~शान्ति प्रियवन्दना~
मुटु जलाउने आगोको लप्कासँग
खेल्दै, रूमल्लिँदै र भष्म हुँदै
उसको शीतल स्पर्शको अभावमा
आफैँलाई अनुवाद गरेँ
र, स्वयम् ज्वाला बनेँ आगोको
हराएँ आफैँभित्र आफैँ
र, किनाराको खोजी गरेँ
ती सब व्यर्थ र दिशाहीन थिए ।
यी घाउहरु निको हुँदैनन्
कहिल्यै पनि जाहेर छ
चराइरहने छन् शूल बनेर
तर, मनमा एक भ्रम थियो
शीतलताको र त
कल्पनाका मलमहरु लगाइरहेँ ।
समय आफैँ बलवान हो
समयको सूत्र समाउँदै
घाउहरुमा अमृत छर्न खोजेँ
प्रीतका थुँगा फुलाउन खोजेँ मनमा
चम्पा, चमेली र जुहीको
सुवासको खोजीमा भौँतारिँदै
चहारेँ भञ्ज्याङ र चौतारीहरु
र, मानवसागरका भीडहरुमा ।
मन हो विश्राम खोज्दछ
र, खोज्दछ एक शीतल छहारी
जब हुँदैन नि भीडमा
आफ्नो पदचापको सिको गर्ने
लाग्दछ, यी सबै मलामी हुन्
घाटबाट फर्कंदै गरेका
जब हुँदैन चौतारीमा कोही
कुम जोडेर पसिना पुछिदिने
लाग्दोरहेछ
चौतारी र भञ्ज्याङ पनि
मसानघाट नै हुन् ।
खोज्नु सपनामा घामको राप
र, घमाइलो हुनु
कति निरर्थक छ ?
यो मलाई थाहा छ
जलिरहेको व्यथित मुटु लिएर
शून्यताभित्र कसैको नाउँमा
तड्पेँ, छटपटाएँ
भन्छन्, मनको नि दैलो हुन्छ
दैलो खोलेर आँशुलाई बगेर जान दिएँ ।
बिछोडिएको मृगजस्तो
बथानबाट जंगलमा
वा, दिग्भ्रमित बटुवाजस्तै
गतिहीन यात्रा लम्किइरहेँ
कसैको खोजीमा
समयका चाङहरु थप्दै गएँ
यी अनगिन्ती समयका
पगडन्डीहरुमाझ
आज, यी पाइलाहरु
तिम्रासामु आएर अडिएका छन्
सायद् रोकिएलान्
र, चौतारीमा बास बस्लान् ।
यो सपना होइन सायद्
धूमिल धूमिल ओइलाएर जाने
चखेवाको बथानसँगै
त्यसैले,
उड्दै उड्दै आकासमा तिमीसँगै
जुनलाई, हो जुनलाई छुने धोको छ
बर्साद्को सिमसिम सिमसिम पानी
वा, कलकल कलकल बगेको
कञ्चन पानीमा
घैलाजस्तै डुबेर आधा
समय गुजार्ने धोको छ
तिमीलाई चौतारी बनाएर यात्राको
पीडाका भारी बिसाउँदै
र, रित्ताएर आफैँलाई
तिम्रो बलिष्ट बाहुमा
तिमी, हो तिमीलाई
मसँगसँगै पूर्ण बनाउने धोको छ ।
कति अनौठो छ जीवन
कति बिचित्रको छ चाह मान्छेको
आजकल
म तिम्रो आँखाबाट
सपना देख्ने गर्दछु
सुदूर क्षितिजको
र, पुलकित हुने गर्दछु
मेरो स्पन्दन, तिम्रो नि स्पन्दन हो
मेरा आँखामा गोचर हुने
गहिरो र नीलो सागर
तिम्रो नि परिदृश्य हो
यसैले,
रोकिने छन् मेरा यी कदमहरु
किनकि
तिमी मेरो अन्तिम खोज हौ ।
हेटौडा—४, मकवानपुर ।
(स्रोत : इचितवनपोष्ट डट कम)