर आउदा फेरी अगाडिबाट , किनकि उनि शत प्रतिशत मुनानै भएको र उनि अहिले पनि २२ बर्ष अघिकै अनुहारमा रहेको प्रस्ट होस् । तर उनि गइनन , अगाडिको सिटमा मुन्टो अड्याएर सायद उनि पनि म जस्तै अतित मा सलल बगी रहेकी थिइन् । बाहिर पट्टि यसो नजर दौडाएँ , जता ततै भित्तामा पोस्टर हरु टासिएका थिए , केहि थिए फिल्म का , अरु केहि थिये यौन रोग यौन क्षमता बढाउने आयुर्वेदिक औसधिका, क्लिनिकका त अरु केहि थिए महिलाहरुको यौन अंग टाइट बनाउने , स्तन इन्लार्ज र स्तिफ साथै अरु यसै यस्तै । भित्ताहरुमा तामुल र पान , पान पराग खाएर थुकेका दागहरु , उभिएरै घोसे मुन्टो लगाएर मुत्र बिसर्जन गरि रहेका मानिसहरु र खुला बगिरहेको ढलबाट बाताबरण दुर्गन्धित हावा फैलिरहेको थियो ।

बस डुमडुमा बाट माकुम रोड हुदै अघि बढ्यो । बाटोदेखि दाहिने पट्टि रहेको सिनेमाहलमा मानिसहरु टिकट काट्न लामबद्ध देखिन्थे । कुनै एडल्ट सर्टिफिकेट पाएको हिन्दि फिल्मको पोस्टर टासिएको थियो । सायद चियाबगान का मजदुरहरुलाई लक्षित् गरि यस्तो सिनेमा प्रदर्शन गर्ने गरेको हुनु पर्छ जहाँ सिनेमामा देखाइने भन्दा अलि धेर चाहि पोष्टरमानै देखाइएको हुन्छ ।

गाडीको पछाडिपट्टि फर्किएर हेरें , सबैले मतिरै हेरी रहे जस्तो लाग्यो ,उनीहरु धेरैले मलाइ चिनेका थिए होलान र मैले पनि उनीहरुलाई , यति धेरै बर्ष को अन्तरालपछि देखेको अनुहार , उनीहरुको अनुहार केहि परिवर्तन भएको होला र मेरो पनि । म जस्तै उनीहरुपनि म मनै हु भनेर कन्फ्युज थिए होलान र म पनि उनीहरु को हुन् भनेर कन्फ्युज नै थिएँ । तर मुना भने पक्कै पनि मलाइ चिन्न असमर्थ् थिइनन् न त म नै भएको हुला । त्यो सुगन्ध , घुन्ग्रिएको कपाल , चिउडोको कोठी र अरु उनको भाव भंगी पहिचान गर्दा म त्यत्ति गलत साबित त नहुनु पर्ने हो। उनलाई पनि त मेरो संसर्ग , स्पर्श ले अतीतलाई बिउझाएको हुदो हो र म जस्तै उनि पनि फ्लाश ब्याक मा कति स्पस्ट र अरु कति अस्पस्ट चित्र हरु नियाली रहेकी होलिन र मन मनै बिभिन्न प्रश्नहरु त्ययार पारेकी होलिन र म बाट यस्तै उत्तरको प्रतिक्षामा होलिन ,

“मलाइ किन एक्लै छोडेर यत्तिका बर्ष सम्म टाडा भएको ?”

“मैले तिमीलाई छोडेको हैन ,परिस्थितिले बाध्य बनाएको थियो,” सायद मेरो उत्तर थियो

“खाटा बसिसकेको घाउलाई किन फेरी बल्झाउन आएको ?” अनुमान गरेकै अर्को प्रश्न तेर्सिएको थियो ।

“यो पनि परिस्थितिकै उपज हो”

“खुसि छोउ होला , म भन्दा राम्री र शिक्षित् श्रीमती होलिन , बच्चा बच्ची प्रसस्तै र ठुलै भै सकेका होलान ?”

“अ”, एकै पल्ट धेरै प्रश्नहरु तेर्सियेकाले एउटइ  अक्षरमा उत्तर दिएको थिएँ ।

“बाइस बर्ष पछी आज संजोगले भेट भयो , अब फेरी कहिले आउछौ ?” यो प्रश्न भने उनले सिध्याउनु अघिनै भाबुक भै सकेकी थिइन् , बरर आशु खसाली म बाट लुकाउन खोज्दै थिइन् । उनको भाबुकतामा म पनि बग्न सुरु गर्नु पुर्ब सतर्क भै सकेको थिएँ । शरीरलाइ एक झट्का दिएँ , उनीतिर यसो हेरें , उनि अझै पनि अगाडिको सिटमा टाउको अड्याई सुति रहेकी थिइन् , उही पहिलेको मुद्रामा । गाडी माकुम स्टेसन मा पुगी सकेको थियो , केहिं परिचित अनुहार हरु गाडीबाट ओर्लदै थिएँ , सायद डीग्बोई, जागुन रुट का  यात्रु थिए होलान ।

मुनाको बारेमा धेरै जान्ने इच्छा थियो , उनको बिबाह, बच्चाहरुका बारेमा ,म संगको बिछोड पछिको घटनाक्रम का बारेमा तर अहिले सम्म अबोध बालक झैँ लुकी रहेकी थिइन् र म बाट पनि सबै कुरा लुकाई रहेकी थिइन् । मैले उनको सिउदोको सिन्दुर त देख्न पाएको थिइन् तर अहिले यसो बिचार गर्दा घाटीमा पोते या मंगल सुत्र को ठाउमा उही पहिले लगाए जस्तो सानो सिक्रिमात्र गलामा देखिएको थियो । म माथि अचानक प्रश्न हरुले घेर्न थालिसकेका थिए ,

“के उनि अझै अविवाहित नै छिन ?”

“के उनि अझै सम्म पनि मेरै बाटो कुरी रहेकी त छैनन् ?’’

“कतै उनको सिउदो त पुछी सकेको छैन ?”

हैन हैन उनको बारेमा यस्ता अनर्थक र अनर्गल कुराहरु सोच्ने मेरो अधिकार छैन । उनि जे जस्तो स्थितिमा छिन , खुसि साथै सुखी रहुँन ।

मैले घरबाट ल्याएको पानीको बोतल मुना र मेरो सिटको बिचमा च्यापिएर बसेको थियो , मुनाले अप्ठ्यारो नमानी बोतल बाट पानी करिब आधा जति मुखै लगाएर पिईन । सायद उनलाई तिर्खाले सताएर हो , संकोच नमानी पिएको देख्दा म आफै तृप्त भएझै लाग्यो । गाडी चिया बगानको बिचै बीच दौडी रहेको थियो , चिया बगानमा चियाका कलिला मुना टिप्ने हरु टिपी रहेका थिए र आफुले बोकेको थुन्से मा भरि नजिकै रहेको मोटरमा पुर्याई रहेका थिए । मेरी मुना भने गाडीको ढोकातिर एकोहोरो हेरी रहेकी थिइन् सायद मेरो बारेमा यस्तै सोची रहेकी होलिन ,

‘’किन मलाइ उसको सामिप्य र स्पर्श आत्मीय लागेको होला?”

“किन फेरी पुरानो घाउ बल्झाउन भेट्नु परेको होला?”

“के उ अहिले सम्म अबिबाहित नै छ , नत्र उसको श्रीमती र बच्चा बच्ची हरु पनि साथमै हुनु पर्ने हो”

यस्तै कल्पना गर्दै थिएँ , खलासीको चिच्याहटले मेरो कल्पना मात्र भंग गरेंन , निन्द्रा पनि भंग हुन् पुगेछ ।

ओहो म ता गहिरो निन्द्रामा पो रहेछु , हिजो रात भरि सुत्न नपाएको , गाडीमा बस्ने बित्तिकै निदाउन पुगेछु । विउझिदा त गाडीको सिटमा च्यापिएको थिएँ , नजिकै एउटी धम्मरधुस गन्हाउने माछा ब्यापारी आइमाई माछाको टोकरी सहित मेरो सिट पनि करिब आधा जति ओगटेर बसेकी रहिछन ।उनको शरीरमा पसिनै पसिना थियो जसले गर्दा म पनि भिजि सकेको रहेछु । न त्यहा मुना थिइन् , न त उनले लगाएको पाउडरको सुगन्ध , न थियो त्याहा उनको स्वासको सुबास , थियो त केवल पराग चबाई रहेकी एक ब्यापारी आइमाई र उनले मुखै हालेर पिएको मेरो आधा पानीको बोतल । बसमा अहिले पनि उही  गित भने गुन्जी रहेको थियो  ,

‘’कि जे दिन आजि किनु होइ गोल , तुलुंगा नाउहरु बिलिन होइ गोल ।

टेक्सी गुठि सेल्फी मारी खदिया साबलोई बोइ

धला खदियार दलंग होल , भुपेन्दार खेतु होल

खदिया नुकी रिंग एटार बाटे होल

तुलुंगा नाउहरु बिलिन होइ गोल ——————-‘’

                    समाप्त

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.