~दामोदर घिमिरे~
पाँच वर्षमा हुने चुनाव वर्षांै पछि आउँछ यहाँ
जनता हुन्छन् गाउँप्रेमी नेता बन्छ ठालु त्यहाँ ।
चुनावमा नेता धाउँछन् जिल्ला अनि गाउँघरमा
युवाहरू बिदेसिन्छन् रोजगार नपाउँदा स्वदेशमा ।
धेरै शिक्षक राजनीतिमा परिणाम न्यून स्कुलको
गाउँघर रित्तो हुँदै गयो मोह बढेपछि सहरको ।
आफन्तको वास्ता छैन दुःखबिमारमा खोजी पनि
समाजको वास्ता छैन डेटिङ जाने मायालु बनी ।
पत्रिका पुग्दैन गाउँघरमा पाइँदैन किताव समयमै
पाइँदो रहेछ चाउचाउ, बियर, मोबाइल घरघरमै ।
चुनाव जित्न नेताहरूले दिँदा रहेछन् फुस्रो भाषण
खेतबारी बाँझै दूधमोही छैन पुग्नै छाडेछ पोषण ।
ढिकीजाँतो कथा भयो पाइन छाड्यो सातु–पिठो
मकैरोटी, पुवा हराएछ मान्दा रहेछन् मम मीठो ।
गाउँघरको समाज छाडी धेरैको बसाइ तराईतिर
चीसो हावा स्वच्छ समाज छोडी लाग्ने सहरतिर ।
दुःखी जनता गरिबीको पीडा चुनावमा चल्ने नोट
कुन पार्टी राम्रो समाजका लागि नबुझीकनै भोट ।
खुल्न छाडे नयाँ परियोजना एकजुट पनि नेताहरू
उद्योग कारखाना जीर्ण छन् मौलाउँदै नेतादलहरू ।
(स्रोत : नेपालभूमी – २०७४ माघ १६ गते मङ्गलबार प्रकाशित अङ्कबाट)