~दिलबहादुर चोधरी~
कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ। अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन्। फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि। गुरिया (गुरही) पर्वको बारेमा पनि केहि रोचक प्रसङ्ग छ।
यस पर्वबारेमा पनि हाम्रा तमाम बयोबृद्ध, सम्मानित अग्रजहरु भन्ने गर्छन् ‘गुरही (गुरिया) पर्व थारुहरुले मान्ने सब भन्दा जेठो अर्थात पहिले मनाउने पर्व हो।’ म यो भनाईसँग चाहीं असहमति जनाउने गरेको छु। मैले भन्ने गरेको छु, ‘थारुहरुको नयाँ बर्ष माघ १ देखि लाग्छ, प्रायः फागुनमा होली (धुरेहरी), चैतमा चैते दशैं आउँछ, होली र चैते दशैंलाई थारुहरु मान्छन् भने गुरही (गुरीया) पर्व कसरी जेठो अथवा बर्षको पहिलो पर्व भयो?’ यसको सही जवाफ मैले पाउन सकेको छैन। आफूूलाई तर्कसंगत नलागेपनि पुर्खा पुरनियाहरु अहिले पनि गुरही (गुरीया) पर्वलाई जेठो भन्दै र मान्दै आएका छन्।
गुडिया (गुरिया) के हो?
गुरही भनेको दाङ्गको भाषामा झिङ्गौरा, नेपाली भाषामा गाइने किरा हो। यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतिकको रुपमा कपडाको पुतला, खेलौना बनाउँछन्। हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ। त्यही गुडिया शब्द थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको देखिन्छ। हुन त थारु भाषामा गुरिया भन्नाले मोती मालालाई जनाउने गर्दछ। तर यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको कुरा स्पष्ट हुन्छ। थारु बसोबास रहेको कतिपय जिल्ला, स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय जिल्ला, स्थानमा यसलाई गुरिया पर्व भन्ने गरिन्छ।
गुरही (गुरीया) पर्व श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नाग पञ्चमीको दिनमा मनाइने गरिन्छ, जुन पर्वले भाई र बहिनीबिचको प्रेम र अटूट सम्बन्धलाई स्मरण गराउँछ र अझ प्रगाढ बनाउन मद्दत गर्छ। भाई बहिनीबिचको माया प्रेमको प्रतिकको रुपमा मनाइने यो पर्वमा केटी/महिलाले गुडिया (पुतला) अर्थात गुरिया फाल्ने गर्दछन् र केटा/पुरुषले सोंटा, कोर्रा, लट्ठीले पिट्छन् र दुबै पक्ष रमाउँछन्। अर्थात भाई, बहिनीले वा महिला, पुरुषले पुतलासँगै दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःखकष्टलाई फाल्ने र नसताओस् भनी कामना गर्ने, गल्ती नदोहोर्याउने वाचा गर्ने, आपसमा माया प्रेम साट्ने, स–साना बालबालिकाहरुप्रति माया दर्शाउने पर्व हो। यसमा थारुहरुले अप्रत्यक्ष रुपमा नागको पनि सम्झना र पूजा गर्ने गर्दछन्। यो पर्ब नेपालका थारुहरु मात्रै होइन, भारतको उत्तर प्रदेशका नागरिकहरुले पनि मनाउने गर्दछन्। त्यसैले भन्न सकिन्छ कि यो पर्ब भारतिय हिन्दूहरुको संसर्गबाट थारुहरुले प्राप्त गरेको पनि हुन सक्छन्।
के के गर्छन् गुरही (गुरिया) पर्वमा?
गुरही (गुरिया) पर्व नाग पञ्चमीको दिनमा मनाइन्छ। जुन दिनमा थारु समुदायका घरहरुमा खुर्मा, बरिया (पुरी जस्तै परिकार) जस्ता तेलमा पकाइने परिकारहरु बनाउने गरिन्छ। साथै घर घरमा घुघरी (चना, केराऊ, मटरा आदि तेलमा पकाइएको परिकार, मकैको भुजा) तयार गर्ने गरिन्छ। गच्छे अनुसार घरमा अन्य खानेकुरा पनि बनाउने गर्दछन्। केटीहरु, महिलाहरु चिरकुट (कपडाका रङ्गीचङ्गी टुक्राहरु) बाट पुतला बनाउने गर्दछन्। कसैले ती पुतलालाई गुरही (गाइने किरा) मानी पिट्ने गर्दछन् भने कसैले ती पुतला (गुडिया, गुरिया) लाई बहिनीका अवगुण मानी पिट्ने गर्दछन्। पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामाग्री) को प्रयोगले सुन्दर, रङ्गीचङ्गी बनाइएको हुन्छ। ठूला केटा वा पुरुषले सोंटासँग खासै) सरोकार राख्दैनन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य लट्ठी, केराका हरियो डाँठले पनि पिट्ने गर्दछन्। साँझपख, सूर्यास्त हुने बेलातिर केटीहरु, महिलाहरु गुडिया (गुरीया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो/चौराहामा पुग्छन्। केटाहरु, पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा, लट्ठी लिई चौराहा (चौबाटो) पुग्छन्। गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटीहरु, महिलाहरु गुरिया(गुरही) चौराहामा फाल्छन् र केटाहरु, पुरुषहरु सोंटा, कोर्रा, लट्ठीले पिट्छन्। केटीहरु गुरिया(गुरही) फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोग ब्याध नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन्। पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन्। कतिपय गाउँमा पिटिएका यी गुरिया(गुरही) सडकमै चौराहामै छोडेर हिंड्छन् भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि जाने गर्दछन्। यो पर्व साना बालबालिकाहरुको सहभागिताबिना अपूर्ण मानिन्छ। त्यसैले गुरिया(गुरही) पर्वमा बालबालिकाहरुलाई सहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन्। कतिपय अभिभावकहरु साना बालबालिकाहरुलाई बोकेरै सहभागी पनि गराउने गर्दछन्। गुरिया/गुरही पिटिसकेपछि पिटेको सोंटा, कोर्रा, लट्ठीलाई ल्याएर मानिसहरु गोठमा वा घरमा राख्ने गर्दछन्। यसो गर्यो भने दुःख, कष्ट, रोग, ब्याध लाग्दैन। भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास रहेको छ।
गुरिया (गुरही) पर्वबारेमा कथा/किम्बदन्ती
गुरिया/गुरही पर्वबारे एउटा कथा छ। पौराणिक काललाई हेर्ने हो भने आर्य र अन्य जातिबिच प्रतिस्पर्धा र समय समयमा बैरभाव भएको देखिन्छ। त्यतिबेला आर्य र नागवंशको बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि। ऋषि जरत्कारुको पत्नी नाग जातिकी थिइन्, जसबाट आष्टिक ऋषि जन्मेका थिए। पाँच पाण्डवका माता कुन्तीका माता पनि नाग कन्या थिइन्। महाभारतका अभिमन्युका पुत्र राजा परिक्षित थिए, जसलाई तक्षक नागले डसेको थियो। परिक्षितका छोरा जन्मेजय राजा भएपछि सोही रीसले नागजातिको भीषण संहार गरेका थिए। तर समय बित्दै जाँदा तिनै तक्षक नागको चौथो पिंढीको एक कन्याको बिबाह, राजा परिक्षितको चौथो पिंढीमा हुन पुगेको थियो। केहि समयपछि बिबाहित ती नाग कन्याले एक महिलासँग आफू नाग बंशको भएको र यो कुरा कसैसँग नभन्न आग्रह गरिन्। ती महिलाले अर्की महिलासँग पनि उनी नाग वंशकी कन्या भएको तर अरुलाई नभन्न आग्रह गरिन्। यसो गर्दागर्दा यो कुरा शहरमा फैलियो र नाग वंशका महाराजसम्म पुग्यो। महिलाको मनमा कुनै पनि कुरा लामो समयसम्म टिक्दैन भन्ने रीसले राजा आगो भए र शहरका सबै केटी, महिलाहरुलाई चौराहामा जम्मा गर्न लगाए। उनले सबैलाई कोर्राले पिट्न लगाए र मारे। त्यस बेलादेखि नै गुडिया पिट्ने चलन चलेको हो भन्ने पनि एउटा भनाई छ।
एउटा रोचक प्रसङ्ग यस्तो छ। एक शहरमा राजाका छोराछोरी (दाजु–बहिनी) बस्थे। उनीहरु एकअर्कालाई निकै माया गर्थे। दाजु चाहिं भगवान भोलेनाथ र कालीका भक्त थिए र दिनदिनै मन्दिर जान्थे। जहाँ एउटा नाग देखिन्थ्यो। उनले नागलाई दिनदिनै दूध खुवाउँथे। सर्प भगवान भोलेको अति प्यारा प्राणीमध्ये पर्छ, उनको गहना मानिन्छ। भक्त बालकलाई देखेर नाग निस्कन्थ्यो। उ बालकको खुट्टामा मायाले लतपटिन्थ्यो र मणि छोडेर बिलाउँथ्यो। एक दिन पुजा गर्न निस्कने बेला बहिनीले आफू पनि मन्दिर जाने अड्डी लिइन्। दुबैजना चना, केराउ, मटराको घुघरी, दूध, (परिकार), मकैको भुजा लिएर मन्दिर गए। मन्दिरमा पुग्दा नाग फेरी देखा पर्यो र दाजुको खुट्टामा मायाले बेरियो। बहिनीलाई लाग्यो कि मेरो दाजुलाई नागले डस्यो, उनी चना, केराउ, भुजा, दूध राखेको ढकियाले पिटेर सर्पलाई मारिदिइन्। दाईले सर्पको बारेमा बहिनीलाई पुरा कहानी बतायो। कहानी सुनेर बहिनी निकै रोइन् र पश्चाताप गरिन्। दाजुको लागि सर्प र बहिनी बराबर थिए। घटनापछि त्यहाँ भएका मानिसहरुले भने ‘सर्प देवताको रुप हुन्छ, त्यसैले बहिनीलाई दण्ड र सर्पलाई पूजा जरुरी छ, तर बहिनीले दाजुको प्राण बचाउन मात्र यसो गरेकीले बहिनीको रुपमा गुडियाले हरेक बर्ष दण्डित हुन आवश्यक छ, यसले दाजु–बहिनीको माया–प्रेम अझ बढेर जान्छ।’ त्यसवेलादेखि दाजु, भाई, दिदी बहिनीको त्यो माया–प्रेमलाई सम्झन, अमर बनाउन यो समुदायमा नाग पञ्चमीको दिनमा केटीले गुरिया फाल्ने र केटाले पिट्ने चलन चलेको हो।
अर्को एक किम्बदन्तीका अनुसार एक जना ब्यक्ति त्यौहार मान्न आफ्नो बहिनीलाई बोलाउन गएको थियो। बहिनीको बिहा धनी घरमा भएको थियो। गरिब दाजुलाई देखेर उनी मान मर्यादामा बेवास्ता गरिन्। उनको बेवास्ता र अपमानका कारण दाजु घर फिर्ता भए। बहिनी एक्लै माइती आइन्। बहिनीको बानी ब्यहोराका कारण माइती पक्षले पनि जति गर्नुपर्ने हो, मानमर्यादा गरेन। बिदाईको दिनमा माइती पक्षले बहिनीलाई नदी पार गरेपछि, अब कहिल्यै नआउनु भनी बिदाई गरे रे। बिदाईको दिनमा नाग पंचमी थियो। त्यसबेला देखि नै कपडाको गुरिया (गुरही) लाई पिट्ने र नदीमा सेलाउने चलन चलेको हो भन्ने भनाई पनि छ।
त्यसैगरी अर्को किम्बदन्ती पनि छ। स्वर्गका राजा ईन्द्रले पृथ्वीमा मनुवाहरुको हालखबर बुझ्न एकजना परीलाई पठाएका थिए रे। मानवरुपमा आएकी ती चमत्कारी परीले धेरै बर्षसम्म हालखबर बुझ्दा बुझ्दा पृथ्वीलोकका मानिसहरुसँगको मायामोहले बाँधिइन्। समय पुरा भएपछि देवलोक (स्वर्ग) का राजा ईन्द्रले परीलाई बोलाए। मानिसहरुले तिनी गएपछि आफूहरु समस्यामा पर्ने बताए। उनले मानिसहरुको रोग, ब्याध, दुःख, कष्ट आफू लिएर जाने बताए। मानिसहरुले उनलाई भब्य मान सम्मानका साथ बिदाई गरे। त्यो दिन नाग पञ्चमी थियो। त्यसबेलादेखि गुरही (गुरिया) पिट्ने चलन चलेको हो भन्ने भनाई पनि छ।
निष्कर्षमा के भन्न सकिन्छ भने यस सम्बन्धमा समुदायमा चलेका अरु पनि किम्बदन्तीहरु होलान्। प्राय : कथा, किम्बदन्ती केटी वा महिलासँग जोडिएका छन्। कुरा जेसुकै होस्, यस पर्वमा मान्छेले गुरहीको प्रतिकको रुपमा होस्, केटीको प्रतिकको रुपमा होस्, खराब चरित्रका कुनै ब्यक्तिको प्रतिकको रुपमा होस्, कपडा नै प्रयोग गर्छन् र कपडाको गुडिया, खेलौना नै बनाउँछन्। त्यही गुडिया शब्द नै थारु भाषाको बोलचालमा गुरिया हुन पुग्यो। कतिपय ठाउँमा यसलाई गुरही पर्व भन्ने गर्न थालियो भने कतिपय स्थानमा यसलाई गुडिया (गुरिया) पर्वको नामले चिनियो। तर यो पर्व नाग पञ्चमीकै दिनमा पर्ने हुनाले यो पर्वको सम्बन्ध नागसँग अवश्य छ भन्ने कुरा स्पष्ट हुन्छ र नाग पञ्चमीमा अप्रत्यक्ष रुपमा घुघरी वा भुजा चढाई गुरुवाले नागको पनि पुजा गर्दछन्। यो पर्व पहिलेदेखि चल्दै आएको र भाई–बहिनीबिचमा आपसी प्रेम र सदभाव झल्किने हुँदा यसलाई भाई–बहिनीको आपसी प्रेम स्मरण गर्ने दिनको रुपमा पनि बुझ्ने गरिन्छ। कथा, कहानी, किम्बदन्ती जे जस्तो होस्, यसमा भाई–बहिनी, महिला, पुरुष दुबैको संलग्नतामा अवगुण, दुर्गुणलाई फाल्ने, रोग–ब्याध, दुःख–कष्टलाई फाल्ने, पिट्ने र सुख, शान्ति जस्ता राम्रा कुराको कामना गर्ने गरिन्छ। गुरिया पिटेपछि, सेलाएपछि गाउँघरमा सुख शान्ति हुन्छ भन्ने जनविश्वास छ।