~तिर्थराज अधिकारी~
छताछुल्ल छरिएका किरणलाई
शब्दको गोरेटो हिँडाएर
म पानाको कुनै खोरमा
बन्द गर्न सक्दिनँ ।
गतिशील झर्नामा
कति रंग र तरंगहरू छन् ?
म तिनको परिभाषा गर्न सक्दिनँ ।
शिखर देखेको छु
उचाइ कति छ ?
शिर मैले छोएको छैन ।
नदी चट्टानसित
ठोक्किएर पनि बगिरहेको छ
म त रातमा निदाउँछु
दूर सुदूर इलाका
ऊ यात्रा कहाँ पुगेको छ ?
म भन्न सक्दिनँ ।
न्यानो स्पर्शमात्र छ
चिसो रातमा कुँदिएको
तातो सूर्य के हो ?
म बुझ्न सक्दिनँ !
उसको जरा
आकाशको कुन गहिराइसम्म
फैलिएको छ ?
उसको किरण
धर्तीको कुन सीमासम्म
लम्किएको छ ?
यन्त्र मेरो मन
कुनै दूरवीन हुन सकेको छैन !
फूल ! मैले गुराँस पनि देखेको छु
गुलाफ पनि सुँघेको छु
सयपत्रीमा पत्रपत्र कसरी थपिँदै गए ?
माटोजस्तै मुटुमा कति शक्ति छ
म भन्न सक्दिनँ !
आगो शिशिरमा पनि तातै छ
तारा औँसीमा पनि जागै छन्
शिखरहरू हिउँ बोकेर पनि ठाडै छन्
के हो अवरोध ?
म बुझ्न सक्दिनँ !
युग अतीतदेखि
शिशिर पर्खाल नाघेर
शाखा- प्रशाखामा वसन्त आएकै छ
बारभित्रका मखमलीले पनि
रंग फेरेकै छन्
एकाबिहानै नडाकेर पनि
कोइली आएकै छ
खै ! रातले रोक्न सकेको स्वरलाई ?
प्रकृति पखेटा फर्फराएकै छ !
जीवन दुई किनाराका बाटामा
जित्नेले खै ! कहाँ के हा~यो ?
हार्नेले खै ! कहाँ के जित्यो ?
दुस्साहस मेघ गर्जन किन ?
सृष्टि- स्थितिमा
आकाश व्याप्तिले
धर्तीलाई आत्मसात गरिरहेको छ
स्पर्शले माटो सुगन्धमा
वृक्षहरू लहराएका छन्
हृदयको गहिराइबाट उठेर
गौरवशाली समय
इतिहास हुँदै वर्तमान बाटामा हिँडेको छ !
के हो उपस्थिति र अनुपस्थिति ?
छन् भोलि भोलिका भावनाहरू अझै
छन् अव्यक्त सम्भावनाहरू अझै
मेरा शब्दमा ती आजै मूर्त हुन सक्दैनन्
केस्रा- केस्रामा लुकेका
अमर बिउहरू कति छन् ?
ती ताराजस्तै छन्
म गन्न सक्दिनँ !
प्रारम्भ अन्त्यबाट भएको छ
संकल्पका रेखा सहस्र कोरिँदै छन्
मस्तिष्कका बल अनन्त जन्मिँदै छन्
विश्वासका बिरूवा असंख्य उम्रिँदै छन्
अनुमोदन / अनुशीलन फैलिँदै छ
कलाकार सपनामा रंग पोतिरहेका छन्
परिच्छेद परिच्छेदमा विभाजित
ऊर्जाका असंख्य शृंखला
सिङ्गो भूगोलको मोल कति हो ?
म भन्न सक्दिनँ !
तर मलाई थाहा छ
यो क्षितिजमा जन्मने अनन्त मस्तिष्कहरू
अनुमोदित अनुशीलनहरू
सपना पोतिएका रंगहरू
र, ऊर्जाका असंख्य श्रृंखलाहरू
ऊ त्यही हो
र, उसैबाट अनन्त उठेका छन्
सीमाहीन सुदूर यात्रा उन्मुक्त फैलिएका छन् !!
(स्रोत : “टाँक” कवितासंग्रह(२०७१) बाट साभार)