~हिरण्य भोजपुरे~
यसपालि पनि दसैँ आयो ।
पोहोर सालको दसैँ । कस्तो ‘नेपालजस्तै’ दसैँ बन्यो अमेरिकामा ! यसपालिपनि ‘नेपाली’ दसैँजस्तै दसैँ मनाउन मन लाग्यो । एक महिनाअघि नै नव भाइलाई तराईतिरबाट खसी ल्याइदिन अनुरोध गरँे । नवको मुहार खुसीले धपक्क बल्यो । उनले भने — “दाजु ! केको तराई । म हजुरलाई तेह«थुमको खसी ख्वाउँछु । गम्म पहाडी खसी !”
म मुसुक्क हाँसेँ ।
म खान्छु भन्छु, डाक्डरले नखा भन्छन् खसी । हामी पनि कस्ता भने आफूहरू गन्ध सुँघ्दै ‘स्वाद’ खाने, खास ख्वाउनेचाहिँ अरूलाई ख्वाउने आजभोलि ।
खसी आइपुग्यो । तेह«थुमदेखि कति सकस खाएर आइपुग्यो होला बिचरा खसी काठमाडौँमा । त्यो आइनपुग्ला भनेर भाइ नव बिहान ५ बजे नै पुगेछन् गौशाला, खसी बसेको बस कुर्न । बिहान ६ बजेतिर आइपुग्नुपर्ने बस आइपुगेनछ समयमा । बिहान १० बजेतिर नव भाइलाई फोन गरँे । उनी उत्तेजित भए र भने — “दाजु ! बस कुरिरहेको छु । बाटोमा कता हो ट्राफिक जाम भएछ । भाइलाई पानी तताइराख्न भन्नुहोस् । बस आउनेबित्तिकै खसी लिएर म आउनेछु ।”
दिउँसोको करिब दुई बजे आइपुग्यो खसी । प्रणय भाइले काट्ने तयार पार्दा झन्डै–झन्डै साँझको ६ बज्यो ।
अर्को दिन बिहान ।
बिहान प्रणय भाइको पसलमा पुगेँ । ‘कामको दाम कति दिने ?’ भन्दा उनले भने — “बा ! हजुरले भनेको नाइँ भन्न नसकेर मात्र मैले यो कर्म गरेँ । यसमा म, मेरी श्रीमती र प्रहर भाइ, हामी ४–५ घन्टा खट्यौँ । पैसाको कुरा छैन । जति दिनुपर्छ दिनोस् । तर बिन्ती छ, फेरि मलाई खसी काट्न नभन्नुहोला । बाका लागि पहिलोपल्ट मैले मार हानँे । मैले आजसम्म अरूले मारेका पशुपन्छी टुक्रा पारेर बेचेँ । बा… प्लिज… !”
म प्रणय भाइको अनुहारको भावले ‘भूपरिवेष्ठित नेपाल’ बनँे । ओ मेरी मैया ! कहिल्यै कसैको ज्यान नलिएको व्यक्तिले मेरा लागि खसीको मार हानेछन् । लाग्यो, अब मेरा लागि म र हाम्रा लागि हामी सबैलाई कबै पनि मार हान्न दिने छैन । र, मार्न दिएको हेर्ने छैनौँ ।
मासु नखानुको प्रारम्भ समयको भने म अहिले नै घोषणा गर्न सक्तिनँ ।
(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)