पुस्तक समीक्षा : ‘लू’ उपन्यासको सङ्क्षिप्त समीक्षा

~दिनेश प्रधान~

भनिन्छ, मान्छेको सबैभन्दा असल मित्र पुस्तक हो। तर पुस्तक साथीमात्र होइन, कहिलेकाहीं पथ प्रदर्शक भएर आउँछ त कहिले हतियार भएर आउँछ। त्यही भएर होला कहिलेकाहीं स–साना पुस्तकलाई पनि प्रतिबन्ध लाग्ने गरेको हुन्छ।

स्वैर परिकल्पनाका तिलस्मी कथाका किताबहरु तथा चलचित्रहरुको मात्र प्रचारप्रसार भइरहेको हालको समयमा यथार्थपरक तथा राष्ट्रप्रेमले ओतप्रोत भएको कोमलताले चिमोट्ने गरी लेखिएको एउटा सुन्दर आञ्चलिक उपन्यास हो – ‘लू’।

‘उलार’, ‘अतिरिक्त’, ‘खोरभित्र जोकर’, ‘निदाएँ जगदम्बा’ आदि कथा उपन्यासहरुसहित नेपाली कथानक चलचित्रहरुका कथामा समेत कलम चलाएका नयनराज पाण्डेको ‘लू’ पश्चिम तराईमा चल्ने तातो हावा ‘लू’ लाई प्रतीक बनाइएको यो उपन्यासले त्यत्तिकै मानसिक ताप दिन्छ जति तातो हावा ‘लू’ ले।

‘नेपाली भएर नेपाली हुन नसकेकाहरुको कथा’ भनिएको ‘लू’ भित्र गरिबी र विवसताका अनेकन कथाहरु छन्। जसले नेपालीहरु नराम्रोसँग एकचोटि चिमोट्छ।

प्रस्तुत ‘लू’ उपन्यासको कथा दक्षिणी सीमावर्ती क्षेत्रका हरेक गाउँको गरिबी, विषमता र नियतिको वरिपरि डुलेको छ। नेपाली अदृश्य शरणार्थीहरुको कथा भनेको छ यसले। भारतीय सुरक्षाबलहरुको ज्यादतिको पोल खोलेको छ यसले। भाजपाका नेता तथा कार्यकर्ता, नेपाली दलाल नेता तथा शासकहरुको ज्यादतीको पनि उदाङ्गो पारेको छ। त्यस्तै सुुस्तरी सुस्तरी नेपाली राष्ट्रियताको पनि बलियो वकालत गरेको छ।

नेपालगञ्ज नजिकै ‘पत्थरपुवा’ गाउँको कथा हो ‘लू’। इलैया प्रमुख पात्र रहे पनि त्यो सँगै अरु धेरै पात्रहरु जोडिएर आउँछन् – रेडियोलाल, बजरंगी, तुसरल, अजवलाल, जागेशर, राम आधार, बृजलाल, टुटे पण्डित, करिम आदि – प्रमुख पात्रहरू हुन्।

तर हरेक पात्रका आ–आफ्नै कहानी छ, आ–आफ्नै व्यथा छ, दुःख छ। जसले पत्थरपुवाको मात्र होइन समग्र भारतीय सीमा क्षेत्रका गाउँ बस्तीको तथा गरिब नेपालीहरुको प्रतिनिधित्व गरेको छ।

भारतका विभिन्न सहरहरुमा गएर पसिना बगाएर कमाएर ल्याएको पैसा लुट्ने, नेपाली चेलीबेटीहरुको इज्जत लुट्ने, कहिले सिमापारका भारतीय डाँकाहरु आएर नेपालीहरु घर, खेतबारी जलाउने , कहिले भारतीय सुरक्षाकर्मीहरु नै डाँका बनेर नेपाली भू–भागमा ताण्डव मच्चाउने, कहिले सिमानाका पर्खालहरु, दसगजाका पिलरहरु रातारात नेपाली भू–भाग सारिने कथा ‘लू’ उपन्यासको कथामात्रै होइन भारतीय विस्तारवादको तराई क्षेत्रमा हुने दैनिक दिनचर्या जस्तै हो।

‘कथा साधारणजस्तै छ, तर यथार्थ हो। एउटा ‘पत्थरपुवा’ गाउँमा थरीथरीका जातका, धर्मका र वर्णका मान्छेहरु छन्। प्रमुख पात्र इलैयाको जीवनीको वर्णन छ र त्यो सँगसँगै गाउँका विभिन्न व्यक्तिहरुको दिनचर्याको पनि वर्णन छ।

गाउँकी एउटी केटी साइकलवालासँग पोइलो जाँदा अरु आमाबुबाहरु कोही साइकलवाला आउँदा तर्सिन्छन्। ‘रेडियोलाल’ को अचम्मकी श्रीमती मुसलमानसँग पोइला जाँदा हिन्दु र मुसलमानको धार्मिक सद्भाव खल्बलाउन खोज्दै पत्थरपुवामा बस्ने मुसलमानहरुलाई मात्र होइन सम्पूर्ण पत्थरपुवाबासीहरुलाई नै भाजपाका कार्यकर्ता तथा भारतीय सैनिकहरुद्वारा दुःख दिइन्छ। अन्तमा प्रमुख पात्र इलैयाकै सहयोगमा करिमले नुसरतलाई साइकलमै राखेर नेपालगञ्ज भागेर जान्छन्।’ विभिन्न पात्रहरुको आधारमा अझै माध्यम नै जम्मा १० अध्यायमा उपन्यास सकिन्छ।

तर उपन्यास सुरु हुँदा नेपालको एउटा पत्थरपुवा गाविस उपन्यास सकिंदासम्म पत्थरपुवा ग्राम, उत्तरप्रदेश  भारतमै सक्छ।

छोटा–छोरा तर सरल वाक्यहरु, अर्थपूर्ण, यथार्थपरक तथा आञ्चलिक संवादले ‘लू’लाई मौलिक नेपाली उपन्यास बनाएको छ। केही बिम्ब तथा संवादहरुले मन छुने खालका छन्। जस्तै ‘भर्खर धारा लगाएको बडेमानको

– ‘धारिलो हँसिया जस्तो प्रश्नवाचक अनुहार’

– ‘फ्युज गएको गुलुपजस्तो अनुहार’

– ‘मुटु त छाती छोड्दै फुत्किएर इन्दियातिर नै लाग्छ।’

– ‘तपरीमा पिसाब फेरेजस्तै ऊ गीत गाउँथ्यो।’

– ‘संसारका सबै माईहरू राम्रा नै हुन्छन्।’

– ‘कि तैंले हामीलाई खान दे कि हामीलाई (सरकसमा) छोरी बेच्न दे।’

– ‘बजरंगीले तीन रङ्गका कपडाहरु गाँसेर बनाएको झण्डा देखाउँदै भन्यो –दर्जीकोमा जाँदैछु। यसको कट्टु सिलाउँछु।’

– ‘कि देखाएकी छोराछोरीलाई आकास।’

(ताराहरुलाई कनिका भन्थानेर टिप्न कर गरेपछि)

उपन्यासमा धेरै पात्र भएर पाठकहरु अलि अल्मलिन सक्छन्। कहींकहीं अश्लील लाग्न सक्छन् संवादहरू। सायद फिल्मी स्त्रि्कप राइटर भएर होला, उपन्यासको अन्त्य अलि फिलिमी लाग्छ। साज सजा तथा छपाइ राम्रो छ, तर किताबको मूल्य रु. ३००।– अलि बढी छ।

तर ‘लू’ पठनीय छ। सरल छ। जसले सीमान्तकृत तथा विपन्न तराईवासी नेपालीहरुको कथालाई उजागर गरेको छ। गाउँवासी सबैलाई राजनैतिक चेतना वृद्धि गराएर सामूहिक रुपमा खलपात्रहरुसँग द्वन्द्व गराएको अझै राम्रो हुन्थ्यो होला।

(स्रोत : मजदुर दैनिक)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.