कथा : भोक

~प्रकाशमणि दहाल~

निकै लामो र निकै गरमागरम मिटिङ सकिएपछि उनी बेडरुममा पसे । बेडरुम पनि दुई भागमा बाँडिएको थियो । वास्तविक बेडरुमभन्दा पहिले सानो केबिन थियो जहाँ एउटा सानो दराज, दुईटा रकिङ सोफा, सानो टिटेबल र भित्तापट्टि सेमी खाट थिए । उनी एउटा रकिङ सोफामा धसिए । खुट्टा टिटेबलमा तेर्सिए र हातले त्यतै कतै एट्याच्ड बटन थिच्यो । बाहिर कतै नजिकै सानो घन्टी बज्यो । बेडरुमको विशेष प्ल्यास्टिक ढोका निशब्द एकातिर सुल्कियो र एउटा पुरुष स्वर बोल्यो, “म यहीँ छु, काका हजुर” र बोलिसँगै एउटा तीस आसपासको सैनिकजस्तै लाग्ने असैनिक भेषकोयुवक भित्र पस्यो ।

“मिटिङ त निकै गरमागरम भयो । अब अलिकति रिल्याक्स होला, के टक््रयाउँ, काका ?”

“के खुवाउँछस्? त्यो हिजो शिवेले पठाएको माल के हो, तैँले हेरिस् ?”

“हेरेँकाका, त्यो उही जोनिवाकर ब्ल्याक लेबल र‘छ,बोटल्ड नाइन्टीन फिफ्टी।त्यही गरुँ कि?”

“हुन्छ । सील ठीक छ ? तँ चाखिहेर् त पहिले ।”

उनले टिटेबलको फाइल उठाएर पल्टाए । मनका आँखाले झलक्क चाहा¥यो कथित एकताको पहलमा लागेका नेताहरुका अनुहार । पहिलो पृष्ठमै थियो ‘पाटीँ एकता ः प्रस्तावना र प्रावधान’ । प्रस्तावनामा न.ंवाइज विवेचनसहित मोटा छापामा उपशीर्षक थिए । जस्तो ः १. एकताको आवश्यकता,२. एकताका शर्त आदि र यी प्रत्येकको पनि पुन उपशीर्षक र विवेचन थियो । जस्तो ः आवश्यकताअन्तर्गत क, ख, ग गरेर क्रमश राष्ट्रिय आवश्यकता, दलीय आवश्यकता, सैद्धान्तिक आवश्यकता आदि ।

पाँच पृष्ठपछि प्रावधान शीर्षकअन्तर्गत उसैगरी नं.वाइज मोटा उपशीर्षक र विवेचन थियो । जस्तो १. संगठनात्मक व्यवस्थापन, पदीय व्यवस्थापन आदि र प्रत्येकको क, ख, ग, पुन उपशीर्षक विभाजन र प्रत्येकको विवेचन थियो । जस्तो ः संगठनअन्तर्गत केन्द्रीय सभा, प्रदेश सभा, स्थानीय सभा आदि ।

मनले भन्यो, ‘काम गर्ने सिस्टमचैँ हुन्छ है यिनीहरुसँग, कामै गर्नु नगर्नुचैँ अर्को कुरा’ । खिस्स हाँस्यो मुख खिसीको भावमा ।

उसले ब्ल्याक लेबलको सील तोड्यो, पेगबाट गिलासमा हाल्यो, उति नै पानी हाल्यो । कोठामा हरक्क बास्ना पैmलियो । सँगै उसको अनुहार चमक्क चम्कियो । “उही हो, काका, बास्ना थाहा पाइसियो ? कस्तो लट्ठ्याउने खालको छ !” उनले हेरे । उसले आधि खायो । तर स्वाट्ट ननिली मुखमा चपाएजस्तो ग¥यो । “ह्म्म्म्म!” आँखा चम्कियो ‘काइदा !’ भनेजस्तो । त्यसपछि बाँकी आधा पेग पनि दुईपल्ट पारेर स्वाटस्वाट निल्यो । उनी फेरि फाइलमा झुके । युवकले अर्को गिलासमा दुई पेग ह्विस्की खन्यायो । दराजैमा भएको सानो फ्रिजरबाट आइसक्यूब निकालेर हाल्यो र चाँदीको किस्तीमा राखेर टिटेबलमा ल्यायो । सँगै प्लेटमा कालो अंगूर, केही मसला, केही नमकीन पनि राख्यो र उभियो ।

उनले एक सीप लिए । उनले पनि सीप चपाएजस्तै मुखमा डुलाएर बिस्तारै निले । उनको पनि मुहार उसरी नै चम्कियो ।

“जोनिवाकर नयाँ होइन, तर यो बेग्लैजस्तै लाग्दोरहेछ, हैन ?”

“हो हजुर, पुरानो भएर होला । करीब सत्तरी वर्षअगिको माल। रक्सी र मह जति पुरानो त्यति राम्रो हुन्छ अरे नि ।”

त्यतिबेलै बाहिर फोनको घन्टी बज्यो ।युवक बाहिर निस्कियो ।

“को बोल्नुभयो ?” स्वरमा पूरा ठस्सा थियो तर रुखोजस्तो नलाग्ने ।

“मशिवराज, पहाडीजी । के छ खबर, पहाडीजी ? म दिउँसो आ’थेँ, २ बजेतिर । तलैबाट फर्केँ । थाहा पाउनुभो होला नि ?”

“पाएँ ।केही विशेष थियो कि शिवजी ?”

“विशेषै भएर त । एकचोटि अध्यक्षज्यूलाई पाउँ न ।”

“अध्यक्षज्यू त आइस्या छैन ।”

“हो र ?मिटिङ त सक्किसक्यो नि, आधा घन्टै भैसक्यो, होइन ?”

“अँ, औपचारकि मिटिङ त सकियो । तर अनौपचारिक नेतानेताका कुरा हुँदा होलान् नि, शिवजी । मलाई भन्न मिल्ने भए भनिराख्नोस् क्यारे, वहाँको सवारीभएसि भनिदिन्छु । नत्रदुई, तीन घन्टापछि फेरि कल गर्नाेस् न, है ।”

“तपाईंलाई भन्न मिल्नेमात्र होइन तपाईंलाई नभनेर अरु कसलाई भन्ने र ? हामी त एउटै परिवारै भयौँ नि, पहाडीजी ।” त्यसपछि स्वर अलिक मधुरो भयो खासखुसे किसिमको “त्यो वीरेको परिवारमा विचल्नी भैसक्यो । सुनकाण्डमा पक्डाउ परेको नि, तपाईंलाई उसको नाम थाहा छैन होला । उता म्यानपावरपट्टि पनि अख्तियारले अफिसै सील गरेर ठप्प पारेको छ । त्यसमाथि रामप्रसादलाई पनि समातिदिएछ बोर्डरमा । भैरहवा एसपी अफिसमा राखेको छ चारवटी केटी र दुईजना साथीसहित । गोपालजी हुनुहुन्न त्यहाँ ? वहाँ हजुरले गोपालजीलाई अराइदिए गोपालजीको एक फोनले नै छुटिहाल्ने थिए ।”

“तपाईंहरु यस्तै के के नचाहिने गर्नुहुन्छ अनि एक कल फोन भन्नुहुन्छ, कति सजिलो !”

“नचाहिने भन्नुहुन्छ । यही त काम हो नि र काममा कहिलेकाहीँ यताउता त परिहाल्छ ।यसैबाट आम्दानी हुन्छ र चलिरहेको छ ….एकपल्ट अध्यक्ष हजुरसँग भेटै गर्नुपर्ने भा’छ ।”

“बेलुका ८ बजे गर्नोस् । कि राम्रो त पहिले गोपालजीलाई नै कल गर्नुस् । वहाँलाई त आपैmँ पनि सबै थाहा हुन्छ, है त ।”

“निकै लामो पो कुरा ग¥यो त, कान्छा, के भन्छ ?”

“भन्छ, म्यानपावरमा अख्तियारले सील मारेको छ अरे । बोर्डरमा रामप्रसाद पक्डाउ परेछ चारवटी केटी र दुईजना साथीसहित । अनि सुनकाण्डमा पक्डाउ परेको मान्छेको विचल्नी भैसक्यो अरे ।” एकछिन वहाँको गम्भीरता विचारेर उसैले थप्यो,

“सबैलाइ छुटाउनुपर्दा कम्तीमा करोड त लागिहाल्ला नि, काका ?”

“करोडले पनि के भ्याउला,सबैको भाउ बढेको छ यतिखेर,” सोचेको जस्तै बोले उनी ।

“तर पैसाको परवाह पनि छैन यिनीहरुलाई त्यसो त ।”

“हो, यतिखेर राजाका भँडार यिनै हुन्, हाहाहाहा ।” काका भतिजाको अर्थपूर्ण हाँसो गयो एक लहर । गिलास रित्याएर उनले भने “खै एक राउन्ड राख् त ।अँ, काकीहरु कतिबेला आउँछन् ? चाँडै आउनु भन् । म एकछिन आराम गर्छु, डिस्टब नगर्नु है ?”उनी भित्र पसे ।

“हवस् काका हजुर,” उसले गिलास भरेर भित्र खाटका छेउको टेबलमा पु¥याइदियो । “खै त्यो स्लिपिङ निकाल् , उनले भने ।”

कपडा फेराइसकेर बाहिर निस्किन थालेको पहाडी केही कुरा सम्झेर झट्ट अडियो र उनका प्रश्नवाचक आँखासँग आँखा जुधाएर मुसुक्क हाँस्तै खल्तीबाट एउटा सानो कागज निकाल्यो, “काका हजुर, यो हेरिसिन्छ कि ? फेसबुकबाट हाम्रो सेकुरिटी जमादारसापले टिपेको अरे ।”

उनले कागज समाते र खाटमा अडसिएर हेरे । त्यो एउटा मुक्तक थियो ः

आम जनता चल्ने कानून वा चलनमा चल्ने होइन रे वहाँ

नोटबाहेक दाउरा वा विद्युत्को आगोमा जल्ने होइन रे वहाँ

विशेष मान्छेका विशेषै हुन्छन् क्यारे चाहना र बहाना पनि

ज्ञानइन्द्र र नरइन्द्र छोडी कसैको दवाबमा गल्ने होइन रे वहाँ

हेरेर पड्किन्छन् होला भनेको त कुनै चालचुल नभएपछि पहाडी काजु र आलुचिप्स थप्ने बहानामा भित्र पस्यो । उनी त हातमा कागत लिएर मक्ख परिरहेका थिए । भनिहाले, “कस्तो लाग्यो कान्छा तँलाई ?” उसले उनको मुसुमुसुमा सार मिलाउँदै भन्यो, “निकै कडा व्यंग्य छ, काका, होइन ?” उनले कागज टेबलमा राख्तै भने, “गर्न खोजेको छ । तर बेकुफले ज्ञानइन्द्रजस्तो अक्षमसँग जोडेर आफ्नै अक्षमता सावित गरेको छ, हाहाहा । अँ, यो नरइन्द्रचैँ कसलाई भनेको यसले, मोदीलाई ?”

“अरु को हुन्छ त काका ?”

फेरि एक लहर हाँसिसकेपछि उनले थपे, “काकीलाई फोन गरिस् ? गरिहाल् ।”पहाडी बाहिर निस्कियो । फेरि एक नजर मुक्तकमा गयो र त्यसले उनलाई जोनिवाकरको सीपसँगसँगै आफ्नो बाल्यकालमा पु¥यायो ।

‘हाम्रातिरकापहाड अलिक विकटै हुन् र जमिनपनि उतिमट्याइला र मलिला होइनन् तर हाम्रो भने पूर्खैदेखि रोज्जा थियो सबै । ब्याँसीमापपन्ध्र पाथी बीउ जाने दुई खला र माथि डाँडामा पनि थियो दशपाथे खेत । घरघडेरीबाहेकै पच्चीस हल बारी । दुईटा त काइदाका टार । बाँसघाँस सबैथोक टन्नै थियो । खानलाउनको कुनै दुख थिएन तर नगद पैसा भने दशैँमा मावल जाँदा बल्ल देख्न पाइन्थ्यो । त्यही पनि मामाहरु हामीभन्दा गरीबै हुनुहुन्थ्यो । दक्षिणा एक रुपियाँभन्दा बढी कहिल्यै नपाइने । त्यो पनि मलाई स्कुल पढ्ने ठूलो नाति भनेर । अरु केटाकेटीले त चाराना पाउँथे, वश । हाम्रा बा गाउँका गन्नेमान्नेमै पर्नुहुन्थ्यो तर बा सम्पत्तिका पछि त्यति मरिहत्ते गर्नुहुन्नथ्यो । आमा भने राहू नै हो ।गहना र राम्रा लुगाको लागि वहाँको बासँग वादवविाद परिरहन्थ्यो ।

एकपल्ट म छ कि सातकक्षातिर थिएँ होला । एकदिन बास बसेका पाहुना दुईजनामध्ये एउटाले सिरानमिुनी पर्स बिर्सेर गएछ ।त्यतिबेला पर्सलाई बेग भन्थे । धेरै मान्छे बेग बोत्तैmनथे । बाकोचैँ थियो । बाहिर सिकुवामा सुतेका तिनको ओछ्यान उठाउन जाँदा पर्स भेटेँ पुटुक्क हुन्जेल खाँदीखाँदी नोटैनोटले भरिएको । हजारका नोट मैले पहिलोपल्ट देखेको त्यही थियो । मुटु धकधक भयो र हातखुट्टा थररर्र काम्यो । तैपनि एउटा सुट्ट तानेँ र बेरेर इँजारघरभित्र हालेँ । आमाचुलामा हुनुहुन्थ्यो । “आमा, तिनले त बेग छोडेर ग’छन् ।” आमाले यस्तो झपट्टा हानेर बेग थुत्नुभयो, म झसङ्ग भएँ । वहाँको अनुहार धपक्क बल्यो । वहाँले बेग खोलेर हेर्नुभयो । वहाँको अनुहार कस्तो चम्कियो भने झललै भएजस्तै लागेको आज पनि जस्ताको तस्तै सम्झिन्छु । वहाँले मसिना छोडेर हजारका जति सबै नोट निकाल्नुभयो र भन्नुभयो, “यो बेग जहाँ थियो उहीँ राखेर आइज त । ओछ्यान नउठाईकन जस्तातस्तै हुन् दे ।”बेग राखेर आउनासाथ वहाँले भन्नुभयो, “यहाँ सुन्, यो बेग भेटेको, मैले पैसा निकालेको कुरा कहीँ चुहाइछस् भने च्वाट्टै र्गदन छिनाइदिन्छु ।” त्यसो भन्दा वहाँको अनुहार यस्तो कठोर देखियो मैले हेरिरहनै सक्या होइन । “बुझिस्?” भष्म पारुँलाजस्ता आँखाले हेरेर खुकुरी उठाउनुभयो । वहाँ मासु काट्तै हुनुहुन्थ्यो ।मलाई हानिहाल्नुहुन्छ कि जस्तै डर लाग्यो र स्वाट्ट पछि सरेँ । अनि अलिक नरम स्वरमा पल्याकपुलुक हेर्दै भन्नुभयो “त्यहाँ ढोकाबाहिर कोही आइराको छ ? हेर् त, आँगनसम्मै हेर् त ।” मैले हेरेर आएँ र भनेँ, “छैन, कोही आइरा छैन ।”

त्यसपछि आमाले मेरा कुममा हात राखेर, टाउको अलिक झुकाएर खुसुक्क पाराले सानो तर कडा स्वरमा भन्नुभयो, “हेर्, भगवान्ले मान्छेलाई मौका दिन्छन् तर मान्छे त्यो मौका लिन जान्दैनन् । कोही मौका यही हो भन्ने नै चिन्दैनन्, कोही मौका लिने ढङ्ग पु¥याउँदैनन् । कोही आँट गर्न सत्तैmनन् । कोहीचैँ यसो गर्नु हुँदैन र उसो गर्नु हुँदैन भनेर तेरा बालेजस्तै बढी जान्ने भएर मौका गुमाउँछन् ।” वहाँले कुरा पचुन्जेल पर्खिएभैmँ आँखा गाढेर हेर्नुभयो र अझ नजिक मुख ल्याएर झन् विशेष भएको भान पार्दै भन्नुभयो, “तँ मेरो छोरो, मेरो सबभन्दा प्यारो मान्छे नै तैँ होस् र तेरो म हूँ । हामीले सधैँ मिल्नुपर्छ । मैले तँलाई सिकाउनुपर्छ र तैँले सिक्नु र मैले भनेजस्तै गर्नुपर्छ । अब कुरा बुझिस् होइन ?” फेरि आँखा गाढेर भित्रैसम्म नियालेभैmँ हेरेर थप्नुभयो, “अब राम्ररी सुन्, कसैले सोधिहाल्यो भने भन्नू ः ‘तैँले यो बेग भेटेकै छैन । तँ उठ्ता आमा चूलामा हुनुहुन्थ्यो । तैँले धारामा गएर मुख धोइस् र भित्र आएर दूध खाइस् र गोपेकातिर खेल्न गइस् । ओछ्यान त्यहाँ त्यस्तै थियो । तैँले मतलबै गरिनस्,’ बुझिस् ?” वहाँले फेरि आँखा गाढेर हेर्नुभयो मैले बुझेनबुझेको जाँच गरेजस्तै । अनि भन्नुभयो, “तैँले के भन्नुपर्छ अरे ?” मैले कुरा बिगार्छु कि भनेर बडो होश गरेर वहाँले सिकाएका कुरा जस्ताको तस्तै भनेँ । वहाँ सन्तुष्ट हुनुभयो र थप्नुभयो, “यो तैँले आपैmँ भनेको हो बुझिस् ?मैले केही सिका हैन । मलाई नि केही था छैन, बुझिस् ?” मैले बुभेmँ भनेपछि वहाँले कपाल सुमसुम्यानुभयो, पीठमा ढ्याढ्याप पार्नुभयो र थप्नुभयो “अब जा गोपेकातिर खेल्न । एकछिनमा गोपे, कोथे, गजुरे तीनचारजना भएर आउनू, यहाँ हाम्रा आँगनमा, सिकुवामा पनि खेल्नू । लु जा ।”

म तल्ला घर गोपेकाँ गएँ । गोपेसँग एकछिन लुक्नेभेट्ने खेलेर हामी गजुरेकाँ गयौँ । कोथे पनि त्यहीँ रहेछ । त्यसपछि हामी हाम्रा घरमा आएर त्यही खाटमुनि, बाख्राका खोरपछाडि यताउता लुक्ने भेट्ने खेल्यौँ । अनि आमाले मलाई बोलाउनुभयो । भित्र जाँदा आमाले चारवटा रोटा दिएर एकेकोटा खाओ भन्नुभयो । मैले उनीहरुलाई पनि रोटा दिएँ र त्यसपछि पनि एकछिन खेलेपछि आमाले “अब स्कुल जाने बेला भयो । तिमेरु पनि घर जाओ, तँ केशर पनि भात खान आइज” भन्नुभयो । ईंजारभित्रको पैसा भकारी पछाडिका बाकसमुनि लुकाएर म भात खान गएँ ।

बेलुका बाआमाको विशाल झगडा प¥यो । बाबिहान ती मान्छेसँगै निस्किनुभएको रहेछ । बाटो छुट्टिएपछि बा ब्याँसीतिर उनीहरु शहरतिर लागेका रहेछन् । एकछिनपछि पसलमाखाजा खाएर पैसा तिर्ने बेलामा बेग छुटेको थाहा पाएर आएछन् । सिकुवामा उनीहरुको ओछ्यान उठाएकै थिएन अरे । बेग भेटेछन् तर पैसा नाइँ । आमालाई सोधेछन् । आमाले मलाई केही थाहा छैन भनेपछि यो हुनैसत्तैmन, त्यत्रो पैसा कहाँ गायब हुन्छ भनेर निकै गलबद्दी गरेछन् । तर आमाले मलाई फत्तुर लाउन खोजेको भनेर कडकिदिएपछि ठूलाघर पण्डितकहाँ गएर रुँदै बेलिबिस्तार लगाएछन् । गाई, खसी, गहनागुरिया बेचबिखन गरेर जेनतेन पन्ध्रहजार पैसा जुटाएर बन्दकी जग्गा उकास्न खलङ्गा हिँडेका रहेछन् । पण्डितले भनेछन्, “मुखिनीले मलाई थाहा छैन भनिसकेपछि अब केही पार लाग्दैन । तैपनि एकपल्ट मुखियालाई भेटिहेर्नू । मुखिनी चुइँपट्टा भएपनि मुखिया भलाद्मी छन्”भनेपछि तिनीहरु बालाई भेट्न ब्याँसी जाँदैरहेछन् । उता बाले ब्याँसीमै सुनिसक्नुभएको रहेछ । हाम्रा घरमा आमासँग गलबद्दी परेको सुन्ने छिमेकीले ब्याँसी मेला जाँदा कुरा पु¥याइसकेका रहेछन् ।

हामी दाजुभाइले वल्लो कोठाबाट सुनिरह्यौँ । बाले अमालाई धेरै कुरा सम्झाउँदै भन्नुभयो, “त्यो पैसा तैँले नै राखेको हुनुपर्छ । ले । म केटाकेटीले लगेका रहेछन् भनेर पु¥याइदिन्छु । नभए खबर गरिदिन्छु । अर्काको आँसु लाग्छ । पैसा भनेको के हो र हातको मैलो । गाउँभरि मुख देखाइसक्नु छैन ।”

तर आमाले ढिम्किन दिया होइन, “मैले नै लगेको के प्रमाण छ ? गाउँका मान्छे त मुखिनी भनेपछि मेरो नाउँसम्म सुन्न चाहँदैनन् । यति कुरा भेटेपछि उनीहरुलाई कत्रो मौका परेको होला । तिनीहरुले जे जे भन्छन् त्यही सुनेर त्यसैमा टाउको हल्लाइदिनुहुन्छ तपार्इंचैँ हुतिहाराले जस्तै । अनि तिनीहरुले भन्नुनभन्नु नभनी छोड्छन् ? तिनीहरुसँगै त्यति पैसा भएको, तिनीहरुले बेगमा पूरै पैसा छोडेको के प्रमाण छ ? कसैले भन्यो भन्दैमा मानिहाल्ने ? भोलि अर्को कुनै पार्कोटेले आएर मुखियाका आँगनमा मेरो घडी झ¥यो, औँठी झ¥यो वा पैसाको बेगै झ¥यो वा छुटेछ भन्ला, त्यो सबै पत्याउँदै जाने ?”

कहिल्यै कडा नबोल्ने बाले पनि कडकिएर भन्नुभयो, “प्रमाण पनि धेरै खालको हुन्छ,केशरकी आमा । सबै कुराको दसी प्रमाण नै नभए पनि यति कुरा झुटो र यति साँचो हो भन्ने स्थिति प्रमाणबाट थाहा हुन्छ भलै त्यसका भरमा असूलउपर गर्न नमिल्ला । यसमा त्यही भएको छ । तैँले अलिक बढतै लालच गरिस् । तेरो सम्पत्तिको भोक यस्तै हो तर यसको फल राम्रो हुँदैन । संसारमा पैसा नै सबथोक होइन ।”

“हो तपाईंजस्ताका लागि । नत्र पैसाभन्दा ठूलो के छ? पैसा भए नपढेको मान्छे पनि ठूलो हुन्छ । पढेका मान्छेलाई उसले भाडामा लिनसक्छ । पैसा भए सरकारी हाकिम र राजा पनि दाहिना हुन्छन् । पैसा भए बाबुआमाबाहेक सबथोक पाइन्छ । बाबुआमा पनि आफ्नै नपाए पनि माया गर्ने बाबुआमा पाइन्छ । जहाँ जान सकिन्छ । जे गर्न, खान, लाउन सकिन्छ । छन्गेढी सबै मेरी छैनन्गेढी सबै टेढी ।”

मलाई बाको ठूलो माया लाग्यो तर बताउन सकिँन । त्यसदिनदेखि बाको बोलचाल, हाँसखेल सबै हरायो । खाना पनि घट्तै गयो र छ महिना नपुग्दै वहाँ घर छोडेर हिँड्नु भयो । वृन्दावन जानुभएछ । उतै बित्नुभयो । हामीले फेरि वहाँलाई देख्न पाएनौँ ।

अर्को साल बाका काकाको छोरो तल्लाघर दलमर्दन काका बिरामी हुनु भयो । धामी लगाउनु पर्छ नत्र कुलदेउता रिसाएर निको हुँदैन भनेर आमाले अस्पताल लानै दिनुभएन । मैले अस्पताल लैजाउँ भन्दा खुकुरीभन्दा कर्द हान्ने भनेर टिप्पा लगाउनुभयो । टाइफाइड भएको रहेछ अहिले जान्दा ।

काका स्वर्गे भएको छ महिना पुग्दानपुग्दा काकीलाई घरकै नोकर भोटेले समात्यो भन्ने हल्ला चल्यो । नभन्दै दुईचार दिनपछि नै काकीको लास आफ्नै बारीको रुखमा झुन्डिएको भेटियो । काकाको जग्गाजमिन पनि हाम्रै भयो । काकाकी एउटी रोगी लुखुरी छोरी थिई, राधिका । त्यो र भोटे पनि हाम्रैमा बस्न थाले । दुई वर्षपछि मैले एसएलसी पास गरेँ र काठमाडौँमा आइए पढ्न थालेँ । अलिक दिन पछि भाइले चिट्ठीमा राधिकाको मृत्यु भएको र आमा र भोटेको नाजायज सम्बन्ध रहेको बतायो । अलिक दिनपछि भाइ पनि राँके भीरबाट खसेर म¥यो भन्ने समाचार आएपछि मलाई गाउँ जान मनै लाग्न छोडयो ।

समय क्रममा राजनीतिमा लागियो । यतै अलमल भयो । केही वर्ष पछि भोटेले जो भएको नगद र गरगहना कुम्ल्याएर चम्पट कस्यो अरे भन्ने सुनियो । आमा रोगी ज्यान लिएर एक्लै धुम्धुम्ती बस्नुहुन्छ अरे भन्ने समाचार आयो । जाउँलाजाउँला भन्दाभन्दै अन्तिम समाचार पनि आयो । यतै पशुपतिमा बाहुनले तेह्र दिनमा गहुँत खान दिए, भयो …..’

“खोइ, हजुर सुकला भैस्या कि क्या हो ?”

ठूलो खल्याङमल्याङसितआइपुगिस्यो सारा मेमसाब । सारा मेम र हाहाहोहो खल्याङमल्याङ र भीडभाड अविभाज्य कुरा हुन् । वहाँको त झन् भीडभाड र खल्याङमल्याङ पुर्खौली नै हो ।

“खाना खाइस्या छैन ? कान्छा, काकाहजुरलाई किन ज्युनार नगरा ?”

“हजुरको सवारी होस् भनेर । फेरि काकाहजुरबाट मर्जी भाथेन, अन्त ।”

“अँ, कस्तो भयो त सारा, बर्थ डे पार्टीँ ?” उनले उनको मुखतिर हेरे । भव्य थियो उनको दम्किँदो वदन । उमेरले पैँतालीस टेक्न खोजेर के ? लाग्थ्यो भरखर तीसतिर बरालिँदैछन् । चकाचक व्यक्तित्व, लाखौँका वस्त्र, करोडौँका गहना …. संसार हाँक्ने आँखाको जोस …के बयान गरी साध्य ! झ्वाट्ट उसका नजरमा आयो करीब पैँतालीस वर्ष अगि खुकुरी हातमा लिएर उसलाई थर्काइरहेको आफ्नै आमाको उन्मत्त बदन । छोरा विजय विक्रम र छोरी हीरालक्ष्मी पार्टीकै बयान गर्दै थिए । तर ऊ सुनिरहेको थिएन । त्यत्तिकैमा उनी बोलिन्, “भव्य भयो नि, पाटीँको के कुरा । देशको एउटा पाखै बोकेका उच्च व्यक्तिका छोराको बर्थडे । तर हजुरको सवारी नभएकोमा ठूलो गुनासो भयो । राजदूतहरुले पनि मसँग सोध्न आएका थिए ।”

“ल बधाइ तिमीहरुलाई पनि ।”

त्यतिबेलै फोनको घन्टी बज्यो । कान्छाले होल्डमै हात राखेर भन्यो हजुर, शिवराज, हजुरलाई खोजिराछ ।”

“गोपालजीलाई दे । खोइ गोपालजी ?”

“तल मेजर साबसँग कुरा गर्दैहुनुहन्थ्यो । आइहाल्नुहोला,” उनले भनिन् ।

“मलाई फुर्सद छैन । गोपालजीलाई नै गर्नु भन्दे ।”

“के हो ? को शिव, हँ कान्छा ?”

“शिवराज शर्मा, काकीहजुर, उही क्या त्यो म्यानपावरवाला ।”

“ए, चिनेँ चिनेँ । त्यसको त— ।” बीचैमा रोकिएर उनी छोराछोरीतर्पm फर्किइन्, “विजय, हीरा, जाओ आआफ्नो कोठामा । चेन्ज गरेर आफ्नो काममालाग । भोलि स्कुल छ ।” उनीहरु उठेर निस्किएपछि उनको कुरा जारी रह्यो, “अँ, के अरे रु अँ, त्योशिवेको सुन ओसार्नेमा पनि एउटा मान्छे परेको छ होइन ? र अख्तियारले म्यानपावरमा सील गरेको छ र त्यसैको मान्छे केटीहरुको बेचबि— ।”

“हो, हो, काकीहजुर ।”

“कति करोड दिन्छ अरे ?”उनको स्वर अलिक मधुरो भयो तर तेवर उस्तै थियो ।

“तिमी कति करोड भन्छ्यौ, यहाँ हेर त मान्छे के के भनिराछन् ?”उनले उही मुक्तक थमाइदिए ।

मुक्तक हेरिसक्नासाथ सन्जु मेमसाब त महाकाली भैहाल्नुभयो, “हो त,विशेष मान्छेका विशेष चाहना । को चाहँदैन नोटको बिछ्यौनामा सुत्न, नोटको आगोमा जल्न, नोटको लुगा लगाउन ? यो लेख्नेलाई दिउँ त भोलि एक करोड उसले के मात्र गर्दैन ? पैसा, सम्पत्ति, धन, यसकै लागि त हो दुनियाँमा यी सबै खेतीपाती, उद्योगधन्दादेखि घातप्रतघिात र दाउपेच । नत्र जोगी भएर हिँडे भैहाल्यो नि !” उनको नजर घुम्यो काकादेखि भतिजासम्म र भनाइ जारी रह्यो, “र गर्ने पनि मौकैमा त होनि । यही गरे हिजोकाले यही गर्छन् भोलिकाले । त्यो औषधिमा पनि मन्त्रीले बीस भन्थ्यो, मैले तुरन्त गर्ने भए पच्चीससम्ममा हुन्छ भन्दिएँ ।”

उनले हेरे सारा मैयाको उत्तप्त मुहार आपैmँ सारा अधिपति भएजस्तै । ठ्याक्कै आफ्नै आमाको अवतार, मात्रै कालखण्ड, पात्र, परिवेश र प्रसंग भिन्न थियो ।

मनले भन्यो ‘सायद यसैलाई भन्छन् इतिहास दोहोरिनु ।’

तर अगि बढ्न सकेन उनको मनोलाप जब अचानक शोला उठ्यो छातीमा र ‘अइया !!!’ भन्दैउनी छाती समातेर भ्वाक्क लडे।

“डाक्टर, डाक्टर, कान्छा, गोपाल!” साराको स्वर कोठामा थर्किरहेको थियो र त्यसैसँग मिसिएर दौडधूप, आदेश उपदेश र अनेक स्वर गन्जागोल भैरहेको थियो ।

prakashmanidahal@gmail.com

(स्रोत : सुलेख साहित्यिक मासिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.