~नरेश शाक्य~
पग्लेर पनि तिम्रो मुटुबाट
मात्र ग्लेसियर बहन्छ,
जमेर तिम्रो मुटु हिमशिला बन्छ,
दुवै स्थितिमा तिम्रो उपस्थिति—
हाम्रा निम्ति
कति निरङ्कुश र क्रूर
विषाक्त र वेदनायुक्त छ ?
तिम्रो कोखमा जीवनरस सिञ्चन हुने
उर्वरता होला
के हामी कहिल्यै त्यस्तो आशा गर्नसक्छौँ?
तिम्रा ओठमा मानवता सिर्जना गर्ने
प्यास तृप्त पार्ने
गर्माहट होला
के हामी कहिल्यै त्यस्तो
किञ्चित् अभिलाषा गर्नसक्छौँ ?
प्रगतिको मार्गप्रशस्त हुन सक्ने
सम्भावनाका सारा सुन्दर र
रहरलाग्दा क्षितिजलाई ओझेल पारेर
ठिही र स्याँठमा अनुवाद गरेर
तिम्रो निर्जीव र संवेदनाहीन सुन्दरतामा
हामी किन गर्व गरौँ ?
किन प्रशंसा गरौँ ??
पग्लेर पनि तिम्रो मुटुबाट
मात्र ग्लेसियर बहन्छ ।