~उषा शेरचन~
निधारमा कहिल्यै निको नहुने
घाउका टिका थापेर
छातीमा कहिल्यै नमेटिने
सरापका कोसेली लिएर
युगौँदेखि अश्वत्थामाझैँ
भट्किरहन अभिशप्त छौँ
समर्पित प्रेमका
समर्पित छालहरू आज
वरदान होइन
अभिशाप बोकेर आएको छ
अनन्त–अनन्त प्रतीक्षा पश्चात्
जिन्दगीका मोडमा अकस्मात्
एकअर्कासँग भेट्दा
न न्यानो अँगालोमा बाँध्नै सक्यौँ
न तातोस्पर्शले चुम्नै सक्यौँ
मुटुबाट निरन्तर माया चुहिरहँदा पनि
— अँजुलीमा भरिरहन सकेनौँ हामीले
आँखाबाट सहस्र मोतीका दानाहरू झरिरहँदा पनि
— औँलाहरूले टिपिरहन सकेनौँ हामीले
कठैः न मनका कुरा सबै ओकल्नै सक्यौँ
कठैः न मनका पीडा सबै पोख्नै सक्यौँ
आज अचानक एकअर्कालाई देख्दा
अग्निझैँ प्रज्वलित हुनुको साटो—
झन्–झन् हिउँझैँ जमिरह्रयौँ,
पछारिएर छाती चट्टानमाथि—
रक्तरञ्जित मुटुले हेरिरह्रयौँ
सङ्गृहीत पीडा जताततै दुखाएर
हाम्रा घायल यादको शिविरभित्र
हाम्रा अभिमानको शिविरभित्र
— कुण्ठित हाम्रा भावनाहरू
— खण्डित हाम्रा चाहनाहरू
उमेरका हदबन्दी नाघ्दासम्म पनि
न सँगसँगै हिँड्नै सक्यौँ
न सँगसँगै उड्नै सक्यौँ
न सँगसँगै जिउनै सक्यौँ
मनका अनन्त गहिराइबाट
एकअर्कालाई चाहँदाचाहँदै पनि
न मायाका सुन्दर संसार जोड्नै सक्यौँ
न घृणाका साङ्लाहरू नैतोड्न सक्यौँ
सपना त एक खण्डहर रहेछ
जसलाई घर हो भनेर न बस्नै सकिन्छ ।
जसलाई घर होइन भनेर न बिर्सनै सकिन्छ ।।