पुस्तक समीक्षा : “सिमानाको दीप” खण्डकाव्यको विश्लेषण

~गोविन्द प्रसाद आचार्य~

१. परिचय

कवि गोकुल प्रसाद जोशीलाई प्रगतिवादी कविताबाट हटाउने हो भने सिङ्गो कविता यात्रा नुन बिनाको तरकारी हुन्छ । उनको खण्डकाव्य “सिमानाको दीप” (२०१५) यो झ्याउरे लयमा रचना गरिएको छ । यो खण्डकाव्य आख्यानमा आधारित छैन, कविको जीवनीसँग सम्बन्धित छ । कविका मौलिक विचार यसमा छन् । यो काल्पनिकताभन्दा यथार्थमा आधारित छ । कविले आफ्ना जीवनीका माध्यमबाट मौलिक विचारलाई सामूहिकीकरण गरेका छन् । यो काव्य कुनै स्थान विशेषमा आधारित नरही कविको जीवनका पीडा स्वदेश र विदेशको अनुभवलाई वैचारिक धरातल बनाएका छन् । यसमा प्रगतिवादी विचार आएको छ । यसमा कुनै खण्ड छुट्याएको छैन । सुरुदेखि अन्तिमसम्म जीवनी र विचार छताछुल्ल भएर पोखिएका छन् । २०१५ सालमा लेखिएको मौलिक खण्डकाव्य जुन कविको अन्तिम कृति हो । यस कृतिमा ‘२०१’ श्लोक ‘४०६’ पङ्क्ति गुच्छामा यो संरचित छ । यस काव्यमा विभन्नि प्रसङ्गले यो बताएका छन् यो खण्डकाव्य राष्ट्रिय भावनाले प्रेरित छ ।

२. “सिमानाको दीप” मा जीवनीमूलक प्रभाव

कवि गोकुल प्रसाद जोशीले “सिमानाको दीप” खण्डकाव्यमा विभिन्न प्रसङ्ग उठाएका छन् । ती प्रसङ्गका आधारमा हेर्दा यस कृतिलाई जीवनीमूलक कृति हो भन्न सकिन्छ । कविको प्रथम श्लोक,
जन्म भयो झुपडीमा हिमालको कोखमा
स्वच्छ निर्मल छहराको जल पिएँ भोकमा । (श्लोक १, पृ. ७८)
प्रथम श्लोलको पहिलो पङ्क्तिमा ‘जन्म भयो झुपडीमा’ भन्ने वाक्यांश प्रयोग गरिएको छ । त्यस्तै दोस्रो पङ्क्तिमा ‘स्वच्छ निर्मल छहराको जल पिएँ भोकमा’ वाक्यांश प्रयोग गरिएको छ । यहाँ ‘पिएँ’ भन्ने शब्दले नै आफूलाई सङ्केत गरेको पाइन्छ । झुपडीको जन्म, पिएँ भन्ने शब्दहरू कविसँग सम्बन्धित छन् । त्यस्तै, स्वच्छ निर्मल छहराको जल पिएँ भन्ने वाक्यांश र झुपडीको जन्मले कविको गरिबी अवस्थालाई पुष्टि गर्दछन् ।
विदेशमा खोलो बग्ने, लाहुरेको हुलमा
बाल्यकाल विदेशमा बित्यो भुलैभुलमा (श्लोक २, पृ. ७८)
पहिलो पङ्क्तिले लाहुर जाने चलन संस्कृति बन्नका साथै नेपालीहरूमा प्रथाको रूपमा विकसित भएको पाइन्छ । यसका कवि पनि सामेल भएको पाइन्छ । जसलाई यस श्लोकको दोस्रो पङ्क्ति सङ्केत गरेको पाइन्छ, जसबाट कविको बाल्य जीवन विदेशमा बितेको हो भन्न उनकै दोस्रो पङ्क्तिलाई लिइन्छ । त्यस्तै कविको,
शिशु बनी बाल्यकालको, खेल खेलि दिन्छु
जिन्दगीको बाँकी दिन, कष्टमय गिन्छु । (श्लोक ७, पृ. ७८)
यहाँ कविले अघिल्ला पङ्क्तिमा लाहुर गएको सङ्केत गरे भने यस श्लोकको प्रथम पङ्क्तिले यो सङ्केत गरेको पाइन्छ । उनलाई बाल्यकालमा खेल खेल्ने रहर थियो तर कविलाई समस्याले लाहुरे बनायो, शिशु बनेर खेलि दिन्छु । दोस्रो पङ्क्तिमा प्रयोग भएका शब्दहरूले यो सङ्केत गर्छन्– कविको बाँकी जीवन पनि कष्टमय नै हुने छ । यहाँ प्रयोग भएको ‘गिन्छु’ भन्ने शब्दले आफूलाई नै लक्ष्ँित गरेको पाइन्छ । यस्तै कवि भन्छन्–
अझै पनि लाग्छ किन, जिन्दगीको माया
छक्कै परी समाजको हेर्छु बाह्य छायाँ । (श्लोक ८, पृ. ७८)
यहाँ कविले पहिलो पङ्क्तिमा थोरै निराशा पोख्दै अझै पनि किन जिन्दगीको माया लाग्छ भनेबाट थोरै निराशतर्फ ढल्किएको पाइन्छ तर यो दोष समाजमा थुपारेका छन्, जसलाई दोस्रो पङ्क्तिले सङ्केत गर्दछ । त्यस्तै कविले श्लोक १० को दोस्रो पङ्क्तिमा,
फल टिपी खानु पर्ने, फुसको पहराको
दोस्रो पङ्क्तिले पनि कविको गरिबी अवस्थालाई पुष्टि गरेको छ । त्यस्तै कविले विद्रोही भावमा ः
जन्म युगै अज्ञानका, मुढा पोल्ने जाति
डाहा गर्छौं विकासप्रेमी, कर्मवीरमाथि । (श्लोक १५, पृ. ७९)
जन्म युगै अज्ञानका, मुढा पोल्ने जाति कविले जन्म युगौँ अध्यारोमा मुढा पोल्ने भन्ने शब्दले पनि गरिबी अन्धकार कथित तल्लो दर्जामा बाँच्नु पर्ने अवस्थालाई डाहा गरेर शोषक सामन्तले सताएको चर्चा गर्दछन् भने तिनीहरू स्वदेशमा बस्न पाए विकास गर्न सक्छन् भन्ने सङ्केत गरेको पाइन्छ । त्यस्तै कविले श्लोक १६ को दोस्रो पङ्क्तिमा,
जन्म लिई मार्छु तिमीलाई सताएर
दोस्रो पङ्क्तिमा कविले बताए अनुसार गासबास जब दिन्नौँ भने मार्छु तिमीलाई भनेबाट पनि कविको जीवनमा आधारित कृति हो भन्न सकिन्छ । त्यस्तै कविले श्लोक २२ मा,
अन्तन्त यो अन्यायको दर्द सहने छ,
तिम्रो एकै झलेका पनि सम्झि रहने छु ।
यहाँ प्रयोग भएका अन्त्यानुप्रासका दर्द सहने छु, सम्झि रहने छु जस्ता शब्दले पनि कवि विद्रोही भएको स्पष्ट हुन्छ । उनलाई गरिबीले सताएको छ र यी शब्दले कविको जीवनलाई नै सङ्केत गरेका छन् । त्यस्तै कविले श्लोक ४३,
सुन्छु स्वर शान्ति तिम्रँे धड्कनको तालमा
तल–माथि तिमीलाई देख्छु मायाजालमा ।
यहाँ ‘सुन्छु’ भन्ने शब्दको प्रयोग गरिएको छ । त्यस्तै दोस्रो पङ्क्तिको देख्छु भन्ने शब्दले पनि कविको स्थितिलाई नै बताएका छन् र यी भावना पनि कविको स्थितिमा आधारित छन् । त्यस्तै कविले श्लोक ५१ मा,
मातृभूमि बिकिन् भने, विश्व खतम गर्छु,
विश्व रूप विराटका, चरणमा पर्छु ।
यहाँ कवि आफू क्रान्तिकारी भएको सङ्केत यसरी गर्छन् । यदि मातभूमि बिकिन् भने म पनि कम हुने छैन, मेरो तेजले जसले देश बेच्छ, त्यसलाई खतम गर्छु भन्ने उद्गार पोख्नाका साथै गर्छु भन्ने शब्द प्रयोग गरिएकाले ती योद्धा कवि नै हुन् भन्न सकिन्छ । त्यस्तै कविले श्लोक ६४ मा,
खेतालो यो प्रकृतिको अभिनय गर्ने
असारमा परेलीका मेला जानु पर्ने ।
खेतालो यो भन्ने वाक्यांश पनि कविसँग सम्बन्धित छ र असार मासमा अरूको मेला जानु पर्ने परम्परा पनि कविको अवस्थासँग सम्बन्धित छ, जसलाई खेतालो यो भन्ने शब्दले प्रष्ट्याएको छ । त्यस्तै, कविले श्लोक ६९ को दोस्रो पङ्क्तिमा,
शून्यतामा गाउँछु व्यथा, सुमानवताको
यहाँ कविलाई मानवता पलाएको हेर्ने मन छ । कसैले नसुने पनि आफ्ना पीडा शून्यतालाई पनि सुनाउन चाहन्छन्, बाट के स्पष्ट हुन्छ भने कवि पीडित छन् र आक्रोशित छन् । त्यस्तै कविले श्लोक ७७,
नमूनाको पृथ्वीमा, कताभरि दिउँला
असङ्ख्य यी जिन्दगीमा विश्व चाहराँैला ।
यहाँ दिउँला भन्ने अन्त्यानुप्रासको प्रयोग भएको छ, जुन क्रिया भविष्यत् कालसँग सम्बन्धित छन् । यी निजात्मक विचार व्यक्त गर्न प्रयोग हुने क्रिया भएकाले कविकै परिस्थितिलाई बताएका छन् । पृथ्वीलाई नयाँ बताउन चाहन्छन् । असङ्ख्य भनौँ, कुनै सङ्ख्या नभएको कुरालाई बताइन्छ तर यहाँ प्रकट भएको भाव कविको आशावाद मौलाएको पाइन्छ । कविले राम्रो विश्व हेर्न चाहेको पाइन्छ । यसबाट पनि प्रष्ट हुन्छ कि “सिमानाको दीप” कविको जीवनीमा आधारित छ । त्यस्तै कविले श्लोक ८८ मा,
जन्म लिँदै पृथ्वीमा, रक्त रवि देखेँ
मानवको रगतमा, प्रश्न चिन्ह लेखेँ ।
यी पङ्क्तिमा प्रयोग भएका देखेँ र लेखेँ । सामान्य भूतकालीन क्रिया प्रयोग गरिएको छ, जुन क्रिया अन्त्यानुप्रासका लागि प्रयोग गरिएको छ । यी क्रियाहरू कविसँग सम्बन्धित छन् र पङ्क्तिमा कवि भन्छन्– जब यस पृथ्वीमा जन्मिए त्यो बेला पनि सूर्यको किरण रातो थियो । यस प्रकारको बिम्बले यो सङ्केत गर्छ कि क्रान्तिले नै सभ्यताको रङ फेर्दछ भन्ने सङ्केत गर्दै दोस्रो पङ्क्तिमा सङ्केत गर्दै मानवको रगत भन्नाले यहाँ उन्नति र प्रगतिमा बाधा पुगेको प्रश्न शब्दले बताउँछ । त्यस्तै, कविले श्लोक ८६ मा,
अश्रुधारा अँजुलीमा, हार उनी राख्छु
मोतिदाना चरी तिम्रा, कवितामा गाँस्छु ।
कविका यी पङ्क्तिहरू ज्यादै सुन्दर छन् । आँसुका धारा अँजुलीमा हार भन्नाले यहाँ कुनै पराजय होइन, ती आँसुका धारालाई मालाको रूपमा उनेर राख्छु भन्नुको अर्थ आँसुले दुःखको सङ्केत गर्छु, दुःख सँगालेर पृथ्वीको नयाँ रूप फेर्न कवि सचेत छन् । मोती दाना चरी भन्नाले श्रमिकहरू हुन् । मोती दाना भन्नाले पसिना हो । चरी भन्नाले श्रमिक हुन् । यी दुई पङ्क्तिका बीच सुख र दुःखको सम्बन्ध बताइएको छ र अन्त्यानुप्रासमा कवि उपस्थित छन् । तसर्थ यी पङ्क्तिले पनि कविको जीवन चर्चा गरेका छन् । त्यस्तै, कविले श्लोक १११ मा,
तिर्खा मेटी गाउँछु गीत, व्यथा बगाएर
भञ्ज्याङमा जिन्दगीको बोझा बिसाएर
यहाँ गाउँछ भन्ने क्रियामा कवि उपस्थित छन् । यी पङ्क्ति पनि कविकै सेरोफेरोभित्र रचना गरिएको छ । यी पङ्क्तिले धोको फेरेर गीत गाउने रहर गरेका छन् । जिन्दगीको बोझा भनेर दुःखलाई प्रतीकात्मक रूपमा लिएका हुन् । यी पङ्क्ति पनि कविको जीवन र उनको आशासँग सम्बन्धित छन् । त्यस्तै, कविले श्लोक १३२ मा,
जिन्दगीको रङ उड्यो, मादकता गयो
बन्दी मेरो मनको धोका मनभित्रै रह्यो ।
यहाँ कविले प्रथम पुरुषको प्रयोग गरेका छन् । जस्तै, मेरा विचारमा जीवनको रहर सेलाउँदै गएको बताउँदै सुख पाउने इच्छा बन्दी बनेको विचार बताएका छन् । त्यस्तै, कविले श्लोक १३३ मा,
बादलको पर्दाभित्र, इन्द्र धनुष राख्छु
स्वागतका आशा बोध, सजाएर डाक्छु
यहाँ कविले राख्छु, डाक्छु जस्ता शब्द अन्त्यानुप्रासका लागि प्रयोग गरेका छन् । यी पङ्क्ति ज्यादै उत्कृष्ट छन् । यहाँ प्रकृति वर्णन छ । उज्ज्वल जीवन छ । साङ्केतिकको अवस्थामा पनि कवि सुख देख्छन्, जसरी बादलभित्र इन्द्र धनुषको उपस्थितिले आकास सुन्दर देखिन्छ, त्यस्तै सुन्दर जीवनबारे स्वागत गर्दै आशाका उज्जवल किरणहरू सजाएर राख्छु भन्ने पङ्क्तिहरू ज्यादै मार्मिक छन् र प्रस्तुति सुन्दर विचार प्रकृतिका आलोकमा आरोपित गरिएको छ । सुन्दर कल्पनाको प्रयोग गरिएको छ । पङ्क्तिहरू वैचारिक कलात्मक भावनात्मक काल्पनिकता प्रकृति र जीवनका बीचको सम्बन्ध सुन्दर भविष्यको चित्रण गर्न सफल भएकाले उत्कृष्ट हुनाका साथै कवि आफू पनि उपस्थित छन्, जसबाट कविको आशा मुखरित भएको भन्न सकिन्छ । त्यस्तै, कविले श्लोक १३४ मा,
मिलनमा मुस्काउँदै, पियुष बर्षाउँला
तिमीलाई लालिमाको, घुम्टो ओढाउँला
यहाँ पनि कविले बर्षाउँला, ओढाउँला जस्ता सामान्य भविष्यत् कालीन क्रिया प्रयोग गरेका छन् । यी पङ्क्ति पनि सुन्दर भविष्यप्रति लक्षित छन् । यहाँ कविले मिलनमा मुस्काउँदै भन्नाको अर्थ सुन्दर शान्त त्यो बेला मात्रै हुन्छ, जुन बेला मानिसका समस्या समाधान हुन्छन् । यहाँ कविले आदर्शको कल्पना गरेका छन् । यहाँ पियुषको अर्थ अमृत हो, जसले सुन्दरताको विषयमा चर्चा गर्दै विचारको पक्ष्ँबाट शान्तिको आशा र सुख बताएको पाइन्छ । लालिमा भन्नाले ललित शब्दबाट लालिमा बनेको छ । लाल शब्दले क्रान्तिको सङ्केत गर्छ । क्रान्तिपछि मात्र कविले सुन्दर जीवनको आशा देखाउँछन् । त्यस प्रकारको विचार यी पङ्क्तिको कलात्मक प्रस्तुतिको माध्यमबाट गरिएको छ । त्यस्तै कविले श्लोक १३६ मा,
सास्तीसँग कुस्ती खेली, राख्छु विपनामा
गगनचुम्बी मञ्जिलमा, पुग्छु स्वपनमा
यहाँ पनि कविले राख्छु विपनामा, पुग्छु स्वपनामा भन्ने शब्दमा पनि आफूलाई उपस्थित गराएका छन् । यी पङ्क्तिमा प्रयोग भएका सपना र विपना भन्ने शब्द यथार्थ र आदर्श जस्तो देखिए पनि कविको विचार उच्च रहेको छ भन्न सकिन्छ । त्यस्तै कविले श्लोक १३८ को दोस्रो पङ्क्तिमा,
तरङ्गिणी देख्छु तिम्रो, छायाँ जहाँ तहाँ
यहाँ पनि कविले आफ्नो उपस्थिति देखाएका छन् । देख्छु भन्ने क्रियाले कविलाई नै बताउँछ । यसबाट यो भन्न सकिन्छ कि “सिमानाको दीप” वैचारिक एवं कविको जीवन यात्रासँग सम्बन्धित छ । त्यस्तै, कविले श्लोक १४० मा,
कलिलैमा बैलाएर ढल्न पर्ने काया
फ्याँकिएको जिन्दगीको, लाग्न छोड्यो माया ।
“सिमानाको दीप” उच्च क्रान्तिकारी भावनाको प्रतिनिधित्व गर्ने खण्डकाव्य हो, जुन कविको जीवनमा आधारित छ । क्रान्तिको राँको बाल्ने कविले यहाँ निराशा व्यक्त गरेका छन् । आफूलाई उमेरमै मर्नु पर्ने भन्ने सङ्केत गरेका छन् । त्यस्तै, जिन्दगीलाई फ्याँकिएको रूपमा लिएका छन् । हुन सक्छ, कवि सामन्तवादबाट ज्यादै पीडित भएर यी पङ्क्तिहरू व्यक्त गरि रहेका हुन् । “सिमानाका दीप” जस्तो क्रान्तिकारी काव्यले यस्ता पङ्क्ति बोक्नु पर्दा दुःखानुभूति गर्न सक्छ । तर, यी पङ्क्तिमा कविको मर्म छ । कविको वास्तविक पीडा छ । तसर्थ व्यक्त गरिएका विद्रोही भावनाभन्दा यी पङ्क्तिहरू पृथक देखिन्छन् । त्यस्तै, कविले श्लोक १४१ मा,
अझै पनि कल्पनाकै व्योमभरि घुम्छु
नेपालकै अनन्तको मञ्जिलमा पुग्छु ।
कविका यी पङ्क्तिले आफ्नै विचारलाई खण्डन गरेको पाइन्छ र यहाँ कवि पुनः आशावादी रूपमा प्रकट हुन्छन् ।
“सिमानाको दीप” खण्डकाव्य कवि गोकुल प्रसाद जोशीको जीवनमा आधारित कृति हो भन्नलाई यस काव्यभित्र यथेष्ट प्रमाण फेला पार्न सकिन्छ । उनले आफ्नो जीवनको अवस्थालाई क्रान्तिकारी रूपान्तरणका लागि सहयोग गरेका छन् । उनको यस कृतिभित्र कतै निराशाका स–साना झिल्काहरू भेटिएता पनि ती नगण्य रूपमा छन् र ती समाजको वस्तुस्थितिसँग निकट रही आशाको दीप बाल्नमा केन्द्रित छन् । यस खण्डकाव्यमा झ्याउरे लयको प्रयोग गरिएको छ । जन स्तरका शब्दहरू छन् । यसका साथै धेरैजसो पङ्क्तिमा कवि उपस्थित छन् भन्नका लागि सामान्य भूत, वर्तमान र भविष्यत् कालमा प्रयोग हुने क्रियाहरू अन्त्यानुप्रासका रूपमा प्रयोग गरेकाबाट पनि छन् । त्यहाँ कविको उपस्थिति पाइन्छ । उनले जीवनलाई क्रान्तिकारी परिवर्तनका लागि सचेत गराएका छन् । उनलाई यस काव्यका आधारमा हेर्ने हो भने ठूलै गरिबीको समस्यामा परेका छन् भन्न सकिन्छ । सुरुदेखि अन्तिमसम्म दुःख–सुखको चर्चामा केन्द्रित वैचारिक कृति “सिमानाको दीप” को आरम्भमा कविको जीवनी भेट्न सकिन्छ भने खण्डकाव्यको उत्तराद्र्ध अवस्थामा आफ्ना गहकिला विचार प्रकट गरेका छन्, जुन विचार प्रौढ र पाका छन् । सामूहिक र मार्मिक छन् । क्रान्तिप्रति आशा जगाई प्रेरणा दिन्छन् र कलात्मक पनि छन् । यसरी यो भन्न सकिन्छ– “सिमानाको दीप” सुक्ष्म रूपमा कवि बोल्छन् । विस्तृत र व्यापक रूपमा जन स्तरीय भाषामा कविका सुन्दर विचार प्रकट भएका छन् । तसर्थ यस खण्डकाव्यलाई वैचारिक कृति भन्न सकिन्छ । कविको जीवन र विचारको घुलनबाट प्रकटित आशाका किरणहरू क्रान्ति र सुन्दर भविष्यप्रति लक्षित छन् ।

३. राष्ट्रवादी भावना
रक्त रवि हिमालयका, काँठकाठै डुलने
पहेँलपुरे देश हाम्रो कसो गरी झुक्ने ? (श्लोक ३, पृ. ७८)
स्वर्गभूमि कल्पना, लर्किएका केश
शान्तिसँग खेली खाने, चित्रमय देश (श्लोक ३८, पृ. ८०)
सभ्यताको हाम्रँे हावा विश्वभरि घुम्ला
मादलका स्वरसँग मानवता झुम्ला (श्लोक १५०, पृ. ८८)
यी पङ्क्तिले यो पुष्टि गर्छन् कि कवि गोकुल प्रसाद जोशीको सिमानाको दीप राष्ट्रवादमा केन्द्रित छ । यस खण्डकाव्यलाई विभिन्न पक्षबाट विश्लेषण गर्न सकिन्छ । यसको विषयवस्तु ठोस आख्यानमा केन्द्रित नभए पनि सुरुदेखि अन्तिमसम्मका पङ्क्तिहरु राष्ट्रवादी भावनामा केन्द्रित छन् । जन्म भयो, झुपडीमा हिमालको कोखमा पङ्क्ति १ ।
स्वच्छ निर्मल छहराको, जल पिएँ भोकमा (श्लोक १, पृ. ७८)
देशको झुपडी प्रकृतिको हिमाल छहरा र भोकको सम्बन्ध चार विषयवस्तु उठाइएको छ । जुन जीवनका अपरिहार्य तत्व हुन्, जसले राष्ट्रको परिस्थिति गरिबी र प्रकृति आदि विषयवस्तु बनाएर सुरुदेखि अन्तिमसम्म केन्द्रित गरेका छन् । बैठानमा कवि यसरी व्यक्त गर्दछन्–
चरणमा चढाउँछ आत्मा अभिनन्दन
स्वागतको कोशेलीमा, हृदयको क्रन्दन (श्लोक २०२, पृ. ९१)
यसरी हेर्दा उठान र बैठानको अवस्थालाई लिने हो भने आख्यानको क्रमबद्धता देखिन्छ तर खण्डकाव्यको विषयवस्तु प्रसङ्गमा केन्द्रित नभई विभिन्न प्रसङ्गको उठान गरिएकाले आख्यान रहित खण्डकाव्यको रूपमा लिन सकिन्छ । तसर्थ सिमानाको दीप जोशीको खण्डकाव्य स्तरको तर प्रकृति र देशको परिस्थिति यसको विषयवस्तु बनेका छन् । यो खण्डकाव्य मानव समस्यामा केन्द्रित छ । सुरुदेखि अन्तिमसम्म राष्ट्रवादी भावनाले प्रेरित छ । यस खण्डकाव्यमा राष्ट्रवादलाई जीवनीका माध्यमबाट देखाएका विषयवस्तुका आधारमा गहन रूपमा प्रस्तुत गरिएको छ ।
रक्त रवि हिमालयका काँठकाँठै डुल्ने
पहेँलपुरे देश हाम्रो कसो गरी झुल्ने ? (श्लोक ३, पृ. ७२)
यी पङ्क्तिहरुले कवि राष्ट्रवादी हुन् भन्ने विचारलाई प्रष्ट पारेका छन् । उनी क्रान्तिकारी हुन् भन्ने धारणा पनि यी पङ्क्तिबाट बुझ्न सकिन्छ । लक्ष्यार्थ रूपमा घुमाउरो शैलीको प्रयोग गर्दै प्रतीकात्मक रूपबाट राष्ट्रवाद र क्रान्तिको झल प्रकट गरेका छन् । यहाँ कविले बिहानको रातो सूर्य, जो हिमालमा ठोक्किएर आएका प्रकाशका राता किराहरुलाई क्रान्तिको र चेतनाको प्रतीक मानेका छन् । काँठ भन्नाले पहाड वा हिमालमुनिको विकट ठाउँलाई बुझ्नु पर्छ । जब ती विकट बस्तीहरु चेतनाको दीप बाल्छ, त्यो दीप क्रान्तिका सङ्केत हो । क्रान्ति नभएसम्म पहेँलपुर रूपमा देश उन्नति र समृद्धितर्फ जान सक्दैन । तसर्थ देशलाई समृद्धि बनाउनु क्रान्तिको आवश्यकतामा जोड दिएका छन् । ती राता किरणहरु बनाउन क्रान्तिको आवश्यकता जोड दिएका छन् । ती राता किरणहरु पहाडको काँठैकाँठ डुल्छन् भन्नाको अर्थ हिमाल, पहाड तराई सबैतिर क्रान्तिले ब्युँझाउन्छ भन्ने कविले वैचारिक धारणा व्यक्त गरेका छन् ।

४. प्रकृति चित्रण ः

कवि गोकुल प्रसाद जोशीले मानवीय विचारलाई प्रकृतिका आलोकबाट व्याख्या विश्लेषण गरेका छन् । प्रकृतिका समिपबाट जीवनलाई हेर्ने दृष्टिकोण निर्माण गर्नका साथै प्रकृति र मानवका बीच अपरिहार्य सम्बन्ध प्रकट गरेका छन् । कविले मानवका व्यवहारलाई पुष्टि गर्न प्रकृतिका बिम्बको सहयोग लिएका छन् । यो खण्डकाव्य मूलतः राजनीतिक विचारबाट प्रेरित छ, तापनि प्रकृतिको महङ्खवको चर्चा गर्दै त्यसको आवश्यकताका विषयमा प्रकृति वर्णनले मिठास भर्दै क्रान्तिका ओजस्वी भावना यस खण्डकाव्यमा प्रकट भएका छन्–
नदीनाला आँसु भए, डाँडाकाँडा धुरी
बादलका गुच्छा बोकी, हिँड्ने चिसो हुरी । (श्लोक ९, पृ. ७८)
कविले प्रकृतिका आलोकमा मानवीय सुख र दुःखका चर्चा गरेका छन् । नदीनालालाई दुःख पाएका मानिसहरुको प्रतीकको रूपमा लिइएको छ । डाँडाकाँडालाई अग्ला भएका कारणले सौखिन मानिसका रूपमा लिएको छ । बादललाई चेतनाको वाहकका रूपमा लिएका छन् तर ठोस रूपमा भन्ने हो भने यी पङ्क्तिहरुभित्रको नदीनाला आँसु भन्ने शब्दले मात्र प्रष्ट अर्थ दिन सक्ने बुझिन्छ । अन्य पङ्क्तिहरु प्रतीकात्मक प्रकृतिको प्रयोग गरी मानवीय अवस्थामा केन्द्रित रहेको मान्न सकिन्छ । जसमा आलङ्कारिक भाव व्यक्त भएको छ ।
स्वर्गभूमि कल्पना, लर्किएका केश
शान्तिसँग खेली खाने, चित्रमय देश । (श्लोक ३८, पृ. ८०)
यी पङ्क्तिहरुमा सुखानुभूति गराउँदै आलङ्कारिक भावमा विचार प्रकट गरेका छन् । त्यस्तै, यिनै पङ्क्तिमा साथै कविले कारुणिक अवस्था प्रकट गरेका छन् जुन मानवमा आरोपित गरिएका छन् ।
झुक्न होला फलसँग ढल्किएका टुप्पा
सुक्न लागे बसन्तका कुसुमका झुप्पा । (श्लोक ५३, पृ. ८०)
निश्चितै रूपमा फलेको हाँगो निहुरिन्छन् तर यहाँ फलका झुप्पा सुक्न लागेको भन्नाको तात्पर्य कुशासनले चर्को खडेरी पा¥यो । एकातिर जानु पर्ने समयको गति उल्टो घुमेको सङ्केत बसन्तमा सुकेका कुसुमका झुप्पोले बताउँछन्, जसले जीवनको निकटमा रहेर जीवनको वास्तविक गहिराइतर्फ सङ्केत गरेको पाइन्छ । दोस्रो पङ्क्तिले बसन्त ऋतुमा टुप्पाहरु हरियो हुनु पर्ने हो तर उल्टो प्रक्रियामा टुप्पाहरु सुक्न लागे भन्नाको सङ्केतबाट नियमलाई उल्टो घुमाइयो र मानिसले दुःख पायो भन्दै अनिष्टको सङ्केत गरेको पाइन्छ । यी दुवै पङ्क्तिहरु लक्ष्यार्थ रूपमा प्रकट गरिएका छन् । सुख–दुःखको द्वन्द्व चर्चामा केन्द्रित छ । कवि पुनः भन्छन्– झुल्ने झुला, जसको सङ्केत आलङ्कारिक भाव नै विशिष्ट रूपमा रहेको छ तर यसले दोस्रो पङ्क्तिको उषा भन्ने शब्दलाई पुष्टि गरेको छ, जसको अर्थ हुन्छ– सुन्दर दिन प्रकृतिमा जसरी आउँछ, मानव जीवनमा पनि त्यसरी नै आउनु पर्छ भनी कविको विचार छ ।
झुल्ने झुला इन्द्रेनीको, पिङ बनाएकी
मुस्काउँदै क्षितिजमा, उषा उदाएकी । (श्लोक ९०, पृ. ८४)
बादलमा कस्तुरीको बास लुकाएर
चँदुवामा बिजुलीको तोरण सजाएर । (श्लोक १०८, पृ. ८५)
जस्ता पङ्क्तिहरुमा कविले काल्पनिक क्षमताको उचाइ लिएका छन् । संस्कारयुक्त संस्कृतिलाई प्रकृतीकरण र प्रकृतिलाई मानवीकरण गर्ने कविको क्ष्ँमता अद्वितीय रहेको पाइन्छ । माथि उल्लेख गरिएका पङ्क्तिहरु जीवनमुखी छन् । संस्कृति र संस्कारमुखी छन् । मानवीय समस्यामा आधारित छन् । मानवीय समस्यालाई प्रकृतिको कलामय जादुबाट प्रकट गरिएको छ । प्रकृतिमा जीवनसत्ताको चर्चा गर्दै बिम्ब र प्रतीकका माध्यमबाट लक्ष्यार्थ भाव प्रयोग गर्दै काव्यलाई जीवनको निकटतामा ल्याइएको छ । विषय वस्तु पनि वर्गीयतामा आधारित छ । तसर्थ कविको प्रकृतिप्रतिको मोह र त्यसलाई मानवीकरण गर्ने अद्वितीय कल्पना समेत यस काव्यमा पाइन्छ ।

५. देशको राजनीतिक अवस्था

सिमानाको दीप खण्डकाव्य विचारमा केन्द्रित भएकाले यसको धरातल पनि वैचारिक रहेको छ । यो शोषक र शोषित वर्गको स्थिति चित्रणमा केन्द्रित छ । यसको रचना गर्दा वर्ग द्वन्द्वलाई आधार बनाइएको छ ः
टिपे पनि लुछाचुँडी, पार्ने चिरैचिरा
बोक्रो मात्र चिल्लो, भित्र हुन्छन् किरैकीरा (श्लोक ११, पृ. ७८)
कविले यी पङ्क्ति मार्फत् यस्तो बताएका छन् । सामन्तवादी व्यवस्थाको विषयमा चर्चा गर्दै यो बताएका छन् कि फल लागेका पनि ती फलका निम्ति आपसमा लुछाचुँडी गर्छन् । लागेका फलभित्र किरैकिरा हुन्छन् । बाहिर बोक्रो जतिसुकै सुन्दर देखिए पनि सामन्तवादी व्यवस्था गुदी नभएको, किरा लागी सडेको बोक्रो आदर्श हो भन्ने विषयमा उनले चर्चा गरेका छन् । यस्तै अर्को श्लोकमा कवि यसरी बताउँछन् ।
जनताको कमाइमा बसी बसी खाने
पवित्रता पाएसँगै, मञ्जिलमा जाने । (श्लोक २०, पृ. ७९)
यी पङ्क्तिले प्रष्ट रूपमा ठग्ने र ठगिनेबीचको भिन्नता बताउँदै समाजमा दुई वर्ग छन् । श्रमिक वर्ग शोषक वर्ग रहेका छन् । ती दुई वर्गका बीच भेद रहेको विषयमा चर्चा गर्दै बसी बसी खानेहरुले श्रमिक वर्गलाई विभिन्न प्रलोभन र बहानामा ठग्ने गरेका छन् । शोषक वर्ग स्वार्थी वर्ग हो भने सङ्केत पनि कविका पङ्क्तिबाट बुझिन्छ । कविले नेपालको राजतन्त्रको विषयमा यसरी चर्चा गरेका छन् ः
राज तिम्रो नेपाल यो अर्ध कृषि देश
नेपालका भूपतिको, भिखारीको भेष । (श्लोक ५९, पृ. ८१)
राजतन्त्रप्रति सङ्केत गर्दै कविले यो बताएका छन्– हाम्रँे देशको भूपति मागी खाने हो । काम गर्नको लागि उर्वर भूमि हुँदा हुँदै लक्ष्यविहीन भएको राजतन्त्रको उद्देश्य मागी खानु रहेको छ, जसले मुलुकलाई कङ्गाल बनाएको छ । तर हाम्रँे मुलुक कङ्गाल होइन, गर्न सके यस धर्तीमा जे पनि उत्पादन हुन्छ, मागी खानु पर्दैन तर अल्छी र स्वार्थी राजा भिखारी बनि रहेको छ भन्ने कविको आसय रहेको छ । कवि नेपालको दुर्भाग्य बसी खाने अल्छी राजतन्त्र हो भन्ने विषयमा केन्द्रित रहेका छन् । त्यस्तै कविले यो बताएका छन्–
नरहला मानवको आँसु पिउने दरबार
नरहला छल, कपट, नरहला चित्कार । (श्लोक ९५, पृ. ८४)
राजतन्त्रको अन्त्यका लागि घोषणा गर्दै कवि यस्तो दिनको आशा गरेका छन् । जुन दिनमा राजा र राजदरबारको अन्त्य होला, त्यो दिनमा युगौँदेखि जनतालाई कुशासन दिएर आँसु र चित्कारमा डुबाएका छन्, त्यसको अन्त्य भई जनवादी गणतन्त्र वा वर्गविहीन समाजको आवश्यकतामा कविले जोड दिएका छन् । त्यस्तै कविले यो बताउँछन्–
बुद्धि बल विवेकमा, अघि लाग्नु पर्छ
समदर्शी अगुवाको, पछि लाग्नु पर्छ । (श्लोक १८५, पृ. ९०)
बल बुद्धि भएको दुरदर्शी नेतृत्वको अगुवाइमा सङ्घर्ष हुुनु पर्छ, तब मात्र राजनीतिक उद्देश्य सफल हुन्छ भन्ने नीतिको चर्चा कवितामा गरिएको छ । बल र बुद्धिका बीच दुरदर्शी नेतृत्वले सन्तुलन मिलाएर लैजान सकेमा क्रान्ति सफल हुन्छ भन्ने कविको विचार रहेको छ । सही नेतृत्वले क्रान्ति गर्न सकेमा छटपटाइ रहेको मानवताका विषयमा यसरी चर्चा गरिएका छन् ।
मानवता छटपटायो व्यथा के हो बोल
समाजको थोत्रिएको झिल्काइ देऊ खेल । (श्लोक १६३, पृ. ८८)
कविले श्रमिक वर्गप्रति लक्षित गर्दे पुरानो राज्य सत्ताका विरुद्धमा सङ्घर्ष गर्न प्रेरित गर्दै त्यसले आएका सबै खाले प्रवृत्तिको अन्त्य गर्न आह्वान गरेका छन् । यहाँ अन्धविश्वास, कुरीति, कुसंस्कारलाई मानवताको खोल ओढाएर अन्यौलमा पारिएको छ भन्ने चर्चा छ । समाजका त्यस्ता खोलहरु मिल्काउनु पर्छ भन्ने कविको विचार रहेको छ । उनका विचारमा,
किन कोही गल्लीगल्ली, भीख मागी घुम्ने
किन कोही गल्लीको विलासमा डुब्ने ? (श्लोक ११८, पृ. ८५)
कविले यो चित्रण गरेका छन् कि वर्गीय समाजमा श्रमिक र शोषकका बीच कति अन्तर हुन्छ ? प्रकृतिमा समान जन्मिएको मान्छेलाई विचार र संस्कारले कति अन्तर पार्छ भन्ने विषयमा यी श्लोकका सुरुको हरफको दोस्रो हरफले अन्तरसम्बन्ध रही बेग्ला बेग्लै परिस्थितिको चर्चा गर्दै दुई वर्गका बीच कति अन्तर छ भन्ने विषयलाई गल्ली र हवेलीको घुम्ने र विलासी जीवन बिताउनेका बीच भिन्न रेखा कोर्न वर्गीय समाजको विषयमा राम्ररी उठाएर देशको राजनीतिक अवस्थामा केन्द्रित हुँदै शासक र शोषित वैचारिक अवैचारिक कुसंस्कार संस्कृतिको अन्त्य गरी वर्गद्वन्द्वमा आधारित कविता रचना गर्दै देशको जटिल परिस्थितिमा अदुरदर्शी नेतृत्व, शोषक वर्ग र श्रमिक वर्गका बीचको फराकिलो दुरी तिनीहरुका बीचमा हुने सङ्घर्ष र आर्थिक अवस्थामा अएको जटिलता पुरानो व्यवस्था रहेसम्म नयाँ निर्माणको सम्भावना जटिल हुन गएकाले यसका लागि राजतन्त्र बाधक भएको छ । त्यसलाई नमिल्काएसम्म समाजको उन्नति हुन नसक्ने विचार कविले प्रकट गरेका छन् ।

६.“सिमानाको दीप” मा वर्गीय चेतना

कवि गोकुल जोशी मात्र नभई जुनसुकै व्यक्तिलाई पनि सिर्जना गर्नका लागि प्रेरणाको आवश्यकता पर्दछ । त्यो आफ्नै जीवनको पृष्ठभूमि सामाजिक चेतना सैद्धान्तिक अध्ययन हो । यहाँ गोकुल जोशीलाई सिर्जना गर्नका लागि आवश्यक तङ्खव निम्न रहेका छन् ः
(१) २००९ देखि २०१८ सम्मको अवधिमा उनले आफ्नो साहित्यिक प्रतिभाको राम्रँ परिचय दिएका छन् । जनकवि गोकुल प्रसादका सङ्कलित रचनाहरु, सम्पादक ः सुकुम शर्माको २०५९ अनुसार यसै कालमा उनी नेपाल कम्युनिस्ट पार्टीको सदस्य भएर यस पार्टीप्रति प्रतिबद्ध रहेको पनि जनाइएको छ ।
(२) प्रगतिशील लेखक सङ्घमा आबद्ध कवि सर्वहारा वर्गको मुक्तिमा सचेत रहेर आफ्नो लेखनमा त्यसलाई स्पष्ट रूपले उठाएको पनि देखिन्छ (सुकुम शर्मा, २०५९ अनुसार) ।
(३) गरिब परिवारमा जन्मिएका गोकुल जोशी जीवनभर गरिब वर्ग मारमा पिल्सिएर वा अभावै अभावका पिरमा रन्थनिएर यस धर्तीबाट विदा भएको कटु यथार्थ जति मुटु चिमोट्ने खालको छ । त्यति नै उनको कवि व्यक्तिŒव उर्जात्मक, प्रेरणादायी र सङ्घर्षले ओतप्रोत रहेको अभावै अभावमा पिल्सिएका कविले यस अभावबाट मुक्त हुन साम्यवादी समाजको सपना पालेको देखिन्छ । उनको त्यस सपनाको हुँकार उनका कृतिका पत्रपत्रमा गुञ्जिरहेको छ । उनका कृतिका पत्रपत्रमा हुँकार र छाडि रहेको छ । उनको चम्किलो कवि व्यक्तित्व नै यस पृष्ठभूमिमा स्मरणीय र अमर छ र रहने छ ।
ती तिन प्रकारका प्रेरणा कवि जोशीलाई मिलेकाले उनी सफल प्रगतिवादी कवि हुनाका साथै उनका कवितामा वर्गीय चेतना मुखरित भएको छ । “सिमानाको दीप” को विषयमा उक्त पुस्तकको भूमिकामा गोविन्द भट्टले जनकविको श्रद्धा गर्दै माक्र्सवादी दर्शन र गोकुल जोशीका कवितामा नेपाली माटो अनुसार झङ्कृत भएको वर्ग सङ्घर्षको बोललाई मूल्याङ्कन गरेका छन् । यसबाट यो स्पष्ट हुन्छ कि गोकुल जोशीको “सिमानाको दीप” वर्गीय चेतनामा आधारित छ । उनको गरिबी अवस्थाका कारणबाट सिमानाको दीपको रचना गरिएको हो भन्नका लागि,
“जन्म भयो झुपडीमा हिमालको कोखमा
स्वच्छ निर्मल छहराको जलपिएँ भोकमा” (श्लोक १, पृ. ७८)
झुपडी, हिमालको कोख, स्वच्छ निर्मल छहरा जस्ता शब्दले यो सङ्केत गर्दछन् । मन्द रूपमा जोशीको परिवार र उनको अवस्था जटिल थियो । त्यस्तै†
शिशु बनी बाल्यकालको खेल खेलि दिन्छु
जिन्दगीको बाँकी दिन कष्टमय गिन्छु । (श्लोक ७, पृ. ७८)
यी पङ्क्तिले कविको बाल्यकाल चञ्चल हुँदा हुँदै पनि कष्टमय रूपमा बितेको भन्न सकिन्छ । यसबाट पनि कविलाई समस्याले वर्गीय विचारप्रति आकर्षित बनाएको हो । कष्टकर जीवनलाई पुष्टि गर्दै कविले,
छैन कतै छेऊ टुप्पो, झयाङ लहराको
फल टिपी खानु पर्ने, फुस पहराको । (श्लोक १०, पृ. ७८)
यी पङ्क्तिले कविको जीवनलाई समेट्न खोजेता पनि गरिब वर्गको चित्रणमा केन्द्रित छन् । यसबाट यो स्पष्ट हुन्छ– कवि जोशीले “समानाको दीप” खण्डकाव्य आफ्नो जीवनमा आधारित मानेता पनि आम समस्याको विषयमा केन्द्रित भई सर्वहारा वर्गप्रति उनी केन्द्रित छन् ः
टिपे पनि लुछाचुँडी, पार्ने चिरैचिरा
बोक्रो मान चिल्लो, भित्र हुन्छन् किरैकिरा । (श्लोक ११, पृ. ७८)
रीति, नीति सामूहिक मनोनित धर्म
दरिद्रका पसिनामा पौडी खेल्ने कर्म । (श्लोक १२, पृ. ७८)
यी पङ्क्तिहरुले वर्गीय सत्ताका विषयमा राम्ररी चर्चा गरेका छन् । सामन्तवाद बाहिर देख्दा जति राम्रो जस्तो देखिन्छ, तर भित्र त्यसका आफ्नै विकृतिका कारण किराले समाप्त पारि रहेको हुन्छ । यदि टिकि हाल्यो भने पनि त्यो टिकाउ हुँदैन भन्नाको अर्थ उसैको अन्तरविरोधबाट त्यो समाप्त हुन्छ । सामन्तहरुले नियम र नीति देखावटी रूपमा बनाएता पनि मनोनित गरेर समाजका आँखामा छारो हाल्ने गर्दछन् । उक्त भ्रमयुक्त तन्त्रबाट जनताको पसिना सञ्चित गर्ने लुटेर खाने गर्दछन् भन्दै कविले सामन्त वर्गलाई ठगाहा वर्गको रूपमा लिएका छन् । त्यस्तै†
जति दब्यो उत्ति दमन, गर्ने पानी राज
नैतिकताको सिँढीबाट, खस्न लाग्यो आज । (श्लोक १३, पृ. ७८)
जन्मैदेखि नेपालीको रगत कति खोस्छौ
विदेशीलाई जनताको आँसु कति पोख्छौँ ? (श्लोक १४, पृ. ७८)
यी पङ्क्तिले सामन्तको राज्य व्यवस्थापनमा जति चुप लागेर बस्यो, त्यति त्यसले दमन गर्छ । जो नैतिक पतन हुन्छ, त्यो अत्याचारको सीमा नाघेर दमनमा उत्रिन्छ । हाम्रँे राज्यले युवा बेच्ने परम्परा अपनाएको छ । तिनको रगत पसिनामा मोटाएको छ । हाम्रो गरिबी र दुःख, विदेशीका लागि उच्चतम उपलब्धि भएको छ, त्यसको परिणामस्वरूप जनताको गरिबी गएन तर सामन्त मोटाउनु नै प्रक्रिया निरन्तर रूपमा रहेको छ भन्ने कविको विचार रहेको छ । उनी भन्छन्–
नेपालका टाकुरामा दिन उदाएनन्
अझै हाम्रँे पर्वतमा भाले कराएनन् । (श्लोक ४९, पृ. ८१)
नेपालीलाई दमन गर्ने, देश बेचेर खाने राज्य सत्ताका विरुद्धमा लाग्नु पर्ने आशय व्यक्त गर्दै यहाँ टाकुरामा सूर्य उदाएन भन्नु अर्थ सधै अन्धकार रह्यो, चेतनाको विकास हुन सकेन । त्यस्तै चेतना जगाउनका लागि वा क्रान्तिका लागि जसरी भाले बिहानमा बासेर सुनसानको सन्नाटा तोड्छ, त्यसरी नै विकट ठाउँमा क्रान्तिको चेतना आउनु पर्दछ भन्ने विचार भाले र सूर्यलाई चेतना र नेतृत्वको उपमा दिँदै टाकुरा र पर्वतलाई विकट मानेका छन् । यस्तै कवि भन्छन्–
जिन्दगी नै सर्वहारा, जन्म युगौँ सेवा
विनासिनी बसुन्धरा, मानवकी पेवा । (श्लोक ६३, पृ. ८२)
यी कवि सर्वहारा सर्वहाराको पक्षमा छन् । जिन्दगी नै सर्वहारा भएको विषयमा चर्चा गर्दै विनास भएको धर्ती उत्पादन नहुने रुखो जमिन सर्वहाराले रसाएर उत्पादनमुखी बनाएको चर्चा कवितामा आएको छ । जीवन कष्टमय भएमा तथ्य कवितामा प्राप्त छ भन्ने कविको विचार छ । कवि आशावादी हुँदै†
नरहला मानवको, आँसु पिउने दरबार
नरहला छल, कपट नरहला चित्कार (श्लोक ९५, पृ. नं. ८४)
सर्वहाराको जीवन जटिल अवस्थामा रहेता पनि सङ्घर्षको बलमा सामन्तवाद ढल्ने छ भन्ने आशा जगाउँदै ठगी खाने दरबार हुने छैन र मान्छे पीडित हुने छैन भन्ने साम्यवादी युगको आशामा कविमा रहेको छ । कविले यी पङ्क्तिमा दुरदर्शी विचार प्रकट गर्दै भोलिको युगको यथार्थमा छन्, जुन युगमा ठगी खाने वर्ग रहने छैन भन्छन्–
निर्ममताको विधिविधान दानवको देश
मानवता छैन भने नरहेकै बेस । (श्लोक ९६ पृ. ८४
कविले आक्रोश पोख्दै जहाँ निर्मम दमन हुन्छ, नीति नियम हुँदैन, त्यस्तो देश रहनुभन्दा नरहेकै जाति हुन्छ । जहाँ मानवता छैन, त्यहाँ दानवको राज चल्छ भन्नाको अर्थ अराजकताले सीमा नाघेपछि मूल्य र मान्यताको नास हुन्छ, त्यहाँ मानवताभन्दा बढी दानवताले प्रश्रय पाउँछ । त्यस्तो देश नरहेकै राम्रँे हुन्छ भन्ने आक्रोशित व्यङ्ग्य प्रस्तुत गरेका छन् । यहाँ कविले सुन्दर कल्पना गर्छन् ।
खरानीमा मैदानका, फूल लगाउँदा
नौलो नयाँ मानवको नगर बसाउँला । (श्लोक ९७, पृ. ८४)
कविले जहाँ उत्पादन हुँदैन, त्यस ठाउँलाई उत्पादनयुक्त बनाउँला । जसरी तराई उर्वराभूमिको रूपमा परिचित छ, त्यसरी नै मिहिनेत र पसिनाले विकट ठाउँलाई उत्पादनयुक्त बनाएर देश विकास गर्न सक्छौँ भन्ने आशय प्रकट गर्दै पुरानो सत्तालाई विस्थापित गर्दै मान्छेको सुन्दर समाज निर्माण हुनु पर्दछ भन्ने कविको विचार रहेको छ । त्यसैले कवि भन्छन्–
जुनेलीको आलिङ्गन नपाउने भोका
सङ्गीतले घच्घच्याऊ हृदयको ढोका । (श्लोक १६१, पृ. ८८)
अशिक्षित र अज्ञानीलाई शिक्षाको ज्योतिले छोएन वा तिनीहरु चेतनशील हुन सकेनन् । अन्धकारमा बाँचिरहे भने जुनको अङ्गालोमा भन्नुको अर्थ उज्यालाृको आवश्यकता हुने तथ्य कविको छ । सङ्गीत भन्नाले आवाज हो, जुन सङ्गीतले उज्यालो र चेतनाको भावनात्मक सम्बन्ध राखेको छ । जहाँ यी दुईको अभाव छ, त्यहाँ दुःख छ, साथै सुखी जीवन पाउनका लागि यी दुईको अनिवार्य आवश्यकता छ । कविले यिनलाई सङ्घर्षको पूर्वाधारका रूपमा लिएका छन् ।
अन्त्यमा भन्नु पर्दा कवि प्रकृतिलाई मानवीकरण गर्दै पहाड गाउँबस्तीका समस्याहरु ओझेलमा परेका छन् भने अर्कातर्फ, मान्छे बेचेर खाने शासकहरु अन्याय अत्याचार गर्दै खरी झरेको मादल बजाएर जनतालाई अनैतिकता अराजकता वाहेक केही दिन सकेका छैन भन्ने यथार्थ प्रस्तुत गर्छन् । यहाँ कवि सामन्तवादी व्यवस्था र सर्वहाराबीचको सङ्घर्षमा केन्द्रित हुँदै पुँजीवादका विकृति विसङ्गतिको चर्चा गर्दै सर्वहारा वर्गको समस्या देखाउँदै वर्गीय धाराको बाटामा डो¥याएका छन् । उनले सुख–दुःख सबै आफूमा आरोपित गर्दै यस काव्यलाई जीवनमुखी बनाएका छन् । राज्यसत्ता र गरिब वर्गका बीचको अन्तरद्वन्द्व प्रस्तुत गर्नु र वर्गधारको स्थिति चर्चा गर्दै प्रष्ट रूपमा ती दुईका बीचको भिन्न रेखा कानुनबाट नै वर्गीय महङ्खवलाई चर्चा गरेका छन् । यहाँ जे जस्ता पङ्क्तिहरु प्रस्तुत गरिए, ती वर्गसङ्घर्षका वैचारिक पङ्क्ति हुन् भनी कविले वर्गलाई मान्यता दिन्छन् भन्ने विचार यसरी पुष्टि हुन्छ–
आफ्नो कमाइ आफै खाने समताको बलमा
विश्व शान्ति समृद्धिको सङ्घर्षको फलमा । (श्लोक १२७, पृ. ८९)
यी पङ्क्तिले कवि स्पष्ट रूपमा क्रान्तिकारी हुन् भन्ने पुष्टि गर्दछन् र “सिमानाको दीप” निजी जीवनमा आधारित भएता पनि विचार फराकिला छन् । धेरैजसो पङ्क्ति मानव समस्यामा केन्द्रित छन् । विद्रोहका लागि आवश्यकता देख्छन् । सामन्त र सर्वहाराबीचको दुरी ज्यादै फराकिलो छ भन्ने आसय प्रकट गरेकाले “सीमानाको दीप” वर्गीय प्रेममा आधारित कृति हो ।

७. विद्रोही स्वर

“सिमानाको दीप” कविको जीवनीबाट आरम्भ भएको देखिन्छ तर त्यसमा विस्तृत रूप राष्ट्रवादी स्वर विकसित भएको पाइन्छ । यस कृतिमा राष्ट्र र जनताको समस्या समाधान गर्न क्रान्तिको आवश्यकतालाई औँल्याएको छ । यस कृतिमा व्यापक रूपमा विद्रोही भावना भेट्न सकिन्छ । जस्तै,
विज्ञानको विरोध गर्ने ब्राह्मणको धर्म
प्रगतिको गला रेट्ने गुमरीहरूको धर्म । (श्लोक ६०, पृ. ८२)
यी पङ्क्तिले अन्धविश्वासलाई प्रश्रय दिएर विज्ञान र प्रगतिका गला शास्त्रार्थ गर्न जान्ने महापण्डित कहलिएका ठुला कुलघरानका ब्राहमणहरूले विज्ञानको गला रेट्दै जनतालाई गुमराहमा राख्ने काम गरी रहेका छन् भन्ने आशय यी पङ्क्तिको रहेको छ । जसले व्यङ्ग्य समेत गर्न खोजेको पाइन्छ । यी पङ्क्तिबाट कवि परम्परावादी नभई विद्रोही हुन् भन्ने पाइन्छ ।
छहरामा नसुनिने विरहको डाँको
हृदयमा नदेखिने, विद्रोहको राँको । (श्लोक २७, पृ. ७९)
कविका विचारमा मानिसका हृदयभित्र विद्रोहको आगो बली रहेको छ तर प्रतिक्रियावादको दमनले जसरी छहरा छङछङ बगेका बेला पारिपारिको आवाज छहराको आवाजले सुन्न सकिन्न । त्यस्तै हृदयभित्र विद्रोह गुम्स्याएकाहरू दमनका कारणले बोल्न सकिरहेका छैनन् भन्ने विचार दमनको प्रतीक छहराको आवाजलाई प्रतीकात्मक रूपमा लिएका छन्, जसको अर्थ दमनकारी शासन हुन्छ । कविका विचारमा,
ज्युँदो मुटु कलेजोमा, क्रान्ति फुल फुल्छ
नेपालको नौलो हावा, संसारमा डुल्छ । (श्लोक १६०, पृ. ८८)
ज्युँदो मुट र कलेजो भन्नाले साहसीहरूले विद्रोह गर्छन् । क्रान्तिको बेग रोकिन्न । त्यसको प्रभाव विश्वभरि पर्छ । यहाँ कविले क्रान्तिलाई हृदयको माझमा फुल्ने फूलको उपमा दिएका छन्, जसलाई विद्रोह एवं सुधारको आशाको प्रतीक मानेका छन् र उनका ती विचारमा क्रान्ति नभएसम्म मुर्दा शासनले सताई रहन्छ भन्दै यी पङ्क्तिका माध्यमबाट यो सङ्केत गर्न खोजिएको छ । नेपाल विश्व क्रान्तिको जग हो । यहाँबाट बगेको हावाले विश्वमा क्रान्ति हुन्छ भन्ने कविले उच्च आशा प्रट गरेका छन् । कवि भन्छन्–
अर्को नयाँ निर्माणको, विश्व पनि आउँला
फेरि पनि नेपालीले क्रान्ति गीत गाउला । (श्लोक १४८, पृ. ८७)
यी पङ्क्तिले राणा शासन त ढल्यो, देशमा प्रजातन्त्रको उदय पनि भयो तर ठोस र मूर्त रूपमा जनताको प्यारो क्रान्ति अझै आउनु पर्छ । यसभन्दा पूर्वका घटनाले ठोस रूपमा परिवर्तन गर्न सकेनन् । समस्याहरू ज्युँका त्युँ छन् । परिवर्तनका सङ्केतहरू देखिएनन् । तसर्थ फेरि पनि नेपालीले क्रान्तिको गीत गाउनु पर्ने आवश्यकता बताउँदै भविष्यत् कालको वाक्य प्रकट गरी क्रान्तिको आशामा छन् । भविष्यत् कालका क्रिया (आउला, गाउला) जस्तो प्रयोगबाट कवि आशावादी देखिन्छन् । कवि यो आह्वान गर्छन् ।
चढ्दो जीवन ढल्न नदेऊ जीवनका छाला
मरुभूमि बन्न नदेऊ धर्तीका सवाल । (श्लोक १५३, पृ. ८८)
यी पङ्क्तिहरूले विद्रोहका लागि अग्रसर हुने क्रान्तिकारीहरूलाई प्रेरणा दिँदै जीवनको चढ्दो उमेर त्यसै खेर नफाल । देश मूरुभूमि हुन आँटेको छ । यसको रक्षा गर्ने जिम्मा तिम्रो काँधमा आई परेको छ । तिमीले रक्षा गरेमा मात्र मुलुकको रक्षा हुन्छ भन्ने कविले विद्रोही युवालाई सचेत पार्दै मुलुक रक्षाका लागि सक्रिय हुन आह्वानबाट गरेका छन् । त्यस्तै कवि भन्छन् ः
ज्वालामुखी उचालिँदा, पर्वत यो हिल्ला
छैनपछि हट्ने ठाउँ, यही हो हद किल्ला । (श्लोक १९८, पृ. ९१)
कविले सुधारका लागि यति ठुलो विद्रोह आवश्यक देख्छन्, जसरी भँुइचालो वा ज्वालामुखीले ठुला ठुला पर्वत पल्टाउँछ । यहाँको शासनलाई त्यही रूपमा पल्टाउन पर्छ । यो नै क्रान्तिको अन्तिम विन्दु हो, जसबाट आमूल परवर्तन हुन्छ । यसका लागि क्रान्तिको अपरिहार्य आवश्यकता छ । पर्वत पल्टाउने क्रान्तिको सङ्केत नै आम विद्रोहको सङ्केत हो । सानातिना घटनाले हलचल मच्चाउन सक्दैन । समस्या यथावत रहन्छन् भन्ने कविको विचार छ । कवि भन्छन् ः
बर्सिएला नेपालमा, विज्ञानको सुधा
मेटिएला मानवको, हृदयको क्षुदा । (श्लोक १९१, पृ. ९०)
क्रान्तिले परिवर्तन ल्याउँछ भन्ने आशय प्रकट गर्दै नेपालमा विज्ञानको अमृत वर्षा होला । जसको अर्थ नेपालमा शान्ति होला । हाम्रो उन्नति होला । हाम्रा मनका व्यथा हट्लान् भन्ने विचार प्रकट गर्दै आमूल परिवर्तन ल्याउनु पर्ने तत्पश्चात् मात्र शान्ति हुने विचार कविले व्यक्त गर्छन् । यी विज्ञानका सुधा बसिनका लागि पुनः कवि यसको आवश्यकता देख्छन्–
सङ्घर्षमा हुर्किएको, ठोकर खाने छैन
चितामाथि कङ्कालको, स्वर सुनिदैन । (श्लोक १८२, पृ. ९०)
सङ्घर्षले हरेक वस्तुलाई मानव चेतनालाई समय परिस्थितिलाई परिपक्क बनाउँछ, जसले मानवलाई, युगलाई, समय परिस्थितिलाई दबाउने वा सताउने प्रतिक्रियावादको कङ्काल सङ्घर्षको चितामा जल्दा त्यसले जतिसुकै चित्कार गरे पनि कसैले सुन्ने छैन भन्ने सङ्केत गर्दे सुधारका लागि व्यापक रूपमा क्रान्तिको आवश्यकता औँल्याएका छन् । यी पङ्क्तिले क्रान्तिलाई लक्ष्यार्थ गरेका छन् । कङ्काल शब्दको अर्थले डरलाग्दो युगलाई सङ्केत गरेको छ, जसलाई क्रान्तिको मुङ्ग्राले ठोकेर सही आकारमा ल्याउन सकिन्छ भन्ने कविको विचार छ । कविले आफ्ना पङ्क्ति मार्फत् यस्तो बताउँछन्–
रमाइलो लाग्छ तिम्रो समाजको जेल,
हारे पनि रुन्न हाम्रँे, जीवन हो खेल । (श्लोक ४१, पृ. ८०)
क्रान्तिकारीहरूमाथि जति दमन हुन्छ, त्यति प्रतिरोध हुन्छ भन्ने विचार व्यक्त गर्दै समाज परिवर्तनका लागि निडर र साहसी चरित्रको आवश्यकता देख्छन् । समस्या बिना समाधान हुन्न भन्ने कविको धारणा गरेको छ । यहाँ समस्या र सङ्कटका लागि जेललाई प्रतीक बनाएका छन्, जसलाई क्रान्तिकारीहरू जटिल देख्दैनन् । सङ्कटमा रमाउन जानेका हुन्छन् । कैयौँ हार हुन सक्छन् । त्यसको प्रवाह नगरी निरन्तर सङ्घर्षमा खेली रहने क्रान्तिकारीहरूको आदत हुन्छ । उनीहरू सानातिना हारबाट निराश हुँदैनन् भन्ने आशय कविले प्रकट गरेका छन् ।
मानवको चित्कारमा, मानवकै गर्दन
जन्मी मर्ने मनुष्यको, अदुरदर्शी दर्शन । (श्लोक १२२, पृ. ८९)
कविका यी पङ्क्तिले यो बताउँछन्– मान्छेबाट गरिने अन्याय मानिसका लागि घात बनेको छ । मान्छेबाटै मानिस शोषित भएको परिणामस्वरूप मान्छेमा पीडा र क्रन्दन एवं छुटपटी चली रहेको छ । अदुरदर्शी मानिसको कुनै हुन्न तर पनि दर्शनका रूपमा प्रस्तुत भई यहाँ भयभित अवस्था सिर्जना गरेको छ । यसको परिणामस्वरूप मानिस सङ्घर्ष गर्न बाध्य छ । सङ्घर्ष बिना अदुरदर्शी दर्शनका पीडाबाट मानिस मुक्त हुन सक्दैन । तसर्थ यहाँ कविले मान्छेको समस्या सिर्जना गर्न मानिसको अन्त्य मानिसबाट हुन्छ भन्ने विचार प्रकट गरेका छन्–
नग्न मर्ति प्रलयको कालो छाया नाँच्यो
लक्ष्मी तिम्रो प्रकोपले, मानवता मास्यो । (श्लोक १२३, पृ. ८९)
यस्तै कवि भन्छन्– लक्ष्मी भन्नाको अर्थ आर्थिक समृद्धिको प्रतीकका रूपमा लिएका छन्, जसलाई जन विश्वासले लक्ष्मी भनेर पुकार्ने गर्छ । यसको प्रतीकात्मक रूप धनमा आरोपित गरी लक्ष्मीका माध्यमबाट आर्थिकतर्फ लक्षित गर्दै आर्थिक अवस्था नै मानव सङ्घर्षको मूल जरो हो, जसले मान्छेका बीचमा विभेद उत्पन्न गरी हुने र नहुने अवस्था सिर्जना गर्‍यो, उसैको कालो छायाँले शान्ति हुनु पर्ने संसारमा विद्रोह र आतङ्क मच्चाई रहेको छ । तसर्थ कविका विचारमा आर्थिक कारण नै सङ्घर्षको मूल आधार हो भन्ने रहेको छ ।
निस्कर्षमा भन्नु पर्दा यहाँ जे जति पङ्क्तिहरू उल्लेख गरिए, यी सबैले यो प्रष्ट पार्छन्– “सिमानाको दीप” साम्यवादी दुनियाँको आसामा मानव समाजले गर्ने सङ्घर्ष र चेतनाको चोटिलो प्रहारबाट प्राप्त हुन्छ । यसका साथै जबसम्म समाजमा सङ्घर्ष हुन्न, तबसम्म विकास र शान्ति ल्याउन सम्भव छैन । यसका लागि जन विद्रोहको आवश्यकता छ भन्ने भाव दिन्छ । आफ्नो जिवनीलाई केन्द्रविन्दु बनाएर राष्ट्रिय समस्यामा यो काव्य केन्द्रित छ । यसमा दुई वर्गका बीचको तितो मिठो अनुभवको चर्चा गरिएको छ । सुरुदेखि अन्तिमसम्मका परिस्थितिहरू विद्रोही चेतनामा केन्द्रित छन् र कवि यसप्रति आशावादी छन् । उनी भन्छन् ः
नरहला समाजमा, दरिद्रको मासु
नरहला महलमा, मानवको आँसु । (श्लोक १४६, पृ. ८७)
यी पङ्क्तिले दरिद्रका आँसु पनि रहने छैनन् । महलमा मावनको मासु पनि रहने छैन । यहाँ आँसुभन्दा मानवको मासु महलामा थुपार्नेहरूका विषयमा बढी आवाज उठाएको छ । यस्ता काला महलहरू सभ्यतामा रहनन् भन्ने आशय प्रकट गरिएको छ । दुई वर्गीय विचारको समेत चर्चा गरिएको छ । तसर्थ यस खण्डाव्यमा कवि वर्गसङ्घर्षमा विश्वास गर्दछन् भन्ने पुष्टि गर्न सकिन्छ । कवि यति आशावादी छन् कि क्रान्तिको परिणामबाट निस्किने रूपलाई यसरी बताउँछन्–
बर्सिएला नेपालमा विज्ञानको सुधा
मेटिएला मानवको, हृदयको क्षुदा (श्लोक १९१, पृ. ९०) । यस प्रकारका पङ्क्तिले कविलाई सान्त्वना दिनका साथै उनी आशावादी कवि हुन् भन्ने अनुभूति गराउँछन् ।

८. व्यङ्ग्य विधान

यस खण्डकाव्यमा द्वन्द्वात्मक जीवनका परिवेश विभिन्न माध्यमबाट प्रकट गरिएको छ । ती जटिल बिम्बका रूपमा प्रकट हुन्छन् भने कतै सरल र वैचारिक रूपमा प््रकट हुन्छन् । यहाँ कविले मान्छे र कुमान्छेका बीच तुलनात्मक विश्लेषण गर्दै सामन्तवाद वा पूँजीवादी व्यवस्थालाई मान्छे खाने व्यवस्थाका रूपमा चित्रण गरेका छन् । कविले तीप्रति व्यङ्ग्य गर्दै भन्छन्–
भोको मर्ने कलाकारको फोक्सो झिकी देऊ
तेलमाथि कराहीमा, फुराएर खाऊ । (श्लोक १४३ पृ. ८७)
कविले माथिका श्लोकका माध्यमबाट अन्याय र अराजकताले शासन गरेको मुलुकमा कला, नैतिकता दर्शन, कवि, सुसंस्कार लाकार एवं मानवताले स्थान पाउँदैन । तिनलाई पूँजीवादी व्यवस्थाले आहार बनाउँछ भन्ने धारणा प्रकट गर्दै कवि, कलाकारको उचित स्थान र सम्मान नभएको तिनीहरूलाई मानसिक वा शारीरिक यातना दिई सताउने गरेको सङ्केत कविले गरेका छन् । साथै कविले यस व्यङ्ग्यमा आफ्नो स्थिति समेत दर्शाएका छन् ।
उता हेर निशा रुने, तिमिरमय काल
यता हेर अभिनय, यामिनीको जाल । (श्लोक १७१ पृ. ८९)
मानवता मुर्छा पर्छ, मानवका जाति
सम्झी तिम्रो दुनियाँको चिरिएको छाती । (श्लोक १७५, पृ. ८९)
पग्लिदैन पगालेर, मानवको छाती
मक्मकाई ढल्छ, आफै जहरिलो जाति । (श्लोक १६७, पृ. ८९)
माथि उल्लेख गरिएका पङ्क्तिबाट पनि यो सङ्केत गरेको पाइन्छ । कवि गोकुल जोशी जन स्तरको भाषामा सुधारको चेत आरोपित गर्दै सामन्त र पूँजीवादको मुटु छेड्ने गरी तिखो सियो मुटुको माझमा पसाउन औधी सिपालु छन्, जुन व्यङ्ग्य पूँजीवाद र सामन्तवादी व्यवस्थामा अनैतिकता र विकृतिले समाजलाई थिलोथिलो पारेको छ भन्ने सङ्केत गर्दै यसका लागि क्रान्तिकारी रूपान्तरणको अनिवार्य आवश्यकताबोध गराउँदै पूँजीवादी र सामन्तवादमा मानवबीच दृष्टिकोण र आचरण हुन्न, जो अत्याचार र अनैतिकताको आडमा टिकेको हुन्छ भन्ने कविको विचार रहेको छ । यसबाट यो स्पष्ट हुन्छ कि कवि गोकुल जोशीका कवितामा व्यङ्ग्य चेतना सशक्त रूपमा भेटिन्छ, जसबाट यो प्रमाणित गर्छ कि कवि जोशीले कवितामा व्यङ्ग्य सिर्जनालाई सरल र चोटिलो रूपमा प्रकट गरेका छन् । यो पनि उनका कवितामा पाइने मूल प्रवृत्ति हो भन्ने ठहर गर्न सकिन्छ । उनले चोटिला रहस्यमय गम्भीर भावना प्रकट गर्ने शब्द प्रयोग गर्दछन् । जस्तै, “यता हेर अभिनय, यामिनीको जाल” । यामिनीको अर्थ बृहत् नेपाली शब्दकोश ११०९ शब्द चारमा मृत्युसम्बन्धी बुझाउँछ । बहु अर्थमा प्रयोग हुन्छ । त्यो शब्दलाई व्यङ्ग्यको रूपमा प्रयोग गरेका छन् । यसबाट यो स्पष्ट हुन्छ कि “सिमानाको दीप” व्यङ्ग्यका लागि पनि सशक्त काव्य हो । यसमा तिखो व्यङ्ग्य छ र कवि आक्रोशित छन् ।

९. परम्परागत दृष्टि

“सिमानाको दीप” खण्डकाव्य भइकन पनि बहु आयामिक रचना हो । यसले हिमालल तराईदेखि लिएर तिब्बतसम्मको संस्कृतिलाई समेटेको पाइन्छ ।
नेपालीको जहुँ, गहुँ तिब्बतीको थापो
भोटे कुकुर लुली झुली चौरो गाईको झुप्पा (श्लोक ३३, पृ. ८०) । यी पङ्क्तिले हिमाल प्रदेशको अवस्था चित्रण गर्दै त्यहाँको वस्तुस्थिति, खानपान आदिका विषयमा चर्चा गरेको पाइन्छ । तिब्बती र नेपालीको परिकारका बीचमा अन्तर बताएर उनीहरू थोप्पा खान्छन् र हामीहरू जहुँजहँु खाने गर्छौं । थोप्पा विकसित प्रकारको परिकार हो भने जहुँजहुँ गरिबी अवस्थाको खाद्यान्नको रूपमा मान्ने परम्परा थियो ।
यहाँ शनिले सताएर, यही शतिनले झार्‍यो ।
वही शनिले उठायो त्यही शनीले खार्‍यो (श्लोक १९७, पृ. ९१) । यहाँ शनि भन्ने शब्द पिराहा भन्ने अर्थमा लिइन्छ, जुन हाम्रँे समाजमा संस्कृतिका रूपमा मान्दै ग्रह कटाउने प्रथाका रूपमा रहेको छ तर यहाँ जसरी त्यो शनिले दुःख दिन्छ, सामन्तवादी व्यवस्थाले पनि त्यसरी नै सताउँछ । त्यो परम्पराकै रूपमा विकास भएको छ भन्ने कविको विचार छ । यसका साथै लाहुरे संस्कृतिको विकास गर्ने सामन्तवादी प्रथाका झलक यहाँ पाइन्छ । यसका साथै सामन्त वा पूँजीवादी व्यवस्थाले बनाएको नीति–नियम, धर्म, कर्म आदिको आडमा भ्रमजाल फिजाउन विज्ञान विरोधी तत्व हाम्रो समाजमा छन् भन्ने विचार समेत यस काव्यमा भेट्न सकिन्छ ः
डाँडामाथि लस्कर नुन जाने टोली
झोटे नुन कता गयो तिम्रो आज भोलि ? (श्लोक ३२, पृ. ८०) जस्ता श्लोकहरूमा स्थानीय महत्व स्थानीय झलक संस्कृति संस्कारका परम्परा र हिमाली क्षेत्रको वर्णन गर्नका साथै आर्थिक अवस्थाको समेत चर्चा गरिएको छ । नेपालीहरू भोटतर्फ नुन लिन जान्थे, जसले तिब्बत र नेपालका बीचको मौलिक सम्बन्धलाई प्रष्ट पारेको छ भने आर्थिक अवस्थाका विषयमा समेत उल्लेख गरेको पाइन्छ ।

१०. उद्देश्य

कवि गोकुल प्रसाद जोशीको “सिमानाको दीप” खण्डकाव्य आफ्नो जिवनीमा आधारित खण्डकाव्य हो । यस काव्यमा कविले आफ्ना माध्यमबाट सिङ्गो मुलुको गरिबीका विषयमा चर्चा गरेका छन् । यस काव्यको मूल उद्देश्य गरिबी अवस्थाको चर्चा गर्नु रहनुका साथै युगौँदेखि सामन्ती संस्कार जालबाट मुक्त हुन नसकेको हाम्रो समाजका विषयमा चर्चा गर्दै त्यसलाई मुक्तिको बाटोतर्फ डोहोर्‍याउनु यसको उद्देश्य रहेको छ । सामाजिक विसङ्गति, विकृति औल्याएर त्यसको अन्त्य खोज्नु यसको अभिप्राय हो । कवि जोशीले “सिमानाको दीप” मार्फत् जबसम्म राजनीति अवस्थामा सुधार आउँदैन, तबसम्म समाजमा राम्रो कुराले स्थान पाउँदैन भन्ने विचार प्रकट गरेका छन् । शासकहरूका जड मस्तिष्कमा सुधारको चेतना हुँदैन । तिनीहरू अचेत अवस्थामा रहे पनि शासन गरी रहेका छन् भन्ने पुष्टि गर्न यसको उद्देश्य रहेको छ । श्रमिक वर्गले श्रम गर्दछन् तर तिनीहरू भोको रहेको चर्चा गर्नु पनि यसको उद्देश्य हो । सङ्घर्ष नभए सभ्य समाजको रूप फेरिन सक्दैन । समाजको रूप फेर्ने हतियार नै गर्न सङ्घर्ष हो भन्ने दष्टिकोण प्रकट गर्नु यसको उद्देश्य हो । मानव अधिकार हनन् गर्नेहरू नै यसको संरक्षण देखिने ब्वाँसो जस्तो प्रवृत्तिको सुक्ष्म रूपमा अध्ययन गर्नु त्यस विषयमा मिहिनेतकस जनतालाई चेतना दिनु यसको उद्देश्य हो । परस्पर विरोधी विचारका बीचबाट पुरानो समाज अन्त्य भई नयाँ समाजको निर्माण हुन्छ भन्ने आशा जगाउनु पनि यसको उद्देश्य रहेको छ । राष्ट्रिय र राष्ट्रियताको संरक्षण गर्नु पर्दछ भन्ने विचार प्रकट गर्नु यसको उद्देश्य रहेको छ । यसका साथै निर्माण गर्न सकेमा यो प्रकृतिको सुन्दर देश जहाँ हरेक वस्तु उत्पादन हुन्छ । हरेकका लागि उपयुक्त वातावरण छ । मिल्कीका पहाडलाई नदीनाला, झरना, बनजङ्गल, तराईसम्मको फाँट उपयोग गर्न सके हामी कङ्गाल हुँदैनौँ । यसका लागि सामन्ती व्यवस्थाको अन्त्य हुनु पर्छ भन्ने उद्देश्य यस काव्यको रहेको छ ।

११. शीर्षक सार्थकता

सिमानाको अर्थ बृहत् नेपाली शब्दकोशको पृ. १३५३ मा १ कुनै ठाउँ देश, जिल्ला वा देशका चारैतिरको विस्तारको अन्तिम रेखासाथ “सिमाना दीप” को अर्थ बृहत् नेपाली शब्दकोशको पृ. ६५२ मा (२) मसाल चिराक, (३) कुनै कुल वा देशको सर्वश्रेष्ठ पुरुष भन्ने बताएको छ । कविले उल्लेख गरे अनुसार यसको शीर्षक तत्पुरुष समासको पुष्टि, विभक्ति प्रयोग गरी सिमाना र दीप शब्दलाई जोडेर “सिमानाको दीप” बनाएका छन् ।
कविको जीवनीमा उनको जन्म तनहुँ जिल्लाको राइपुर गाउँमा भएको हो । सङ्क्षिप्त जीवनी झलक गोकुल प्रसाद जोशीका सङ्कलित रचनाहरु ख मा सुकुम शर्माले उल्लेख गरेको पाइन्छ । यसलाई हेर्दा र कविले आफ्नो जीवनी चर्चा गरे अनुसार भौगोलिक दृष्टिले रेखाङ्कन गरिएको दुई जिल्लाको सीमा भन्ने अर्थमा लिन सकिन्छ तर कविको कृति “सिमानाको दीप” श्लोक ९१ पृ. ४ मा,
चीतामाथि बल्ने एक्लै “सिमानाको दीप”
फन्को मार्दै परिधिमा गर्दै धिपधिप भन्ने श्लोकले अलङकृत अर्थ प्रदान गर्छ । सीमित परिधिभित्र रहेको संस्कार चितामाथि जल्छ भन्ने आशय प्रकट गर्र्दै उनको सिङ्गो काव्यको विचार पुँजीवाद र साम्यवादका बीचको द्वन्द्व प्रस्तुत गर्नु रहेको हुँदा उनले सीमित परिधिभित्र रहेको पुँजीवादको अन्तिम सीमा, जो चितामाथि दन्की रहेको छ भन्ने आशय प्रकट गरेकाले यसको शीर्षक भौगोलिक आधारलाई विस्तृत र व्यापक अर्थमा लिन सकिँदैन । अलङ्कृत अर्थमा यसको शीर्षक राखिएको पाइन्छ । सिमाना भन्नाले वैचारिक धरातलबाट पुष्टि गर्दा उपयुक्त हुन्छ ।

१२. लय विधान

गोकुल प्रसाद जोशीको “सिमानाको दीप” लोकलयमा आधारित खण्डकाव्य हो । कविले आफ्नो जन्म भएको अवस्थालाई लयबद्ध रूपमा प्रकट गरेका छन् । यस खण्डकाव्यलाई पूर्ण रूपले जीवनी भन्न सकिन्न । किनभने कविताको लयमा जीवन र जगतका विषय एक विस्तृत रूपमा उठाइएको छ । यस खण्डकाव्यमा प्रयोग भएको भाषा सजिलो र सरल छ । सुरुदेखि अन्तिमसम्म नै लयमा आधारित छ ।
सोह्र अक्ष्ँरको झ्याउरे लयमा यसको रचना गरिएको छ । शब्दमा दृष्टिले एक पङ्क्तिमा ५÷६ का बीचमा शब्दहरु रहेका हुन् । जस्तै, ‘जन्म भयो झुपडीमा हिमालको कोखमा’—यस पङ्क्तिमा पाँच शब्द छन् भने ‘स्वच्छ निर्मल छहराको, जल पिएँ भोकमा’—यस पङ्क्तिमा ६ शब्द परेका छन् । यसरी पाँच र छ शब्दको अन्तरमा लय समायोजन गरिएको छ । अक्षरका दृष्टिले दुई हरफको एक श्लोक मानिने र एक हरफमा १६ अक्षर हुने लोक छन्दलाई असारे झ्याउरे भनिन्छ । यसको संरचना ३+२+४+३रु१६ हुन्छ । यसका लेखक देवि नेपाल, प्रकाशक ः भुडी पुराण प्रकाशन, पहिलो संस्करण, २०६२, छन्द पराग पृ. १०० ।
लय समायोजनका लागि कविले कतिपय ठाउँमा शब्द भङ्ग गरेका छन् । जस्तै श्लोक ७ र पृ. ७८ को दोस्रो पङ्क्तिमा ‘गन्छु’ भन्दा लय नमिल्ने भएकाले गिन्द बनाएका हुन् । त्यस्तै, श्लोक ११६ को पहिलो पङ्क्ति पृ. ८५ शान्ति पूजा गर्ने, सरस्वती माला जप्ने, त्यस्तै, श्लोक १२० को दोस्रो पङ्क्ति पृ. ८६ को गोलाकारमै घुम्छन्, रुँदै लक्ष्य कहाँ पाउँछन्, त्यस्तै श्लोक १५८ को दोस्रो पङ्क्ति पृ. ८८ को सुगन्धका झोक्का सररर उडी आउने, त्यस्तै गरी श्लोक १८४, पृ. ९० को दोस्रो पङ्क्ति पुग्नु पर्ने लक्ष्य एउटै, विकराल यो पथ, त्यस्तै श्लोक ६६ को पहिलो पङ्क्ति पृ. ८२ को भावुकताको पवित्रपन, स्वाभाविक काम, त्यस्तै गरी श्लोक १०१ को पहिलो पङ्क्ति पृ. ८४ को एउटै गतिविधि एउटै नियम बारम्बार ।
कविले कतिपय ठाउँमा लय व्यवस्थित गर्न नसकेको अक्षर १६ हुनु पर्नेमा १८ सम्म हुन पुगेको, खुट्टा काट्नु पर्ने ठाउँमा खुट्टा नकाटिएको, जस्तै सरर हुनु पर्ने श्लोक १५८ पृ. ८८ अक्षर १६ हुनु पर्नेमा श्लोक १८४ पृ. ९० जस्ता व्याकरण, वर्णगत त्रुटिले मिल्न सक्ने लयलाई पनि कविले मिलाउन कसेका छैनन् । जस्तै, पुग्नु पर्ने लक्ष्य एउटै विकराल पथ भएको भए लय संरचनामा त्रुटि हुने थिएन । यस्तै, कतिपय ठाउँमा कविले लय मिलाउनका लागि अनुकरण शब्दको पुनरावृत्ति गरेका छन् । जस्तै,
झयाम्म झिम्म झयाम्म झिम्म यामिनीको छाया
सम्झी उतै लाग्छ मन, छैन मेरो माया । (श्लोक १२८, पृ. ८६) जस्ता पङ्क्तिहरुले शब्द पुनरावृत्ति भइकन लय संरचनालाई मजबुत बनाएका छन् भने यसका दुर्बल पक्षभन्दा सबल पक्ष बढी हुन् । जस्तै, कवित्व शक्तिका दृष्टिले पनि अति सशक्त र प्रभावकारी देखिने पङ्क्तिहरु यस खण्डकाव्यमा व्यापक रूपमा रहेका छन् । जस्तै,
आशा मीठो भावनाको नटुङ्गिने गति
फेरिने हुन् कल्पनाका, पर्दा अझ कति ? (श्लोक १२५, पृ. ८७)
बादलको पर्दाभित्र इन्द्र धनुष राख्छ
स्वागतका आशा दीप, सजाएर डाक्छु । (श्लोक १३३, पृ. ८६)
सास्तीसँग कुस्ती खेली राख्छु विपनामा
गगनचुम्बी मञ्जिलमा, पुग्छ स्वपनामा । (श्लोेक १३६, पृ. ८७)
नौलो जग बसाली देऊ निर्माणका तारा
मैलो विचार पखाली देऊ निर्मलका धारा । (श्लोक १५४ पृ. ८८) जस्ता उत्कृष्ट पङ्क्तिहरु यस खण्डकाव्यभित्र रहेका छन्, जसले कविलाई उच्च कल्पना गर्न सक्ने उच्च आशावादी, प्रचुर मात्रामा कवित्व शक्ति भएका, थोरैमा विस्तृत रूप दिन सक्ने व्याख्यिक कविताका धनी मान्न सकिन्छ । “सिमानाको दीप” खण्डकाव्य अन्य कविता प्रकाशित भई सकेपछि कविको निधन हुनुभन्दा तीन वर्ष अगाडि लेखिएको हो ।
धेरै कविता रचना गरे पश्चात् खण्डकाव्यको रूपमा आएको वैचारिक सशक्तता, मौलिकता प्रौढता जस्ता विशेषता यस खण्डकाव्यमा पाइन्छन् । नेपाली लोकलयमा आधारित गीतिशैलीलाई पछ्याउँदै जनस्तरको भाषामा लयबद्ध रूपमा आएको सशक्त कृति हो । दुई हरफे कवितालाई लोक परम्पराले श्लोक मान्दै आएको हुँदा सोही परम्परालाई नै कविले पछ्याएका हुन् । गीति चेतना भएको सशक्त वैचारिक काव्य “सिमानाको दीप” लाई मान्नु पर्छ ।

१३. संरचना ः

कविको जीवनमा आधारित रहेकाले प्रथम दृष्टिविन्दु प्रयोग गरिएको छ । दुई हरफको एक श्लोक बनाइएको छ । केही श्लोक वाहेक सबैजसो श्लोकहरु १६ अक्षरका रहेका छन् । अक्षर संरचनाका दृष्टिले ३+२+४+४+३रु१६ रहेका छन् । शब्दका दृष्टिले पाँच र छ रहेका छन् । श्लोकका दृष्टिले २०१ श्लोक रहेका छन् । पङ्क्ति गुच्छाका दृष्टिले ४०६ पङ्क्ति रहेका छन् । एक श्लोक ४ हरफे रहेको अन्य श्लोकहरु दुई हरफका रहेका छन् । कुल पङ्क्ति सङ्ख्था ४०६ रहेका छन् । छन्दका दृष्टिले झ्याउरे लोकछन्द प्रयोग गरिएको छ ।

१४. निश्कर्ष

कवि गोकुल प्रसाद जोशीको २०१५ सालमा लेखिएको “सिमानाको दीप” प्रकाशनका मितिले २०१५ र दोस्रो संस्करण २०३८ मा भएको पाइन्छ । यस कृतिभित्र विषयवस्तुका दृष्टिले कविको आफ्नो जीवनीलाई चेतनामूलक कृतिका रूपमा प्रस्तुत गरेको पाइन्छ । यस काव्यमा कविले प्रकृति वर्णन, लाहुरे संस्कृतिको विकास, संस्कृति, संस्कारले नेपाली समाजलाई दिएको पीडा, अन्याय गर्नेहरुको चरित्र, मान्छे बेचेर खाने कहालीलाग्दो अवस्था, सामन्ती शासनबाट उत्पीडित जनताको कारुणिक अवस्था ज्यादै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । कविले श्रमिकहरु युगौँदेखि घोटी दिएका छन् । तिनीहरुको जीवन स्तर कहिल्यै उठ्न नसकेको पुस्तौँ पुस्तादेखि तिनीहरुको जीवनमा कहिल्यै परिवर्तनको घाम नलागेको, सधै पिल्सिएर बस्नु पर्ने अवस्थाको समेत चित्रण गरेका छन् । तिनै मानिसहरु, जो श्रम गर्छन् र जसको जीवन पछाडि छ, तिनै मानिस हुन्, जो आलिसान महलमा बस्छन्, जसले श्रम गर्दैनन्, तिनीहरु रसिला, चिल्ला, मोटा छन् । यसबाट कवि यो बताएका छन् कि युगौँदेखि सामन्तवादले जनताको रगत पसिना चुसेर किर्ना बनेका सामन्तको चित्रण समेत यस काव्यमा पाइन्छ ।
“सिमानाको दीप” ले वर्गीय चेतनालाई प्रष्ट धारमा रेखाङ्कित गरेको छ । कविका विचारमा जबसम्म वर्गीय विचारले स्थान पाउँदैन वा वर्गीय वैचारिक धार सशक्त रूपमा अगाडि बढ्दैन, तबसम्म मुक्ति असम्भव देख्दै यस कृतिलाई वर्गीय धारको आशाको केन्द्र बनाएका छन् । कविले कतिपय ठाउँमा कारुणिक अवस्था प्रस्तुत गर्नाको अर्थ त्यो नेपाली समाजको यथार्थ चित्रण हो । उनका विचारमा विद्रोह बिना मुक्ति सम्भव छैन । आमूल परिवर्तनको दिशातर्फ कवि, लेखक, कलाकार तथा सही नेतृत्व अग्रसर हुनै पर्छ भन्ने कविको वैचारिक मत रहेको छ । यसै कृतिमा ‘सामन्तवाद वा पुँजीवाद गरिबको फोक्सोलाई तेलमाथि कराहीमा फुराएर खाने’ हिम्मत चित्रण गर्छन् । जसको नैतिकता छैन, कविले समानता खोजेका छन्, यसका लागि मानिसको चेतनाको स्तर उठ्नु पर्छ भन्ने कविको वैचारिक दृष्टिकोण रहेको छ ।
कविले देश बेचेर खाने भिखारी सत्ताधारीहरुको चित्रण राम्ररी गरेका छन् । साथै गरिब मानिसहरुको लिलाम बिक्री भई रहेको अवस्थाप्रति सङ्केत गराउँदै विदेशमा आफूले दुःख पाएको चित्रण समेत यस काव्यमा पाइन्छ । कविका खँदिला पङ्क्तिहरु जुन प्रकृति निकटबाट मानवीय अवस्थाको चित्रण गर्न वा जादुमय कला प्रस्तुत गर्न सक्षम छन्, सुन्दर रूपबाट भावना प्रकट गरिएको छ । जन स्तरका भाषामा छोटो प्रस्तुतिमा खँदिला वाक्यको प्रयोग गरी व्याख्येय कविताको स्वरूप प्रदान गरी विस्तृत र व्यापक रूपमा राष्ट्रिय चेतना, संस्कृति, सामन्त, सर्वहारा, प्रकृति वर्णन, व्यङ्ग्य, विद्रोह, कारुणिक अवस्था तथा जिवनवादी दृष्टिकोण प्रस्तुत गर्नुका लागि कवि प्रखर मानिन्छन् ।
“सिमानाको दीप” धेरै लामो कृति नभए पनि व्यापक विषयवस्तु र वैचारिक खदिलोपनले गर्दा ओजिलो बन्न पुगेको छ । यसमा कतिपय ठाउँमा वाहेक कलाको दुर्बलता भेट्न सकिन्न । जन स्तरको झ्याउरे लयमा यसको रचना गरिएकाले पनि प्रस्तुति सरल छ । “सिमानाको दीप” खण्ड काव्यलाई यो भन्न सकिन्छ कि २०१५ सालमा लेखिएको कृति २०६५ सालसम्म आई पुग्दाको अवस्थामा कैयौँ घटना घटे, तर यसले दिएको वैचारिक धरातल अनुरूपको परिस्थिति अझै आई नसकेकाले यसले देखाएका आशाका किरणहरु कहिल्यै निभ्ने छैनन् । यसका प्रेरणामा धेरै कृतिहरु घुमिरहेका छन् । तसर्थ यस काव्यलाई अध्यावधि नयाँ मान्न सकिन्छ ।
यो कृति सामाजिक, प्रगतिवादी, यथार्थवादी र स्वच्छन्दवादी कृति हो भन्न सकिन्छ । यसले प्रगतिवादी खण्डकाव्यमा महत्वपूर्ण स्थान प्राप्त गर्नुका साथै वैचारिक विश्लेषणमा आधारित रहेकाले प्रगतिवादी साहित्यलाई ओजिलो बनाएको छ । प्रगतिवादी चेतना सर्वहारा वर्गीय धार माक्र्सको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण कलात्मक रूपमा प्रस्तुत गरी सर्वहारा वर्गीय धारलाई आफ्नै जीवनको निकटबाट चर्चा गर्दै पुँजीवादको नाङ्गो रूप सामन्तवादको नक्कली सुधारका प्वाँख नझोरसम्म समाजमा सुधार आउन सक्दैन । यसका लागि क्रान्तिको सशक्त धार कविले आवश्यक देखेका छन् । उनका विचारमा क्रान्ति बिना नक्कली राष्ट्रवादको मुकुण्डो पहिरिएकाहरुको अन्त्य हुन सक्दैन । जसले युगौँ युगसम्म नक्कली जालका आडमा ठगि राखेका छन्, यसका लागि सर्वहारा नेतृत्व कुशल सङ्गठनको आवश्यकता कविले देखेका छन् । यही नै “सिमानाको दीप” को वास्तविक मर्म हो ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.