अलिकता मनका उकालीहरू उक्लेर
अलिकता मनका ओरालीहरू ओर्लेर
तिमीलाई मायाले स्पर्श गर्न
यसपटक म यहाँसम्म आइपुगेको छु,
कतै बाँधिइसकेको मनलाई पनि फुक्का छोडेर ।
सल्लाका निर्दोषा हाँगाहरू भाँचेर उकाली उक्लँदा
अलिकता मन पनि भाँच्चियो
मनै त रहेछ –
शायद त्यसैले नचाही नचाही
पुन: यतै अल्मलिने सपना साँच्चियो
तिमी सम्झ/नसम्झ जे गर
तर तानसेन एक फाँको मुस्कानले नै सही
तिमी मलाई माया गर ।
सपनाको शहरमा बैँस हराएको मान्छे म
तिम्रै सल्लाका सुसाइहरूमा स्वीकार
मेरा मनका सुसाइहरू
तिमी सम्झ/नसम्झ जे गर
तर तानसेन !
एक फाँको मुस्कानले नै सही तिमी
मलाई माया गर ।