स्वदेश गान : नेपाल महिमा

~डा. विश्वनाथ ‘प्रेम’~

सृष्टिमा लोक छन् धेरै, धर्ती जीवन्त लोक हो
धर्तीमा द्वीप छन् लाखौँ, जम्बु द्वीप प्रमुख हो,
जम्बुका काखमा हेरे हिमैखण्ड विशेष हो
किन्तु सम्पूर्णको प्यारो माथा नेपाल देश हो ।२

छन् अरु देशमा तीर्थ, यो सिङ्गै देश तीर्थ हो
धर्मका लागि नै हामी जानु बाहिर ब्यर्थ हो,
हाम्रो ता जगमा ज्ञानै छर्ने मौलिक काम हो
सारा संसारमा हाम्रो देश सर्वोच्च धाम हो ।४

शालीग्राम बनी खेल्छन् राधा कृष्णहरू यहीँ
सीताका साथमा राम मिल्छन् विदेह राजमै,
सारा एैश्वर्यका दाता गौरी शङकरको घर
यो मूक्तिक्षेत्र हो चोखो यस्तो अन्त कहाँ छ र ।६

यो हो दर्शनको ढोका साङ्ख्यादिक र तन्त्र छन्
यौटै अक्षरमा खोजी हेरे नौलाख मन्त्र छन्,
यहीँ छन् जगदम्बाका जन्मस्थान मनोहर
करोडौँ कर्मका योगी हजारौँ भक्तका पुर ।८

हाम्रो देश जति राम्रो जस्तो प्यारो अरु कहाँ
जसको वर्णनका लागि भाषा छैन कुनै यहाँ,
पाउन्नौ तिमीले यस्तो ठाउँ जाहीँ गए पनि
यो लोकातीत भूमि हो लोकै बीच भए पनि । १०

यहाँ के छैन् लौ हेर प्रकृति अति सुन्दर
महा समृद्घिको खानी नाना रूप चराचर,
छ त्यस्तै सबको प्यारो हाम्रो सम्पन्न संस्कृति
पूरा नेपाल बन्नेछ जोडौँ विज्ञानको गति । १२

अल्लारे सभ्यता हैन् यो संस्कारित जीवन
अखाडा युद्घको हैन् हाम्रो सुशान्त आँगन
यहाँको कर्म नै पूजा यहाँका वास मन्दिर
छ यस्को गरिमा जस्तो के यो सर्वत्र मिल्छ र ।१४

धर्मका कर्मका लागि भारतवर्ष महान हो
धर्तीका धामको शोभा यो नेपाल श्रीधाम हो
बनौै है पौरखी हामी यसको उत्कर्ष छाउने
नबाँचे देश नै भोलि कस्लाई के बचाउँने । १६

तिमी विदेश पो भन्छौ देख्दैनौ घर सम्पदा
बनाए भावले साँचो आजै फेरिन्छ यो कथा
नलागी यत्नले राम्रा पाइँदैनन् कुरा तर
र पाए विश्वमा फेरि मिल्ला सर्वत्र आदर ।१८

पैसा वैभवको वर्षा जत्ति मिल्ने छ त्यो पनि
हावा मै छ यहाँ पैसा ढुङ्गा माटो जहाँ त्यहीँ,
खोला खेत कला दृश्य कीरा झार हिमाचल
बाटामा बोटमा पैसा टिप्ने चाहिन्छ अक्कल । २

कसैले भन्छ यो साह्रै सानो भूगोल के छ र?
म भन्छु फूल कत्रो छ किन्तु वास कति पर,
धारा छन् प्रेम प्रज्ञाका मान्छे भित्र जहाँजहाँ
फैलेको छ त्यहाँसम्म हाम्रो नेपालको सीमा । २२

यस्का सङगतले सारा शान्तिका छहरा बहे
महा सङ्कटमा जीवन एसैका शिरमा रहे ,
एसैका स्पर्शले त्यत्रो बृदि छिमेकमा भयो
जस्कै राज्य भए के भो संस्कृति त यही न हो। २४

हाहाकार भई जन्ता पर्दा भोक र प्यासमा
राजाले खेत जोतेका छन् हाम्रो इतिहासमा
निश्वार्थी वीर विज्ञानी सच्चा व्यक्ति नभै कन
चाहे जुन तन्त्रले हाँक मिल्ने छैन् सुशासन ।२६

नेता दुष्ट भए साह्रै जन्तालाई रुवाउँछ
असक्षम भ्रष्ट नेताले देशैलाई डुबाउँछ ,
सक्षम आदर्श नेताले पूरा देश उठाउँछ
यौटा नेतृत्वले सिङ्गो सत्तालाई चलाउँछ ।२८

कसैका दृिष्टमा विश्व पूरा व्यापारगार हो
कसैका दृिष्टमा कालो शक्ति हो टकरार हो
कसैका दृिष्टमा केवल आ–आफ्नै घरबार हो
हाम्रो चिन्तनमा धर्ती एउटै परिवार हो । ३०

महर्षि ज्ञानका खानी प्रज्ञा निर्वाण ध्यानका
जनक झै कर्मका शिल्पी भतिm निष्काम प्रेमका
निगम आगमका साथै सार्थक जीवनको गति
यही हो धर्मको बाटो हाम्रो अध्यात्म संस्कृति।३२

नेपाली भावना भित्र हाँसेका परमात्म् छन्
हाम्रा हर कणमा देवी देवादिहरु व्याप्त छन् ,
जहाँ जन्मनका लागि तपस्या गर्दछन् सूर
हामी त्यो धरणीमा छौँ कत्रो सौभाग्यको कुरा।३४

यी राम्रा पक्ष हुन् किन्तु यिन्मै सन्तुष्ट भै रहे
बितेका घटना मात्रै सुगा जस्तै रटिरहे ,
इतिहास नयाँ रच्ने होला उत्क्रान्त दुत को
प्रारम्भ कसले गर्ला अर्को स्वर्णीम युगको ।३६

नेपाली नामको कल्यै हल्लिएन विरासत
यस्लाई सौर्यले झन्झन् पारौँ उच्च सुरक्षित,
तेसैले एक भै हामी लागौँ बाटो विकासको
उठाऔँ विश्वमा हाम्रो झण्डा स्वाधिन देशको।३८

हारे ती जसले ठाने केही हुन्न यहाँ अब
बाँचे ती जसले जाने गर्दा के हुन्न पौरख ,
मरे जो युद्घमा हारे भागे धूल सरि भए
विजेता बन्दछौं हामी जित्ने युक्ति गरिरहे ।४०

गर्दा जे कामले हुन्छ शान्ति संसारको भला
कुन् हो उत्तम त्यो शिक्षा केहो सम्पूर्ण त्यो कला,
खोलौँ चैतन्यका ढोका यो पो विज्ञान हो कडा
क्रान्तिका धारमा चन्ने व्यक्तिव्यक्ति गरौँ खडा।४२

हामी हर जनका जीवन उर्जा उत्साहले भरौँ
स्वयम्का भावले युक्त आत्माको साधना गरौँ ,
यौटै संबुद्घको गाथा माथि यत्रो छ खुल्दुली
उठाइदिउँन झन् यस्ता लाखौँ व्यक्तित्वका चुली।४४

तब पो राष्ट्रले धेरै ठुलो सम्मान पाउँछ
अरुका के कुरा भोलि त्रिलोकै पुज्न आउँछ ,
लोकले प्रेमले हाम्रो कीर्ति सन्देश गाउँछ
त्यो बेला विश्वमा हेर हाम्रै आलोक छाउँछ ।४६

म दिन्छु जिन्दगी मेरो हाम्रो देश रहिरहे
प्रतिष्ठा देशको हुन्छ प्रतिभा देशमा भए ,
कति छन् राष्ट्रमा हाम्रा यस्ता सुयोग्य सन्तति
राष्ट्र के विश्वकै जसले सक्छन् गर्न समुन्नति ।४८

यस्को खोज गरौँ हामी त्यस्ता व्यक्तित्व छन् कहाँ
जयन्ती कालमा भन्दा आजै जीवन्त कालमा,
सबैका लक्षणा हेरी हैँसे गर्न सके अहो
कस्ता यी जनता हुन्थे कस्तो देश हुने थियो ।५०

तिमी पर्देशमा जाऊ या आफ्नै घरमा बस
लाऊ आकाशको फेरो किंवा सागरमा पस ,
बैरागी वनमा धाऊ चाहे हाँक चराचर
नविर्सी तर हे भाइ सेवा नेपालको गर ।५२

यो सानो सर्गमा ठूलो जीवनको सार छन्द छ
सेवा यो देशको आफै मूक्ति सोपान बन्दछ
हो यो ईश्वरको सारै प्यारो आवास विश्वमै
देखिन्छन् ध्यानले हेरे स्रस्टाका पूर्णता यहीँ । ५४

कतै यो चक्रमा फेरि मेरो जन्म भयो भने
मलाई देश चाहिन्छ, नेपालै त्यसमा पनि
यसैका प्राण धाराले अर्को बन्ने छ जीवन
यस्को अस्तित्वका साथ मेरो नाता सनातन। ५६

बरु म दुःख खेपेर बस्ने छु कन्दरा मनि
किन्तु नेपालको माया भुल्ने छैन मरे पनि ,
म जिउँदा पूर्ण शक्तिले सेवा सन्धान गर्दछु
र मर्दा देशकै लागि छाती खोलेर मर्दछु । ५८

यिनै सङ्कल्पका साथ हामी काम गरौँ पुरा
म केही व्यक्तिका खोजीमा छु थाहै छ त्यो कुरा,
भेटेमा भन्दिनु साथै यस्तै आफ्नो नि चाहना
भएमा आउनु होला यो साझा अभियानमा
जुटौ हे देशका लागि यो साझा अभियानमा । ६०

शब्द/सङ्गीत : डा. विश्वनाथ बराल ‘प्रेम’
स्वर : शिशिर योगी
एल्बम : नेपाल महिमा (Nepal Mahima), track released November 7, 2014
Arranger: Kiran Kandel
Recorded at Pragya Studio

This entry was posted in नेपाली गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.