~गोविन्ददेव आचार्य~
भूकम्पको एउटा धक्का न हो दसैँ, यो आउँछ जान्छ
कमजोर मन अनि टहराहरू बेसरी हल्लाउँछ जान्छ ।।
पाँच बजेपछि कर्मचारी छोराको घूस बुहारी नै होली
ऊ बेलुका कोठैमा भात खान्छ रात बिताउँछ जान्छ ।।
अरू सबैको पालोपछि कान्छो नेतो देखिन्छ आँगनमा
ऊ पनि विदेशी बाँसको टर्रो बाँसुरी बजाउँछ जान्छ ।।
जो हिजो मुसो लखेट्न तरबार ल्याइदिने गफ चुट्थ्यो
अचेल उही हात्ती तर्साउन नाङ्लो ठटाउँछ जान्छ ।।
जुकालाई सर्प र सर्पलाई अजिङ्गर बनाउँछु भन्ने नै
आज मान्छेहहरूको जमातमा जिब्रो चपाउँछ जान्छ ।।
अक्षता लुटिने यो मन्दिरमा बिचरा “गोविन्द” के टिक्थे
पूजाअघि नै विवश उनको मूर्ति स्वयम् डराउँछ जान्छ ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)