~होमर श्रेष्ठ~
पत्रकार: “कृपया, अब थोरै धैर्य गर्नुहोस् ! यो अन्तिम प्रश्न हो…झर्को नमानी बताइदिनुहोस्—तपाईं कुनचाहिँ ‘वादी’ हुनुहुन्छ ?”
बौलाहा: “म कुनै पनि वादी होइन । म मादल घन्काउने संगीतज्ञ हुँ । सामान्यतः मलाई कुनै पनि वादीसँग वैरभाव छैन… मित्रभाव नै छ, तर त्योचाहिँ जुनसुकै ‘वादी’ होस् त्यसलाई म बिखलाई जत्तिकै तिरस्कार गर्छु, जुन वादीले चेलीको चोली र आमाको अस्मितालाई धन्धा वा व्यवसाय बनाउँछ !”
बौलाहाले खोक्दै भन्यो—“यहाँ थुक्ने ठाउँ कता छ ?”
पत्रकारले बाथ–रुमतर्फ इसारा गर्यो । बौलाहा खोक्दै बाथरुमभित्र पस्यो र छातीभित्रको कफ थुकेर फर्क्यो र सोध्यो: “यहाँ चुरोट खाने चलन छैन ?”
पत्रकार: “एक मिनेट पख्नुस् ! मैले नसोधेको विषयमा तपाईंलाई केही भन्नु छ ? त्यसपछि हामी चुरोट र चिया पिऔँला !”
बौलाहाः “म भाषाविद् /व्याकरणविद् होइन । मैले बोलेको ‘वादी’ शब्दमा पेट चिर्नुपर्ने वा नपर्ने, ह्रस्व वा दीर्घ के लेख्नुपर्ने मिलाएर छापिदिनुहोला ! मेरो कुरो नबङ्ग्याइदिनुहोला ! बस, यति नै हो ।”
प्रकाशित: १० मार्च, २०१२
(स्रोत : रचनाकारको ब्लगबाट सभार)